राष्ट्र विखण्डनको वकालत !

 राष्ट्र विखण्डनको वकालत !

दोस्रो विश्वयुद्धपछि खास गरेर भियतनाम युद्धमा अमेरिकी पराजयपछि साम्राज्यवादले अन्य मुलुकमा आफ्नो प्रभुत्व कायम गर्न लालझन्डाविरुद्ध लालझन्डाको प्रयोग, एनजीओ/आईएनजीओहरूको स्थापना र परिचालन तथा भूमण्डलीकरणजस्ता उपाय अघि सार्‍यो । वर्तमानमा सक्रिय थरीथरीका अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाहरू यसै योजनाबद्धताका उपज हुन् ।

यिनको प्रमुख काम सबैभन्दा बढी कम्युनिस्ट आन्दोलनको विरोध गर्नु र मानवअधिकारको नाममा यथास्थितिवाद र साम्राज्यवादको सेवा गर्नु हो । यस्ता संस्थाहरू विभिन्न मुलुकमा विभिन्न नामले सक्रिय भएका छन् र तिनले खास मुलुकको ‘आवश्यकता' अनुसार आफूलाई परिचालित गर्छन् ।

नेपालमा लिंग, जात र क्षेत्र आदिको ‘अधिकार र पहिचान' लगायत विकास निर्माण र मानव सेवाका नाममा थुप्रै एनजीओ÷आईएनजीओहरू मानवअधिकारवादी संस्थाहरू परिचालित छन् । यस्ता अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले गर्ने गरेका बहादुरीपूर्ण कामको लागि पश्चिमा शक्ति राष्ट्रहरूले ठूलो लगानी गरेको सबैलाई थाहा भएकै हो ।

नेपालमा आईएनजीओहरू तथा मानअधिकारवादी भनिने संस्थाहरूले देखाउने गरेको काम तथा डलर आर्जनको प्रमुख स्रोत चीनको विरोध र दलाई लामाको समर्थनका साथै क्रिश्चियन धर्मको प्रचारप्रसार पनि हो । विगतको मात्र कुरा नभएर वर्तमानमा पनि नेपाली कांग्रेसका नेतादेखि सभासद्हरूसमेत दलाई लामासित सम्बद्ध कार्यक्रममा पुगेर ‘फ्री तिब्बत' को पक्षमा बोलेका कुराहरू प्रकाशमा आएका छन् ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गोवा प्रकरण ताजै छ । कपिल श्रेष्ठदेखि कनकमणिसम्मका ‘मानवअधिकारवादीहरू' को चीनविरोधी गतिविधि र नेपालको माओवादी आन्दोलनलाई बद्नाम गर्न गरिएका प्रकरणहरू निरन्तर प्रकाशमा आइरहेका सन्दर्भहरू हुन् ।

यसको कोर्स पनि देश, काल र परिस्थितिअनुसार फेरिने गरेको छ । पछिल्ला दिनमा नेपालमा संघीयता र पहिचानका नाममा राजनीतिले नयाँ कोर्स लिन थालेपछि आईएनजीओहरूको ओइरो लागेको छ र मानवअधिकारवादीलाई भ्याइनभ्याइ भएको छ । आईएनजीओका मालिकहरू हरेक राजनीतिक पार्टीमा आफ्ना प्रतिनिधि तयार पार्न तथा प्रवेश गराउन सफल भएका छन् । त्यस्ता प्रतिनिधिहरू पार्टीको भाषा होइन, आईएनजीओहरूको भाषा बोल्छन् र मुलुकलाई वैदेशिक शक्तिकेन्द्रहरूको स्वार्थ पूरा गर्ने साधन बनाउन कम्मर कसेर लागेका हुन्छन् ।

भूगोल र ‘सेवा क्षेत्रहरू' को पनि भागबन्डा हुन्छ । पहाडमा एकथरी अनुहारहरू सक्रिय हुन्छन् र तराईमा अर्काथरी अनुहारहरू । पहिचान र अधिकारका नाममा साम्राज्यवादी-विस्तारवादी एजेन्डालाई अल्पकालीन र दीर्घकालीन योजनामा रूपान्तरण गरिन्छ ।

मानवअधिकार र पहिचानवादी राजनीतिका नाममा मुलुक टुक्र्याउने, सार्वभौमसत्ता विखण्डन गर्ने कुरालाई न्यायोचित ठानिन्छ । भाषणमा मात्र नभएर व्यवहार पनि यसका प्रारूपहरू देखा पर्न थाल्छन् र यस्ता कुकृत्यहरूलाई मानवअधिकारको खोल ओढाएर सही साबित गर्ने दुस्प्रयासहरू हुन थाल्छन् ।

