विराटनगर: मोबाइल चोरीको आरोपमा अघिल्लो दिन कुटपिट गरिएका एकजना युवा मोरङको केराबारीमा शुक्रबार दिउँसो मृत फेला परेका छन्। सुनसरीको धरान उपमहानगरपालिका–६ पानमारा घर भएका २० वर्षीय अनिष कटुवाल मोरङको केराबारी गाउँपालिका–६ मुगुस्थित एउटा घरमा मृत फेला परेका हुन् ।
प्रदेश १ प्रहरी प्रमुख डीआइजी अरुणकुमार बीसीका अनुसार अनिष र उनका साथी पानमाराकै २० वर्षीय विशाल विश्वकर्मालाई केही युवाहरुले बिहीबार दिउँसो कुटपिट गरेको खुलेको छ । मोबाइल चोरी गरेको आरोप लगाउँदै ४–५ जनाको संख्यामा रहेका युवाहरुले केराबारी–६ मुगु पुलनजिक अनिष र विशाललाई दिउँसो ४ बजेतिर कुटपिट गरेको पाइएको बीसीले बताए ।
उनका अनुसार कुटपिटमा धरानकै युवाहरुको संलग्नता देखिएको छ । कुटपिटपछि उनीहरुले विशाललाई मोटरसाइकलमा राखेर लगेको र अनिषलाई भने घटनास्थलमै छाडेको पाइएको प्रहरीले जनाएको छ ।
युवाहरुले मुक्का, लात्ता र दाउराले कुटपिट गर्दै मोटरसाइकलमा लगेपछि विशालले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनलाई उद्धार गरेर पानमारा पुर्यायो । त्यसपछि चोरी भएको भनिएको मोबाइलको १७ हजार रूपैयाँ तिरिदिने कवुल विशालले गरे ।
साथमा भएको ४ हजार रूपैयाँ दिएर उनी घर फर्किए । बाँकी १३ हजार भने १५ दिनभित्र तिर्ने सर्त राख्दै विशाललाई धरान–६ कै विकास कटुवालको जिम्मा लगाएर प्रहरीले पठाएको थियो । विकास मृत फेला परेका अनिषका काका हुन् । अनिष र विशाल विकासले सञ्चालन गरेको टिपरमा काम गर्दै आएका युवाहरु रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाटोमा टिपर पर्खिएर बसिरहेका बेला दुवै जनामाथि युवाको एउटा समूह आएर कुटपिट गरेको खुलेको छ ।
कोही कसैको पनि मोबाइल चोरी नगरेको र पुनः आक्रमणमा पर्नसक्ने भयका कारण आफू मोबाइलको पैसा तिरिदिने अवस्थामा पुगेको विशालले प्रहरीलाई बताएका छन् । उनले बिहीबार आफूहरुमाथि कुटपिट गरिएको घटनाका बारेमा भने प्रहरीलाई जानकारी दिएका थिएनन् । कुटपिटपछि घटनास्थलमै छाडिएका अनिष केराबारी–६ मुगुका खेम लिम्बूको घरमा मृत भेटिएपछि विशालले कुटपिटको कुरा सार्वजनिक गरेको डीआईजी बीसीले बताए ।
उनका अनुसार नाक र मुखबाट रगत बगिरहेको अवस्थामा अनिषलाई मृत फेला पारिएको हो। ‘लिम्बूको घरमा पुगेर कोठाभित्र सुतेका अनिष दिउँसोसम्म पनि नउठेपछि प्रहरीलाई खबर आयो,'उनले भने,‘प्रहरी पुगेर ढोकाको चुक्कुल फुटाउँदा मृत्यु भएको अवस्थामा शव भेटियो।’ बीसीले घटनाको अनुसन्धानका लागि विशेष टोली परिचालन भइरहेको जानकारी दिए ।
उनका अनुसार अनिषको मृत्यु अघिल्लो दिन कुटपिट गरिएका कारण भएको हो वा मृत्यु को अरु नै कारण छ भन्ने बारेमा अनुसन्धानपछि मात्रै प्रष्ट हुन्छ । शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । कुटपिटमा संलग्नमध्येका एकजना युवालाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने र घटनाका बारेमा बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।