माअाेवादी गाेलचक्कर

माअाेवादी गाेलचक्कर

माओवादी जनयुद्धमा प्रचण्ड, लालध्वजको चर्चा क्रान्तिका नायकका रूपमा लिने गरिन्थ्यो । प्रचण्ड त त्यसका सुप्रिम कमान्डर नै थिए । एक समय माओवादी जनयुद्धका सुप्रिम कमान्डर प्रचण्ड २०६२ को चुनवाङ बैठकपछि क्रमशः प्राविधिक रूपमा त सुप्रिम कमान्डर रहि नै रहेका छन् तर सिद्धान्त, विचार र कार्यदिशाका हिसाबले त्यसको कमान्डर लालध्वज बनेको यथार्थ हो ।

पार्टीभित्र जसको नीति उसको नेतृत्वको दाबी गरिरहेका लालध्वजले प्रचण्डको अगाडि नेतृत्व पाउन असम्भव देखिएपछि अन्त्यमा आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी गठन गरे र उनले त्यस समयसम्म लिएको राजनीतिक कोर्स-दसबर्से जनयुद्धको निरन्तरताको अन्त्य गरेको मात्रै घोषणा गरेनन्, समग्र रूपले माक्र्सवाद-लेनिनवाद-माओवादीलाई समेत परित्याग गरेको घोषणा गरे ।

प्रचण्डले भने अझै पनि आफूलाई दसबर्से जनयुद्धको निरन्तरता र माक्र्सवाद-लेनिनवाद-माओवादीको आधिकारिक केन्द्र भन्दै माओवादी केन्द्रका एक्लो कमान्डर बनेका छन्, तर उनी सिद्धान्त, विचार र संगठनका हिसाबले त्यसबाट धेरै टाढा पुगिसकेको थाहा नपाए झैं गरिरहेका छन् । वर्तमान सरकारमा प्रधानमन्त्री भएपछि दिल्लीसित लम्पसार परेको आरोप त उनीमाथि लागेकै छ, जुन आरोप उनले एकसमय उनकै सहयोद्धा लालध्वजमाथि लगाउने गर्दथे ।

प्रचण्ड र लालध्वजको आत्मसमर्पणवादविरुद्ध क्रान्तिको झन्डा उठाउन महत्ववपूर्ण भूमिका खेलेका माओवादी आन्दोलनका अर्का युवा विप्लवले आफूलाई माओवादी जनयुद्धको एउटा जल्दोबल्दो क्रान्तिकारी स्थापित गराउन प्रचण्ड र लालध्वजको एमाओवादीबाट किरणको सहायतामा विद्रोहको झन्डा उठाए र बौद्ध भेलामा उनले आफूलाई बादलभन्दा माथि पार्टी महासचिवको दाबी गरेका थिए ।

किनभने उनको विचारमा प्रचण्ड र लालध्वजको एमाओवादीबाट विद्रोहको झन्डा उठाएर नेकपा-माओवादी पार्टी गठनमा उनको नेतृत्वदायी भूमिका थियो । उनमा रहेको आफ्नो नेतृत्वमा पार्टी गठनको चाहनाले झन्पछि झन् उग्रता लिँदै गयो र अन्त्यमा उनले आफूलाई नेकपा-माओवादी पार्टीबाट अलग भएको घोषणा गरे ।

नयाँ पार्टी नयाँ कार्यदिशा-एकीकृत जनक्रान्तिको सिद्धान्तमा गठन गरेको घोषणा गरे । पार्टी घोषणा गर्दा उनले ६ महिनाभित्र नेपालमा फेरि जनयुद्ध सुरु गर्ने भनेका थिए । तर अहिलेसम्म आइपुग्दा विप्लवले पनि प्रचण्ड र लालध्वजले जस्तै आफ्ना दस्ताबेजहरूमा सर्वहारा वर्गको नेतृत्व, सर्वहारा वर्गको अधिनायकत्व र उसको सत्ता प्राप्तिको लागि माक्र्सवाद-लेनिनवाद-माओवादले मानेको बल प्रयोगको सिद्धान्त भन्न छोडेका छन् ।

यो प्रश्नमा अति नै छिटो ओरालो लाग्नेमा एक्काईसौं शताब्दीको माक्र्सवादको सिर्जनशीलताको नाममा दसबर्से सशस्त्र युद्धका एकजना ‘नायक' लालध्वजले त माक्र्सवाद नै छोडेर नयाँ शक्ति नामको बेग्लै राजनीतिक दल खोलेका छन् । अर्का ‘नायक' प्रचण्डले एक दिनमा तीनपटकसम्म झूट बोलेर र आफूमाथि लम्पसारवादको आरोप लागे पनि ‘माओवादी केन्द्र' नाम दिएर नेपालको संविधान २०७२ ले घोषणा गरेको संसद्को छायाँ संसद्को रूपमा पार्टी निर्माण गर्दैछन् ।