कुनै पनि मुलुकको सबैभन्दा गम्भीर प्रश्न भनेको सार्वभौम सत्ताको प्रश्न हो । आफ्नै माटोमा टेकेर मुलुक टुक्र्याउने कुरा सबैभन्दा ठूलो अपराध हो । साम्राज्यवादीहरू तथा विस्तारवादीहरूको जुठोपुरो खाएकाहरूले मात्र आफूलाई यति तल्लो स्तरमा पुर्‍याउँछन् ।

तर यतिखेर नेपाल यस्तो मुलुक भएको छ, जहाँ विखण्डनको वकालत गर्ने÷गराउने कुरालाई बहादुरी ठहर गरिन्छ र त्यसको समर्थन गर्नुलाई जिम्मेवारी ठानिन्छ । नेपालका एकथरी मानवअधिकारवादीहरूले यस्तै बहादुरी गरेर भर्खरै इतिहासमा आफ्नो नाम दर्ज गरेका छन् । योभन्दा विडम्बना अरू के हुन सक्छ ?

२००७ सालको सेरोफेरोदेखि नै सके सिंगै एकैचोटि नभए टुक्राटुक्रा पारेर नेपाललाई निल्ने भारतीय योजना सिंहदरबारमा बहुमत निर्माण गरेर साथै चुरे -दक्षिण अलग पार्ने बृहत् योजनाका रूपमा सक्रिय भयो र भइरहेको छ । यो योजनाले उत्पन्न गरेको पछिल्लो पीडा नेपालीले नाकाबन्दीका रूपमा भोगे ।

दक्षिणको पीडा त छँदै थियो, पछिल्ला दिनमा युरो-अमेरिकीहरू ‘ककस' र ‘पहिचानवाद' को नयाँ बाइबल बोकेर नेपाल प्रवेश गरे । पहाडी र हिमाली क्षेत्रमा विभिन्न किसिमका आईएनजीओहरू सक्रिय छँदै थिए, फाउन्डेसन आदिको नाम दिएर तराईमा पनि आईएनजीओहरू सलह बनेर प्रवेश गरे ।

डलरखेतीका लागि निकै उर्बर देखिएको तराईमा प्रवेश गर्नको लागि पढेलेखेका लोभीपापीहरू नै सबैभन्दा बढी सहज हुनु स्वाभाविक थियो । नाम लिनु आवश्यक छैन, यस्ता फाउन्डेसनसित तराई-मधेसका बुद्धिजीवी भनाउँदाहरू को-को सम्बद्ध छन् र उनीहरूका ‘बौद्धिक क्रियाकलाप' केकस्ता छन् भन्ने कुरा पनि सबै सतहमा आइसकेका छन् ।

नेपालको सार्वभौमसत्ताविरुद्ध हिजो इन्दिरा गान्धीले तयार पारेको योजनालाई नयाँ किसिमले पूरा गर्न तयार पारिएका थरीथरीका पात्रहरू देश र कालअनुसार सिंहदरबारको कुर्सीमा पनि सक्रिय बनेको पनि सबैलाई थाहा छ । कोही सोझै यो मुलुक टुक्र्याएर भारतीय झन्डा गाड्छु भन्छन् र कोही संविधान संशोधन गरेर यो मुलुक विखण्डित पार्छु भन्छन्, फरक यति मात्र हो— एउटै सिक्काको दुई पाटाजस्तो । मुलुक टुक्र्याउने भाषण गर्दै हिँड्ने मान्छेलाई पक्राउ गर्न पनि जनदबाब दिनुपर्ने दुःखद स्थिति हामी भोगिरहेका छौं ।

जब जनदबाबका कारण सरकार राष्ट्रद्रोही अपराधी पक्राउ गर्न बाध्य हुन्छ, त्यतिबेर मानवअधिकारको खोल ओढेका राष्ट्र विखण्डनकारीका मतियारहरू कोकोहालो मच्चाउँदै नांगेझार हुन्छन् । मानवअधिकारको गजबको परिभाषा व्यक्त हुन्छ त्यहाँ । वास्तवमा मानवअधिकारको आवरणमा राष्ट्र विखण्डनकारीको वकालत गर्नेहरू त्यो पात्रभन्दा पनि महाअपराधी पात्र हुन् । मुलुकको राष्ट्रिय अखण्डता र स्वाधीनताको विपक्षमा उभिएकाहरूको पक्षमा उभिनु भनेको सारतः राष्ट्रद्रोहको पक्षमा उभिनु हो । यही काम अहिले ‘नेपाल मानवअधिकार संगठन' का ‘अधिकारवादीहरू' ले गरेका छन् ।

