लन्डन आगलागीको छानबिन गर्न मेको आदेश

लन्डन आगलागीको छानबिन गर्न मेको आदेश

बेलायती प्रधानमन्त्री टेरेसा मेले राजधानी लन्डनको पश्चिममा पर्ने नर्थ केन्सिङटनस्थित ग्रेनफेल टावरमा लागेको आगलागीको छानबिन गर्न आदेश दिनुभएको छ ।

प्रधानमन्त्री मेले मंगलबार मध्यरातको आगलागीमा १७ जनाको मृत्यु भएको २४ तले ग्रेनफेल टावरको भ्रमणपछि छानबिनको आदेश दिनुभएको हो । आगलागीमा घाइते ३० जनाको अस्पतालमा उपचार भैरहेको छ । तीमध्ये १७ जना सिकिस्त छन् । आगलागीपछि कैयौं टावरका कैयौं बासिन्दा हराइरहेको बताइएको छ । प्रहरीले आगलागीका मृतकको संख्या अझै बढ्नसक्ने जनाएको छ ।

आवासीय टावरमा लागेको आगो निभाउन २४ घन्टाभन्दा बढी समय लागेको थियो । तर आगलागीको कारण भने अहिलेसम्म थाहा पाइएको छैन ।
अग्नी नियन्त्रकहरूले पूरै जलेको ग्रेनफेल टावरमा कुनै जीवित फेला पर्ने सम्भावना नभएको बताएका छन् । आफन्त आफ्ना बेपत्ता नातेदार र परिवारबारे जानकारी पाउन व्यग्र छन् । प्रधानमन्त्री मेले भन्नुभयो, ‘सर्वसाधारणले आगो यति छिटो कसरी फैलियो यसको जबाफ पाउने हक छ र छानबिनले यसको उत्तर दिनेछ ।’

आगलागीस्थलको छोटो भ्रमण गरेपछि भन्नुभयो, ‘आगो तीव्र गतिमा फैलेको र टावरका सबै तलामा सल्केको जानकारी पाएँ, त्यो अविश्वसनीय र डरलाग्दो थियो ।’ विपक्षी दलका नेता जेरेमी कोर्बिनले पनि आगलागी भएको ग्रेनफेल टावरको भ्रमण गर्नु भएको थियो ।

ग्रेनफेल टावर र आगलागीसम्बन्धी तथ्य
ग्रेनफेल टावर पश्चिमी लन्डनको ल्याटिमर सडकमा पर्छ । यो टावर १ हजार भवनसहितको लंकास्टर वेस्ट एस्टेट हाउसिङ कम्प्लेक्सकै एउटा हिस्सा हो। यो टावर सन् १९७४ मा निर्माण भएको थियो । गत वर्ष मेमा यसको मर्मत सम्भार गरिएको थियो । टावर मर्मत गर्न ८६ लाख बेलायती पाउन्ड खर्च भएको थियो । २४ तले टावरमा १ सय २७ आवासीय फ्ल्याट थिए ।

मर्मतसम्भार अघि र पछि पनि ग्रेनफेल एक्सन ग्रुपले टावरमा आगलागीको जोखिम रहेको दाबी गरेको थियो भने टावरका बासिन्दाले पनि एम्बुलेन्स, दमकलजस्ता इमरजेन्सी सवारीसाधन टावरमा आउन कठिन भएको गुनासो गरेका थिए । सन् २०१३ फेब्रुअरीमा टावरनिवासीहरूले भवनमा आगो निभाउने उपकरणको एक वर्षदेखि मर्मत नभएको गुुनासो गरेका थिए । गत वर्ष लन्डन फायर ब्रिगेडले टावरमा आगलागी नियन्त्रण गर्ने समुचित उपाय नभएको भन्दै जोखिमका कारण असुरक्षित रेटिङ गरेको थियो ।

मध्यरातमा आगो लाग्दा टावरका अधिकांश निवासी सुतिरहेका थिए । प्रत्यक्षदर्शीहरूले बताए अनुसार टावरमा फसेकाहरू गुहार मागिरहेका थिए । कतिपयले सहायताका लागि टावरको छतमा टर्च र मोबाइल फोनको बत्ती बालेका थिए ।

टावरको चौथो तलाबाट आगलागी सुरु भएको थियो । टावरबाट सुरक्षित निस्केका निवासीहरूको बयानअनुसार फायर अलार्मले काम गरेन र उनीहरूलाई सुतिरहेका बेला छिमेकीहरूले उठाएर टावरमा आगो लागेको बताएका थिए । कतिपयले आफ्ना छोराछोरीलाई झ्यालबाहिर निकालेका थिए । कैयौंले छोराछोरीलाई कपडामा बेरेर तल फ्याँकेको बताइएको छ ।

घटनास्थलमा पुगेका बिबिसीका एन्डी मुरका अनुसार आगलागीका कारण टावरमाथिबाट भग्नावशेष खसिरहेको थियो, विस्फोट भइरहेको थियो र सिसा फुटेको आवाज आइरहेको थियो ।

स्थानीय चर्च, फुटबल क्लब र अन्य संस्थाहरूले पीडितलाई खान, बस्न र कपडालगायत अन्य आवश्यक सामग्री उपलब्ध गराइरहेका छन् । पीडितको सहयोगका लागि क्राउड फन्डिङबाट १ लाख ७० हजार बेलायती पाउन्ड संकलन गरिएको छ ।


लन्डनमा जन्मेकी बेलायती गायिका अडेल र उनका पति पनि बुधबार बेलुकी घटनास्थला पुगेर पीडितहरूलाई सान्त्वना दिएका थिए । अर्की बेलायती गायिका रिटा ओराले पनि टावरबाहिर आर्थिक सहयोग संकलनमा सघाएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.