खासगरी माओवादी केन्द्रको हालैको बैठकमा अब बन्ने केन्द्रीय समिति १९९ जनाको हुने तर त्यो पूर्ण समानुपातिक ढाँचाको हुने भनेर त्यसको संरचना यस्तो हुने भनिएको छ, जसअनुसार आर्य खस ६२ जना, महिला एक सय, दलित २६, मधेसी दलित नौ, खस आर्य दलित १७, मुस्लिम ९, थारूबाहेक आदिवासी जनजाति ६१, थारू १३, मधेसी ३० ।

यसले के संकेत गर्दछ भने माओवादी केन्द्र अब सर्वहारा वर्गको पार्टी नभई नेपालको संविधान २०७२ ले घोषणा गरेको संसद्को छाया संसद्को रूपमा संगठित र परिचालित हुने निश्चित छ । तैपनि समग्र माओवादी आन्दोलनमा लागेकाहरूलाई लामो समयसम्म दिग्भ्रमित बनाउन माओवाद र माओवादी भन्न छोडेका छैनन् । जसरी एमालेमा माक्र्सवाद र लेनिनवादको कुनै अंश पनि नभइरहँदासमेत एकीकृत माक्र्सवादी-लेनिनवादी पार्टी भन्न छोडेको छैन ।

अर्कोतिर विप्लवले पछिल्लो अवस्थामा आएर नेपाली क्रान्तिको मौलिक नयाँ मोडेल भन्दै ‘एकीकृत जनक्रान्तिको सिद्धान्त' लाई एउटा ठोस आकार दिन यही फागुन १ गतेदेखि आठौं महाधिवेशनको तयारी गर्दै छन् । महाधिवेशनका तयारीको दौरान उनले अभिव्यक्त गरेका भनाइहरूमा उनी प्रचण्डप्रति ज्यादै आक्रामक र नकारात्मक रूपले प्रस्तुत देखिएका छन् भने बाबुरामप्रति खासै नकारात्मक देखिँदैन ।

उनको दाबी के छ भने उनले अगाडि सारेको ‘एकीकृत जनक्रान्तिको सिद्धान्त' ले नेपाली क्रान्तिका विशेषताहरूको सही पहिचान गरेको छ, जसलाई उनी यही आउँदो महाधिवेशनबाट एउटा वैज्ञानिक विचार, नीति र कार्यक्रम निर्माण गर्न सफल हुनेछन् । यसले महाधिवेशनले नीति, नेतृत्व र योजना निर्माणमा महत्ववपूर्ण भूमिका खेल्ने दाबीसमेत गरेका छन् । उनले उक्त दस्ताबेजमा सर्वहारा वर्ग नभनी आधारभूत वर्गको जगमा मध्यमवर्गलाई साथमा लिएर एक्काईसौं शताब्दीको वैज्ञानिक समाजवाद स्थापना गर्ने भनेका छन् ।

उनको दस्ताबेजमा कहींकतै पनि माओवादको मूल कार्यदिशा नयाँ जनवादी क्रान्तिको सन्दर्भ राख्न उचित ठानेका छैनन् । साथै उनले माक्र्स, लेनिन र माओको उद्धरणभन्दा वर्तमानका एउटा प्रसिद्ध वैज्ञानिक स्टेफन हकिङका उद्धरणलाई अगाडि सार्न रुचाएको देखिन्छ । उनले दस्ताबेजमा आधारभूत वर्ग र मध्यम वर्गसहितको आम सहभागितामा क्रान्ति भनेका छन् । यसरी उनले आफूलाई क्रान्तिकारी भन्दैछन् तर सर्वहारा वर्गको नेतृत्व, सर्वहारा वर्गको अधिनायकत्व र उसको सत्ता प्राप्तिको लागि माक्र्सवाद-लेनिनवाद-माओवादले मानेको बल प्रयोगको सिद्धान्त भन्न छोडेका छन् ।

यसरी उनको नेतृत्वमा बन्ने नयाँ पार्टीको नाम नेकपा (माओवादी) नहुने र यसको नाम नयाँ रूपमा अगाडि ल्याइने भनिएको छ । यसरी रूपमा उनी अझै क्रान्तिको कुरा गरेर माओवादी आन्दोलनमा लागेका युवालाई आकर्षित गर्ने कोसिस त गरिरहेका छन्, तर सारमा उनी बाबुरामले जस्तै माओवाद र लेनिनवादलाई एकीकृत जनक्रान्तिको सिद्धान्तमार्फत विस्थापित गर्दैछन् भन्ने सामान्य अनुमान गर्न सकिन्छ ।