‘नेपाल मानवअधिकार संगठन' त्यही संस्था हो, जोसित ऋषिकेश शाह, कपिल श्रेष्ठ मात्र होइन, इतिहास खोतल्दै जाँदा पारिजात र बाबुराम भट्टराई पनि भेट्न सकिन्छ । पछिल्ला दिनमा यस संस्थाको मूल विशेषता चीनको विरोध र दलाई लामा तथा ‘फ्री तिब्बत' को समर्थन गर्नु रहेको छ । अब आएर यो संस्था राष्ट्रिय स्वाधीनतामाथि प्रहार गर्दै विखण्डनको लागि क्रियाशील बन्ने राष्ट्रद्रोहीहरूको वकालत गर्ने, तिनका पक्षमा उभिने संस्थाका रूपमा पनि परिचित भएको छ ।

राष्ट्रिय अखण्डता र स्वाधीनताको पक्षमा उभिनेहरूलाई हत्कडी लगाउने र हाकाहाकी मुलुक टुक्र्याएर भारतीय झन्डा गाड्छु भन्नेहरूलाई ‘ज्वाइँ' को सुविधा दिएर हिरासतमा राखेजस्तो गर्ने अचम्मको स्थिति नेपालबाहेक कुनै पनि मुलुकमा देख्न पाइँदैन ।

नेपालको विखण्डन गर्ने/गराउने योजनालाई आकार दिने अभियानको थालनीका रूपमा भारतीय विस्तारवादद्वारा अघि सारिएको पात्र सीके राउतलाई पक्राउ गरेपछि मानवअधिकारका नाममा विदेशी संस्था, पात्र र प्रकाशनहरू समर्थनमा आउनु बुझेकै कुरा थियो । यो नेपाल र नेपाली जनताविरुद्ध उनीहरूले हिजोका दिनदेखि गर्दै आएको कार्य थियो ।

परन्तु, नेपाली नागरिकता बोकेका केही पात्र तथा संस्थाहरू त्यसमा पनि मानअधिकारको कुरा गर्नेहरू जसरी खुलेर विखण्डनकारीको पक्षमा उभिए, यसले साँच्चिकै गम्भीर हुनुपर्ने अवस्था उत्पन्न गरेको छ । यसबाट विदेशी सञ्जालसित जोडिएका मानवअधिकारवादी संस्थाहरूको नाम नेपालसित जोडिए पनि यिनले सेवा गर्ने वर्ग र मुलुक अर्कै रहेछ भन्ने सबैले बुझ्ने गरी प्रमाणित भएको छ ।

मानवअधिकारवादी तथा आईएनजीओहरूलगायतका आफ्ना दलालहरूलाई अग्रपंक्तिमा उभ्याएर हस्तक्षेपको वातावरण बनाउने र पछि सैन्य दस्ता प्रयोग गर्ने साम्राज्यवादी-विस्तारवादी शक्तिहरूको पछिल्लो नीति हो । नेपाललाई यसैको प्रयोगशाला बनाउन खोजिएको छ । यस नकारात्मक घटनाले केही सकारात्मक शिक्षा पनि दिएको छ ।

यसले राष्ट्र विखण्डनको अभियानमा के-कस्ता पात्र तथा संस्थाहरू सक्रिय रहेछन् भन्ने जानकारी भएको छ । दक्षिणनिर्मित र परिचालित यो सरकार उसैको योजनामा चलेका आयोजनाहरूविरुद्ध जाने स्थितिमा नभएकाले अबका दिनमा पनि महन्थ ठाकुरहरू र सीके राउतहरूले ‘मानवअधिकारको भरपूर प्रयोग' गर्नेछन् र आईएनजीओहरू र मानवअधिकारवादीहरूले पनि ‘लोकतन्त्र' को सुन्दर उपयोग गर्नेछन् ।

राष्ट्रिय अखण्डता र स्वाधीनताको पक्षमा उभिनेहरूलाई हत्कडी लगाउने र हाकाहाकी मुलुक टुक्र्याएर भारतीय झन्डा गाड्छु भन्नेहरूलाई ‘ज्वाइँ' को सुविधा दिएर हिरासतमा राखेजस्तो गर्ने अचम्मको स्थिति नेपालबाहेक संसारका कुनै पनि मुलुकमा देख्न पाइँदैन । भारतको केरलामा राष्ट्रगान गाउँदा उठेन भनेर अमूक पात्रलाई जेल हालेको घटना ताजै छ ।

तर नेपालमा सबै कुरा चल्छ । वास्तवमा कतै यो सरकार नै विदेशीले चलाएको आईएनजीओमा परिणत त भएको छैन भनेर प्रश्न उठ्नु/उठाउनुपर्ने स्थिति उत्पन्न भएको छ । यस्तो बेला राष्ट्रिय स्वाधीनता र जनपक्षीय मूल्यको रक्षाको लागि बोली र कलम अपुग ठानेर कसैले बन्दुकको विकल्प खोज्यो भने अन्यथा ठान्नु हुँदैन । यो पनि उसको मानवअधिकारको कुरा हो ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.