काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा व्यवस्थापिका संसद्का बहुमत सदस्यको समर्थनमा प्रधानमन्त्री पदमा निर्वाचित हुनु भएको छ।मंगलबार व्यवस्थापिका संसदमा भएको निर्वाचन प्रक्रियामा देउवाको पक्षमा ३ सय ८८ मत परेको थियो भने विपक्षमा १ सय ७० मत परेको छ ।माओवादी केन्द्रको प्रमुख सहकार्यमा मधेस केन्द्रित दल र साना दलको सहमतिमा देउवा चौथो पटक प्रधानमन्त्री बन्न सफल हुनुभएकाे हाे । मंगलवार संसदमा भएको मतदानमा कुल खसेको ५ सय ५८ मतमध्ये देउवाको पक्षमा ३ सय ८८ मत परेको थियो । विपक्षमा १ सय ७० मात्र मत पर्‍यो । हाल कायम ५ सय ९३ सदस्य मध्ये देउवालाई प्रधानमन्त्री बन्न सामान्य बहुमत चाहिन्थ्यो । तर यसअघि कांग्रेस माओवादी गठबन्धनसँग नजिक रहेका सबै दलले देउवालाई प्रधानमन्त्रीमा मतदान गरे ।
कांग्रेस,माओवादी केन्द्र र मधेस केन्द्रित दलबीच संसद भवनमै तीन बुंदे सहमति भयो र राष्ट्रिय जनता पार्टी नेपालका सांसदहरुले देउवाका पक्षमा मतदान गर्नुभयो । यस्तै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक,नेकपा संयुक्त,समाजवादी जनता पार्टी, अखण्ड नेपाल पार्टी, खम्वुवान राष्ट्रिय मोर्चा र स्वतन्त्र सांसद चन्द्रेश्वर झाले पनि देउवालाई साथ दिनुभयो । प्रमुख विपक्षी एमालेका १ सय ८१ सांसद रहेपनि देउवाको विपक्षमा १ सय ७० मत मात्र खस्यो ।
कांग्रेस सभापति देउवा मंगलबार नेपालको ४० औँ प्रधानमन्त्री बन्नु भएको हो । देउवा व्यक्तिगत रुपमा भने चौथो पटक प्रधानमन्त्री बन्नु भएको हो ।यसअघि देउवा २०५२, २०५८ र २०६१ मा प्रधानमन्त्री बन्नु भएको थियो । देउवालाई प्रधानमन्त्रीको रुपमा व्यवस्थापिका संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गर्नु भएको थियो भने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायत साना दलका नेताले प्रस्तावको समर्थन गरेका थिए ।
को हुन शेरबहादुर देउवा?
शेर बहादुर देउवा वि.स‌. २००३ जेठ महिनामा डडेलधुरा जिल्लाको असीग्राम गाविस वडा नम्बर ५ मा जन्मिनु भएको हो। उहाँले प्राथमिक शिक्षा डडेलधुराकै असीग्राम प्राथमिक विद्यालय र निम्न माध्यमिक शिक्षा महेन्द्र मावि तथा माध्यमिक शिक्षा सीताराम मावि उच्चकोट डोटीबाट लिनु भएको थियो। उहाँ स्कुले जीवनबाट नै नेपाली कांग्रेसको राजनीतिलाई आफ्नो आदर्श बनाउन थालिसक्‍नु भएको थियो।
एलएसली दिएपछि देउवाले उच्च शिक्षाको लागि भारत नगइ वि.स‌‍. २०२१ सालमा काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना हुनुभयो। यसपछि उहाँ नेविसंघभित्र राजनीतिमा सक्रिय हुनुभयो। यसक्रममा उहाँ विभिन्‍न समयमा पटक पटक पक्राउ पर्नुभयो। निडर स्वभावका देउवाले विद्यार्थीको हकहितमा प्रध्‍यापकसँग झगडा समेत गर्न पछि पर्नु भएन्।
