ललितपुरका प्रजिअको निर्देशन : वेवसाइटमा सूचना अधिकारीको नाम र मोबाइल नम्बर राख्नू

ललितपुर : ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले सम्पूर्ण कार्यालयहरुलाई वेवसाइट तयार गरी तत्काल सूचना अधिकारी तोक्न निर्देशन दिएका छन्। ललिपुरका कार्यालय प्रमुखहरुलाई प्रजिअ उपाध्यायले यस्तो निर्देशन दिएका हुन्।
उनले असोज १ गतेबाट ललितपुर जिल्लाको प्रजिअको कार्यभार सम्हालेका हुन्। प्रजिअ उपाध्यायले सूचना उपलब्ध गराउन कन्जुस्याँइ नगर्न पनि कार्यालय प्रमुख र सूचना अधिकारीहरुलाई निर्देशन दिएका छन्। कार्यालयको वेवसाइट छैन भने तत्काल बनाउन समेत उनले निर्देशन दिए। प्रजिअ उपाध्यायले भने,‘वेवसाइट नभएका कार्यालयहरुलाई तत्काल वेवसाइट बनाएर सूचना अधिकारीको नाम, सम्पर्क नम्बर र ईमेल राख्नु।’
उनले सूचना प्रवाह सहज बनाउन पनि जोड दिए। ‘सूचना अधिकारीको मोबाइल नम्बर राखिदिनुहोस्। कार्यालयको नम्बर राखेर मात्र हुँदैन’ प्रजिअ उपाध्यायले भने ‘ल्याण्ड लाइनमा फोन नै आउँदैन। सर्वसाधारणको फोन मोबाइलमै आउँछ।’ उनले समयअनुसार सहज र अपडेट हुन आवश्यक भएको स्पष्ट पारे।
ललितपुरका ६ वटै स्थानीय तह र सरकारी कार्यालयबाट सूचना पाउन जटिल भइरहेको विषयमा पत्रकार महासंघ ललितपुरले कार्यक्रम गर्न पहल गरेको थियो। प्रत्येक महिना सूचना अधिकारीहरु र पत्रकारबीच छलफल गर्ने पनि उनले बताए।
प्रतिक्रिया दिनुहोस !