यद्यपि यी सबै ठोस रूपमा उनको आठौं महाधिवेशनपछि नै बाहिर आउनेछन् । उनको क्रान्तिको निशाना वर्तमान राज्यसत्ताका प्रमुख शक्ति नेपाल प्रहरी र नेपाली सेना होइन भनेर बारम्बार वर्तमान सत्तालाई विश्वस्त पार्ने प्रयास गर्दैछन् । उनले भन्ने गरेका छन्- मैले अगाडि सारेको एकीकृत जनक्रान्तिको सिद्धान्त नेपालमा अर्को जनयुद्धको तयारी पनि होइन, वर्तमान सत्तासित आफू सत्तामा जानको लागि मोलतोल पनि होइन र पार्टी भूमिगत भएर जंगल जान पनि होइन । उनी भन्छन्, ‘यो राजनीतिक लाइनले नेपालको संसदीय परम्परागत राजनीतिक कोर्सलाई पनि खलबल्याउने अड्कल गरिएको छ ।'

यसरी के स्पष्ट देखिएको छ भने लालध्वज माक्र्सवाद नै छोडेर अमेरिकी मोडेलको अर्थतन्त्र र संसदीय लोकतन्त्रको खाँटी अनुशरणकर्ता बने भने प्रचण्डले माओवादको नाममा एमालेको मार्गतर्फ माओवादीहरूलाई नेतृत्व गर्ने कसरतमा लागेका छन् । यसरी दसबर्से सशस्त्र युद्धका दुवै ‘नायक' प्रचण्ड र लालध्वज एउटाले एमालेभन्दा पनि एक कदम पछाडि हटेर माओवादी केन्द्रलाई संसद्को छाया संसद् बनाउँदैछन् भने अर्कोले माक्र्सवादलाई नै पूरै नकार्दै अमेरिकी मोडेलको लोकतन्त्रको वकालत गर्दैछन् ।

प्रचण्ड, लालध्वज र विप्लवको राजनीतिक कोर्स एउटै त हुने छैन ? त्यो राजनीतिक कोर्स भनेको दसबर्से जनयुद्धको निरन्तरताको अन्त्यको साथै २०६२ को चुनवाङ बैठकले लिएको लालध्वजको अमेरिकी मोडलको लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको स्थापना ।

माथि उल्लिखित विप्लवको कार्यदिशाबारे उनीबाट अहिलेसम्म बाहिर आएका लेख तथा भनाइ विश्लेषण गर्दा उनको नेतृत्वमा अब बन्ने नयाँ पार्टी जसलाई उनले अहिलेको नेकपा (माओवादी) नभई महाधिवेशनले नयाँ गठित पार्टीको नयाँ नामसहित जनताको बीचमा आउने उद्घोष गरेका छन् । त्यसबाट उनी पनि प्रचण्ड र लालध्वजजस्तै माओवादी आन्दोलनको विरासतलाई लिएर अगाडि बढ्न चाहँदैनन् ।

पछिल्लो अवस्थामा उनले अनौपचारिक र आन्तरिक रूपले नेपालका जुन परम्परागत शक्ति केन्द्रहरू (सेना, प्रहरी र विगतको दरबारिया शक्तिहरू) सित मित्रताको हात अगाडि बढाएका छन्, त्यसले संसदीय व्यवस्थाको ध्वस्त नभई त्यसको कोर्सलाई मात्रै खल्बल्याउने र त्यसमार्फत सरकारमा जाने नै देखिन्छ । यसरी हेर्दा उनको नेतृत्वको पार्टी कतै भविष्यमा क्रान्तिको नाममा बाबुराम (लालध्वज) को अर्को नयाँ शक्ति त हुन जाने होइन भन्ने प्रश्न उठेको छ ।

भविष्यमा कतै माओवादी आन्दोलनका तीन हस्तीहरू प्रचण्ड, लालध्वज र विप्लवको राजनीतिक कोर्स एउटै त हुने छैन ? त्यो राजनीतिक कोर्स भनेको दसबर्से जनयुद्धको निरन्तरताको अन्त्यको साथै २०६२ को चुनवाङ बैठकले लिएको लालध्वजको अमेरिकी मोडेलको लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको स्थापना । यसरी घुमाइफिराइ लालध्वजको कार्यदिशाभित्र प्रचण्ड र विप्लवको गोलचक्कर देखिन थालेको छ । एउटाले तत्कालको लागि क्रान्तिको नाममा र अन्यले संसदीय भाषाको अभ्यासमा ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.