नेविसंघमा सक्रिय भएर काम गरिरहनु भएका देउवा विसं २०२८ सालमा पहिलो पटक नेपाल विद्यार्थी संघको सभापतिमा विजयी हुनुभयो। नेविसंघको नेतृत्वमा आएपछि उहाँले आफ्नो राजनीतिकलाई जन सशक्त रुपमा अगाडि बढाउनुभयो।
विद्यार्थी राजनीतिबाट आफूलाई अब्बल बनाउनु भएका देउवालाई बीपीले सुदूरपश्चिममा पार्टीको जिम्‍मेवारी दिएर खट्टाउनु भएको थियो।त्यतिबेला उहाँ भारतको बाटोबाट दार्चुला, बैतडी हुँदै डडेलधुरा पुग्‍नु भएको थियो।
जब वि‌‌.सं. २०४६ मा नेपाली कांग्रेसले देशमा पहिलो जनाअन्दोलन अगुवाइ गर्‍यो त्यतिबेला देउवा लन्डन स्कूल अफ इकोनोमिक्समा अध्‍ययन गरिरहनु भएको थियो। यसपछि २०४७ सालमा जनाअन्दोलन सफल भएपछि देउवा लण्डनबाट काठमाडौं ओर्लिनुभयो।
२०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बन्‍नुभयो। गृहमन्त्री बनेको पाँच वर्षभित्रै उहाँ मुलुकको प्रधानमन्त्री बन्‍नुभयो। राजनीतिको धेरै उतार चढाव खेप्‍नु भएका देउवाले कांग्रेसभित्रको बढ्दो सत्ता संघर्षमा उनले किशुनजी र गणेशमान सिंहको प्रत्यक्ष अप्रत्यक्ष साथ पाउनु भएको थियो। कोइरालाले अघि बढाएका देउवाले पार्टीको दशौ पोखरा महाधिवेशनमा कोइरालालाई नै नेतृत्वका लागि चुनौती दिनुभयो। २०५७ सालमा पोखरा महाधिवेशनमा देउवा कोइरालाकै विरुद्धमा सभापतिमा पदमा उम्‍मेदवारी दिनुभएको थियो तर हार व्‍यहोर्नुपर्‍यो।
त्‍यतिबेला देशमा माओवादी जनयुद्धले पक्कड जमाइ सकेको थियो। कांग्रेसमा राजा र सेनाको असहयोग पनि बढ्दै गउको थियो भने एमालेले ५७ दिनसम्मको संसद घेराउ गरेको थियो जसबाट बाध्य भएर पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले २०५८ असार राजिनामा दिनु भएको थियो।यसपछि फेरि कांग्रेसको नेतृत्व देउवाकै पक्षमा आयो र उहाँ पुन: कांग्रेस संसदीय दलको उम्मेदवार बन्‍नुभयो। सुशील कोइरालालाई हराएर नेता बन्‍नुभयो। संसदमा पार्टीको बहुमत भएकाले उहाँ दोस्रोपटक प्रधानमन्त्री बन्नुभयो।
राजनीतिक घटनासँगसँगै विंस‌ २०६१ साल माघ १९ गते ज्ञानेन्द्रले 'शाही कू' मार्फत देउवालाई दोस्रोपटक हटाइदिएर सत्ता आफ्नो हातमा लिए। त्‍यतिबेला गिरिजाप्रसाद कोइराला माओवादीलाई साथ लिएर ज्ञानेन्द्र विरुद्ध जनान्दोलनको तयारीमा हुनुहुनथ्यो। संसद पुनर्स्थापनापछि गिरिजाप्रसाद पुन: एक पटक नेपाली राजनीतिमा चर्चाको शिखरमा आउनुभयो। यसपछि देउवा कोइरालासँग पार्टी एकीकरण गरेर मूल पार्टीमै फर्किनुभयो।
नेपाली कांग्रेसको राजनीतिमा पाँच दशकपछि र सत्तरी वर्षको उमेरमा वि‌.सं. २०७२ सालको तेह्रौँ महाधिवेशनमा पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा नेपाली कांग्रेसको पार्टी सभापतिमा विजय हुनुभयो।
तस्बिरहरु: अशोक दुलाल