दुई सातामै तयार भयो चिया क्षेत्रको अध्ययन प्रतिवेदन: भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न सुझाव
काठमाडौं : नेपालको चिया क्षेत्रमा हालै देखिएका समस्या समाधान र समग्र निर्यात प्रवर्धनका लागि गठित विशेष अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवसमक्ष बुझाएको छ। मन्त्रालयका सहसचिव बुद्धबहादुर गुरुङको संयोजकत्वमा गठित ९ सदस्यीय कार्यदलले तीव्र गतिमा काम गर्दै मात्र दुई साताको छोटो अवधिमा यो महत्त्वपूर्ण प्रतिवेदन तयार पारेर मन्त्री यादवलाई हस्तान्तरण गरेको हो।
नेपाली चियाको मुख्य बजार मानिएको भारतले हालै लागू गरेको नयाँ व्यवस्था र यसले नेपाली चिया क्षेत्रमा पारेको गम्भीर असरलाई सम्बोधन गर्ने गरी कार्यदलले तत्कालीन, मध्यकालीन र दीर्घकालीन उपायहरू सिफारिस गरेको छ। प्रतिवेदन बुझ्दै मन्त्री यादवले चिया क्षेत्रको सुधार र निर्यातमा देखिएका नीतिगत तथा व्यावहारिक अड्चन हटाउन सरकार प्रतिबद्ध रहेको र कार्यदलका सुझावहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने बताइन्।
भारतको नयाँ नीतिले निर्यातमा गम्भीर संकट
तर, भारत सरकारको टी बोर्डले १ मे २०२६ देखि अनिवार्य गुणस्तर परीक्षण सम्बन्धी नयाँ निर्देशिका लागू गरेपछि नेपाली चिया निर्यातमा गम्भीर अवरोध सिर्जना भएको थियो। प्रयोगशाला परीक्षणमा हुने ढिलाइ, चर्को परीक्षण शुल्क र सीमामा रोकावटका कारण चिया उद्योगी, निर्यातकर्ता, साना किसान र मजदुरहरूको जीविकोपार्जनमा प्रत्यक्ष नकारात्मक असर परेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !