खुला सीमा र  न्याय

 खुला सीमा र  न्याय

नेपालमा कानुनी राज कमजोर भएकाबारे प्रायः अमूर्त र एकपक्षीय चर्चा हुन्छन् । एकले अर्कालाई कमजोर देखाउने, अर्को पक्षको नैतिकतालाई बढी ध्यान दिने र अन्ततः समग्र व्यवस्थालाई नै दोषी देखाउँदै निराश निष्कर्षमा जाने प्रवृत्ति हाम्रो सांस्कृतिक चिन्तनका रूपमा विकास भइरहेको छ ।

शिक्षा र संस्कारको जगमा उच्च नैतिक आचरण विकास एवम् त्यसको तागतबाट उन्नत र सुसंस्कृत समाज बन्ने विषय हामीकहाँ स्वैरकल्पनाबराबर छ । यसैबीच आधुनिक सभ्य समाजको सबैभन्दा आधारभूत व्यवस्था फौजदारी न्याय प्रणाली (क्रिमिनल जस्टिस सिस्टम) को हविगत एकदमै टिठलाग्दो छ ।

यस्तो किन भयो भनेर बेलाबखत सरोकालकालाहरूबीच संवाद भइराख्छ । तर ती संवादहरू पनि माथि उल्लिखित सांस्कृतिक चिन्तनको फेरोबाट मुक्त रहँदैनन् । प्रहरी र अभियोजकहरू फौजदारी न्याय प्रणालीको सबैभन्दा महत्ववपूर्ण पक्षका रूपमा रहेको अनुसन्धानका निम्ति जिम्मेवार छन् । सहकार्यमा काम गर्नुपर्ने यी दुई पक्षले फौजदारी मुद्दालाई बलियो बनाएर न्यायालयमा पुर्‍याई अभियुक्तलाई कानुनी कारबाही र पीडितलाई न्याय दिलाउने दायित्व बराबर बोक्छन् ।

तर प्रस्ट छ, यी दुईमध्ये एकको कामकारबाही गलत प्राथमिकताबाट प्रेरित नभई मिसिल कमजोर हुँदैन । स्रोतसाधन, प्रविधि, व्यवस्थापन र व्यावसायिक निष्ठाजन्य कमजोरीले फौजदारी अनुसन्धान अवश्य प्रभावित हुन्छन् । त्यसअगाडि नेपालको सन्दर्भमा अर्को एउटा विशिष्ट समस्या छ, जसले हाम्रो समग्र राष्ट्रिय चरित्र निर्माण प्रक्रियालाई नै प्रभावित तुल्याएको छ । अर्थात् त्यो प्रक्रिया नै अवरुद्ध छ, एक किसिमले ।

पंक्तिकारले यसअघिका लेखहरूमा नेपाल-भारत खुला सीमालाई नेपालको राष्ट्रिय चरित्र निर्र्माणको मुख्य वाधाका रूपमा चित्रण गर्दै आएको छ । यही तर्कको निरन्तरतामा यसपटक खुला सीमा र नेपालको फौजदारी न्याय प्रणालीबीचका अन्तरनिहित सम्बन्धहरू केलाउने प्रयास भएको छ ।

नेपालमा वारदातपछाडि अभियुक्तहरूको आपराधिक मनस्थितिमा सायद सबैभन्दा धेरै आउने कुरा हो, दक्षिणतिर गएर लुक्छु । पेसेवरहरूको त यो योजनामै हुन्छ । बिनारोकटोकको सीमा पार गरेर अभियुक्त अर्को देशको भूमिमा पुगेपछि प्रहरीहरूको बाह्र बज्ने नै भयो । नेपाल र भारतले सुपुर्दगी सन्धि नगर्नका आफ्नै व्यावहारिक र भूराजनीतिक कारण छन् ।

यस्तोमा केही विशेष अभियुक्तलाई द्विपक्षीय व्यावहारिक समन्वयबाट नेपालको भूमिसम्म ल्याउने एवम् अदालतमा बुझाउनेबाहेकको विकल्प छैन । तर यो पनि मुलुकको समग्र फौजदारी न्याय प्रणालीलाई चुस्तदुरुस्त राख्ने उपागम होइन । हजारमा एकदुई समातिएर बाँकी सबैको आजादीले आखिर समाजमा कानुनी राजको डर पैदा गर्न सक्दैन ।

