सात जना नेपाली अमेरिकाबाट निष्कासित

सात जना नेपाली अमेरिकाबाट निष्कासित

काठमाडौं :  अवैध मार्ग हुँदै अमेरिका पुगेका सात नेपालीलाई त्यहाँको अध्यागमनले पक्राउ गरी निष्कासन गरेको छ । निष्कासित ७ जनालाई विशेष चार्टर्ड जहाजबाट बुधबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको छ ।जहाज ओर्लनासाथ ती सात नेपालीलाई विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाइएको थियो । निष्कासन हुनेमा रामेछापका टासी शेर्पा, रुकुमका तारक पुनमगर र धनीमान बुढा, कास्की पोखराका केशव थापा, कास्की हेम्जाका चित्रबहादुर थापा, मकवानपुरका रवीन्द्र बलामी र बागलुङका अमर बस्नेत छन् ।

उनीहरू ९ देखि १६ महिनासम्म अमेरिकी अध्यागमनको हिरासतमा बसेका थिए । अमेरिकास्थित नेपाली दूतावासले ती नेपालीको ट्राभल डकुमेन्ट बनाएपछि त्यहाँको अध्यागमनले उनीहरूलाई निष्कासन गरेको थियो । अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालले अवैध रूपमा अमेरिका छिरेका सात नेपालीलाई त्यहाँको अध्यागमनले निष्कासन गरेको पुष्टि गर्नुभयो ।

महानिर्देशक गेलालले अन्नपूर्णसँग भन्नुभयो, ‘यो घटनाले अवैध बाटो हुँदै ज्यानको बाजी राखेर अमेरिका छिर्न खोज्नेले ठूलो पाठ सिक्नुपर्छ । यो घटनाबाट सकारात्मक सन्देश जाओस् भन्ने मेरो चाहना हो ।' मेक्सिकोबाट अमेरिका छिर्ने क्रममा नेपालको राहदानी र आवश्यक कागजपत्रसमेत नष्ट गरेपछि अमेरिकाको अध्यागमनलाई पक्राउ परेका कुन मुलुकका हुन् भनेर पत्ता लगाउन समस्या परेको थियो । हिरासतमा राखी निरन्तरको सोधपुछ र बयानपछि पक्राउ परेकाहरूले आफूहरू नेपाली भएको बताएका थिए । त्यसपछि मात्र अमेरिकी अध्यागमनले उनीहरूलाई नेपाली दूतावासमा सम्पर्क गराएको थियो ।

निष्कासन भएकामध्ये कोहीले यसअघि मध्यपूर्वी मुलुकमा र केहीले दक्षिण कोरियामा काम गरिसकेका छन् । नियमित जहाजमा पठाउँदा बीचबाटै भाग्ने सम्भावना भएको भन्दै अमेरिकी अध्यागमनले विमान चार्टर गरेर उनीहरूलाई काठमाडौं फर्काइदिएको हो । गत नोभेम्बरमा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अवैध रूपमा अमेरिका पुगेकाहरूमाथि कडाइ गर्न थालिएको छ ।

अवैध रूपमा अमेरिका पुगेका रामेछापका टासी शेर्पा, रुकुमका तारक पुनमगर र धनीमान बुढा, कास्कीका केशव थापा, कास्की हेम्जाका चित्रबहादुर थापा, मकवानपुरका रवीन्द्र बलामी र बागलुङका अमर बस्नेतलाई निष्कासन गरेको हो ।

विभिन्न समयमा अवैध बाटो हुँदै मानव तस्करको सहयोगबाट अमेरिका छिर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् । अमेरिका र मेक्सिकोको सीमामा भएको पर्खाल नाघेर भाग्ने क्रममा गस्तीमा रहेको अमेरिकी प्रहरीले आफूहरूलाई पक्राउ गरी जेल पठाएको उनीहरूले बताएका छन् । मध्यरातमा दलालको सुझावबमोजिम मेक्सिको र अमेरिकाको बोर्डरमा रहेको पर्खाल नाघेर भाग्ने क्रममा सीमा गस्तीमा रहेको प्रहरीले उनीहरूलाई विभिन्न समयमा पक्राउ गरेको थियो।

अमेरिका, जापान र युरोपमा बस्ने आफन्त र साथीभाइको सुझाव र आर्थिक सहयोगमा उनीहरू दलालमार्फत अमेरिका गएका थिए । २२ देखि ४२ वर्ष उमेर समूहका उनीहरूले अमेरिकासम्म पुग्न प्रतिव्यक्ति ३० देखि ४० लाख रुपैयाँसम्म दलाललाई दिएका थिए । पैसा कमाउने महत्ववाकांक्षा लिएर अमेरिका छिर्न खोज्ने क्रममा सीमा पर्खाल नाघ्दा उनीहरू पक्राउ परेका हुन् । निष्कासितमध्ये केहीले पाँच कक्षासम्म मात्र अध्ययन गरेका छन् भने कोही स्नातक उत्तीर्ण छन् ।

नेपालबाट स्थलमार्ग हुँदै भारत पुगी त्यहाँबाट मानव तस्करको सेटिङमा विभिन्न मुलुक हुँदै उनीहरू अमेरिका पुगेका थिए । मानव तस्करको समूहले ती नेपालीलाई आगमन भिसा दिने मुलुक खोज्दै तीनदेखि चार महिना लगाएर मेक्सिकोबाट अप्ठ्यारोसँग अमेरिका छिराएको थियो । मानव तस्करले उनीहरूलाई नेपालबाट स्थलमार्ग हुँदै भारत र त्यहाँबाट इन्डोनेसिया, फिलिपिन्स, थाइल्यान्ड हुँदै मेक्सिको पुर्‍याएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.