अस्वस्थ खानपानले पनि आन्द्रामा क्यान्सर
जीवनशैली एवं खानपानमात्र होइन वंशाणुगत कारणले पनि ठूलो आन्द्राको क्यान्सर भएका बिरामीहरू पाइएका छन्। निष्क्रिय जीवन बिताउने र मोटोपना भएका व्यक्तिहरूलाई ठूलो आन्द्राको क्यान्सरको जोखिममा पर्छन्। त्यसैगरी व्यायाम कसरत नगर्ने, अत्यधिक मात्रामा धूमपान र मद्यपान सेवन गर्ने धुवाँमा सेकेको खानेकरा जस्तै सेकुवा, सुकुटी सेवन गर्ने व्यक्तिहरूलाई पनि ठूलो आन्द्राको क्यान्सर हुने जोखिम हुन्छ। त्यस्तै रातो मासु बढी खाने र सागसब्जी कम खाने व्यक्तिलाई पनि ठूलो आन्द्राको क्यान्सर हुने जोखिम उच्च हुन्छ। प्रशोधित खानेकुराहरू पनि ठूलो आन्द्राको क्यान्सर बनाउन सहायक सिद्ध हुन्छ।
नेपालका पाँच प्रमुख क्यान्सरभित्रमा ठूलो आन्द्राको क्यान्सर पनि पर्छ। संसारमा क्यान्सर रोगले मृत्यु हुनेमा यो रोग फोक्सोको क्यान्सर पछि दोस्रो नम्बरमा पर्छ। सबैभन्दा धेरै पहिचान हुने क्यान्सरमा ठूलो आन्द्राको क्यान्सर तेस्रो नम्बरमा पर्दछ। ठूलो आन्द्राको क्यान्सरको सुरुवात आन्द्राको भित्रपट्टिको माथिल्लो तहमा मासुको डल्लो (पोलिप) पलाउनाले हुने गर्दछ। सबै पोलिप सुरुको अवस्थामा हानिकारक हुँदैनन्। तर यी (पोलिप) हरूलाई यदि समयमै पहिचान गर्नुपर्छ। पोलिप निकाल्न ढिलाइ भएको अवस्थामा ठूलो आन्द्राको क्यान्सर हुने प्रबल सम्भावना हुन्छ।
बढ्दो उमेर इन्फलामेटी बावेल डिजिजले पनि ठूलो आन्द्राको क्यान्सरको जोखिम हुने सम्भावना बढेर जान्छ। यस्तो अवस्थामा सचेत हुन जरुरी छ। उमेर पुगिसकेपछि स्क्रिनिङ गर्नु जरुरी हुन्छ। स्क्रिनिङ जाँचपछि समयमै रोगको पहिचान गर्न सहयोग पुग्छ। जसले गर्दा रोग समयमा निर्मूल पार्न सकिन्छ। अधिकांश व्यक्तिमा सुरुवाती अवस्थामा कुनै लक्षण नदेखिन सक्छ। त्यसैले ४५ वर्षपछि परीक्षण गर्नु महत्वपूर्ण मानिन्छ। ठूलो आन्द्राको क्यान्सर भएको अवस्थामा कतिपयको पेट दुख्ने र पेट फुल्ने लक्षणहरू देखा पर्छन्।
त्यस्तै गरी दिसामा रगत देखिन सक्छ। कहिलेकाहीँ पातलो दिसा आउँछ। कब्जियत हुन्छ। दिसाको राम्रो निकास हुँदैन। बिनाकारण वजन घट्दै जान्छ। अनावश्यक रूपमा थकान महसुस हुन्छ। ठूलो आन्द्राको क्यान्सरका बिरामीको दिसामा रगतको जाँच गर्नुपर्छ। दूरबिनको सहयोगबाट ठूलो आन्द्राको जाँच गर्नुपर्ने हुन्छ। कोलोनोस्कोपी, सीटी कोलोनोग्राफीलगायतका परीक्षण गर्नुपर्छ। कोलोगार्डद्वारा दिसामा सम्भावित क्यान्सर कोषिकाको डीएनए हेर्न सकिन्छ। यो जाँचको संवेदनशीलता करिब ९२ प्रतिशत रहेको छ। ४५ वर्ष उमेर नाघेका व्यक्तिहरू बढी सचेत हुनुपर्छ।
अमेरिकन क्यान्सर सोसाइटीको गाइडलाइनअनुसार ४५ वर्षको उमेर पुगेका सबैले प्रत्येक १० वर्षमा एकचोटी कोलोनोस्कोपी जाँच गर्नु आवश्यक छ। यसका साथै दिसामा क्यान्सर कोषिकाको डीएनए जाँच तीन वर्षमा एक पटक गर्न सकिन्छ। ठूलो आन्द्राको उच्च जोखिममा परेका व्यक्तिहरूले कोलोनोस्कोपी गर्नु उपयुक्त हुन्छ। त्यस्तै ४५ वर्ष पार गरेका व्यक्तिहरूले सम्बन्धित विज्ञ चिकित्सकसँग रायसल्लाह लिएर परीक्षण गर्न सक्छन्।
कसरी जोगिने
जीवनशैलीलाई ख्याल गर्ने हो भने ठूलो आन्द्रालगायत अन्य अंगको क्यान्सरबाट पनि जोगिन सकिन्छ। त्यसैले जीवनशैलीलाई अनुशासित र सक्रिय बनाउनु अपरिहार्य छ। जीवनशैलीलाई ध्यान दिन सकियो भने पनि क्यान्सरको जोखिमबाट जोगिन सकिन्छ।
रातो मासु, बोसोयुक्त खानेकुरा सेवन गर्नु हुँदैन। त्यस्तै प्रशोधित खाना न्यून गर्नुपर्छ। फलफूल र सागसब्जी र रेसायुक्त खानेकुरा दैनिक सेवन गर्नुपर्छ। दैनिक शारीरिक व्यायाम गर्नुपर्छ। योगा, व्यायाम नियमित गर्नुपर्छ। उचाइअनुसार शारीरिक वजन पनि सन्तुलित बनाउनुपर्छ। मद्यपान एवं धूमपानबाट टाढा बस्नुपर्छ।
ठूलो आन्द्राको क्यान्सर भएको अवस्थामा तीनवटा मुख्य विधि छन्। शल्यक्रिया, किमोथेरापी, रेडियोथेरापी नै उपचारका मुख्य प्रविधि हुन्। ठूलो आन्द्राको क्यान्सरको चरण (स्टेज) अनुसार विज्ञ चिकित्सकले उपयुक्त उपचारको विधि अपनाउँछन्। अन्त्यमा ठूलो आन्द्राको क्यान्सरलाई समयमा पहिचान गरी उपचार गर्दा शतप्रतिशत निको हुन सक्छ। त्यसैले सम्बन्धित विज्ञ चिकित्सकसँग परामर्श गरी पाको उमेरका व्यक्तिले नियमित परीक्षण गर्नुपर्छ। स्वस्थ जीवनशैली र नियमित परीक्षणबाट ठूलो आन्द्राको क्यान्सरबाट जोगिन सकिन्छ। ठूलो आन्द्राको क्यान्सर मुक्त समाजको निर्माण गर्नमा सहयोग पुग्छ।
प्रतिक्रिया दिनुहोस !