आधुनिक कालखण्डमा नेपाल र भारतबीचका प्रायः कूटनीतिक अभ्यास दोस्रो पक्षलाई दोषी देख्ने चिन्तनबाट ग्रस्त भएको देखिन्छ । नेपाली राजनीतिमा खेल्ने भूमिका र प्रायः आरोपको विषय बन्ने सूक्ष्म व्यवस्थापनको ‘जस्टिफिकेसन' मा भारतले कुनै न कुनै तरिकाबाट भन्ने गर्छ- सुरक्षा सरोकार । आतंककारीको ‘सेफ हेवेन', अन्तर्राष्ट्रिय तस्कर सन्जालको सजिलो मार्ग, अपराधीहरूको ‘हाइड आउट' लगायत अनेक रेडिमेड शब्दावली छन्, जसबाट नेपाली पक्ष प्रायः शब्दहीन बन्ने अवस्था रहन्छ ।

यस्तो हुँदा नेपालभन्दा कयौं ठूलो अनि विश्व शक्ति मुलुक बन्ने सपनामा दक्षिण एसियाको सर्वपक्षीय नेतृत्व गर्ने लालसा बोकेको भारत स्वयम्ले सीमा व्यवस्थापनको मुद्दामा बढी जोड दिनुपर्ने हो । जति भारतका गुनासा छन्, त्योभन्दा बढी नेपालको हुनुपर्ने हो । नेपाल ८० प्रतिशत उपभोग्य वस्तुको लागि भारतमा निर्भर छ ।

व्यापार घाटाको यो उधुम अवस्थामा नेपालले केकति विकृति बेहोरिरहेको छ, त्यसको लेखाजोखा सजिलो किन्चित छैन । यससँग जोडिएको वित्तीय अपराधको परिदृश्य खुट्ट्याइनसक्नु छ । वित्तसँग जोडिने सामाजिक अपराधको पेटारो फुकाइनसक्नु छ । दुवै देशमा टेकेर सबैखाले अपराध गर्ने संगठित समूहहरूको बोलवाला बुझिनसक्नु छ ।

न नेपालको लागि फाइदा न भारतको लागि । सामाजिक व्यवहार र फौजदारी अपराधका तथ्यांक विश्लेषण हेर्दा दुवै पक्षलाई सरासर घाटाको विषय हो खुला सीमा । अन्य कुनै अभीष्ट भए, त्यसको खोजी हुनुपर्ने हो । स्वतन्त्र विश्लेषकहरूले भन्ने गरेको कुरा यहाँ उल्लेख गर्नु सान्दर्भिक होला । भारतले नेपाली भूमिलाई आफूअनुकुलको अभ्यासको लागि खुला राख्न चाहन्छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने तर्खरमा रहेको एवम् सामरिक हिसाबले धेरै गुणा सक्षम चीनसँगको सान्निध्यलाई भारतले धेरै हिसाबमा खतराको रूपमा हेर्छ ।

नेपाल त सबैतिरबाट ह्वांङ छ । एकातिर भ्रष्टाचार, गरिबी र कुव्यवस्थापनको मार छ भने अर्कोतिर जनता सुरक्षित छैनन् । संगठित रूपले बढ्दै गएको अपराध वृत्तिले सीमा पार गरेपछि स्वर्ग भेट्ने अवस्था छ ।

भारत कुनै हालतमा दक्षिण एसियामा चिनियाँ प्रभाव नबढोस् भन्ने चाहन्छ । खासगरी नेपालमा चिनियाँ प्रभाव बढ्दा भारतको क्षेत्रीय रणनीतिक समीकरण बिग्रने नयाँदिल्लीको बुझाइ रहेको छ । यही मनोविज्ञानका कारण नयाँदिल्लीले नेपालसँगको सम्बन्धलाई अत्यन्त निकट, खुला अनि आफ्नो पकडभित्र राख्न खोजेको प्रतीत हुन्छ ।

यस्तो विशेष सरोकारका अगाडि नेपाली समाज खुला सीमाका कारण सधैं अस्थिर र संवेदनशील बन्न पुग्नु भारतको लागि सायद टाउको दुखाइ होइन कि ? भारतले आफनो टाउको दुखाइ आफ्नै मामिलामा सीमित राखोस्, तर हामी नेपालीहरूले त आफ्नो देशलाई माया गर्नुपर्‍यो नि । के नेपालीहरू आफ्नो देशलाई माया गर्नसमेत भारतसँग सिक्नुपर्ने अवस्थामा पुगेका हुन त ?

नेपाल र भारतको खुला सीमाको यो मामिला नमिलाई भएको छैन । भारतको पाकिस्तान र बंगलादेशसँग पनि भूमि सीमा जोडिएको छ । त्यहाँ त पक्कै यस्तो समस्या छैन । नेपाल र भारतले चाहिँ मित्रताको दुहाइ दिएर अपराधलाई खुलमखुल्ला वातावरण दिइरहनुपर्ने के छ ? अपराधीले उन्मुक्ति पाउने समाज कहिल्यै पनि उन्नत हुन सक्दैन ।

संसारको सर्वशक्तिमान मुलुक अमेरिका आफ्ना सर्वशक्तिशाली व्यवस्था, सुरक्षा र सामथ्र्य हुँदाहुँदै सामाजिक हिंसाको बढ्दो चुनौतीमा छ भने नेपाल त सबैतिरबाट ह्वांङ छ । एकातिर भ्रष्टाचार, गरिबी र कुव्यवस्थापनको मार छ, अर्कोतिर जनता सुरक्षित छैनन् । संगठित रूपले बढ्दै गएको अपराधवृत्तिले सीमा पार गरेपछि स्वर्ग भेट्ने अवस्था छ ।

गत वर्ष नेपाल-भारत सम्बन्ध एउटा कठिन मोडबाट गुज्रियो । नेपाली जनताले आफ्नो संविधान जारी गर्न खोज्दा भारतको त्यसमा चित्त बुझाइ रहेन । संविधान जारी भइछोड्यो, अघोषित नाकाबन्दी पनि भयो । नेपाली जनताले भारतको असुहाउँदो हस्तक्षेप सहन गरेनन्, बरु दाउरा बालेर भात खाए । समस्या समाधान हुनैपर्ने थियो, भारतसँग नाकाबन्दी हटाउनुको विकल्प थिएन ।

त्यतिबेला जति दुःख परे पनि नेपाली जनताले आफ्नो राष्ट्रियताको महत्ववमाथि मनन गर्ने अवसर पाएकै हुन् । त्यही मौकामा नेपाल-भारत सम्बन्धलाई दीर्घकालको लागि बलियो तुल्याउन एवम् नेपाल राष्ट्रको आत्मनिर्भर चरित्र निर्माण गर्न सीमा व्यवस्थापनको मुद्दालाई एउटा अभियानका रूपमा पुनर्जीवित गर्न केही सचेत पक्ष अग्रसर भएका हुन् ।

परन्तु नेपाली राजनीतिको नैतिक बल मुलुकले यति ठूलो अग्निपरीक्षा अनि भुइँचालो खेप्दा पनि बढेको रहनेछ, बरु उही सत्तालिप्सा र स्वार्थको लागि आफ्ना मामिला परायालाई बुझाउने प्रवृत्ति बढिरहेको देखिन्छ । यस्तो बेला समाजमा सुरक्षा अनुभूति बढाउन, हाम्रो भूमिलाई अपराधबाट मुक्त पार्न, दण्डहीनतालाई निरुत्साहित गर्न अगाडि बढाइने बहसले सायदै महत्वव पाउला ।

एउटा सभ्य र सुरक्षित समाजको प्राथमिकता शृंखलामा मानव जीवन, यसको प्रतिष्ठा र सुरक्षा सबैभन्दा अगाडि आउँछ । त्यसमा वैध उपायहरूबाट पौरख र आर्जन गर्ने असीमित सुविधा हुन्छ । व्यक्तिगत स्वतन्त्रता र निजित्वको सम्मान हुन्छ । अर्कोतिर यी मूल्यहरूलाई चुनौती दिने पक्ष सहजै सजायको भागीदार बन्छ ।

राज्यले हरेक नागरिकलाई बराबर दिने सुविधा र अवसर कुनै व्यक्ति वा समूहको चेष्टाका कारण बिथोलिँदैन । के नेपाल त्यस्तो समाज बन्न सक्दैन ? के नेपालमा अपराध गर्ने, बदमासी गर्नेहरू उम्केको उम्कै हुने, सोझासीधा पीडित भइरहनुपर्ने अवस्थाको अन्त्य नहोला त ?

हुन्छ । तर त्यसको लागि नेपालले सबैभन्दा पहिला आफ्नो सीमाको राफसाफ मिलाएर त्यसभित्र के गर्ने भन्ने योजना र कार्यशृंखला निर्धारण गर्नुपर्छ । एउटा घर बन्न त्यसका झयाल-ढोका बलियो राख्नुपर्छ र त्यो सार्वजनिक पाटीको हैसियतमा रहनु हुन्न । त्यहाँ तोकिएका मान्छे, तोकिएको नियममा बस्ने कानुन र त्यसको परिपालना जरुरी छ । त्यहाँ तोकिएका नियम उल्लंघन हुँदा तोकिएको कानुनबाट सजाय हुनैपर्छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.