पोखरा : पोखराको लामाचौरमा शनिबारदेखि सुरु भएको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेश र न्यु डायमन्ड एकेडेमी काठमाडौंले विजयी सुरुआत गरेका छन्। तीज महोत्सवका अवसरमा नवआदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता भएको हो।
प्रतियोगिताको पहिलो खेलमा गण्डकी प्रदेशले पारामाउन्ट इङ्लिस बोर्डिङ स्कुल काठमाडौंलाई २५-१४, २५-११, २५-१५ को सोझो सेटमा पराजित गरेको छ। यसैगरी तेस्रो खेलमा न्यु डायमन्ड एकेडेमीले चितवन टाइगर्स क्लबलाई २५-१४, २५-२०, २५-१४ को सोझो सेटमा हरायो।
शनिबार हुने भनिएका प्रतियोगिताका अन्य खेल भने वर्षाका कारण स्थगित भए। गण्डकी प्रदेश र श्रीराम खेलकुद विकास समिति दाङबीचको खेलमा गण्डकी प्रदेशले लगातार दुई सेट जित्यो। तेस्रो सेटमा ठूलो वर्षा भएपछि खेल स्थगित भयो। आइतबार लिग चरणका चार खेल हुनेछन्।
प्रतियोगितामा साविक विजेता एपीएफ क्लबसहित नेपाल पुलिस क्लब, न्यु डायमन्ड एकेडेमी, चितवन टाइगर्स, जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र र गण्डकी प्रदेश गरी ६ टोलीको सहभागिता छ। राष्ट्रिय महिला भलिबल खेलाडी यति बेला नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)को बन्द प्रशिक्षणमा छन्। यसैले प्रतियोगितामा दोस्रो रोजाइका खेलाडीको सहभागिता छ।
प्रतियोगिताको विजेता टोलीले एक लाख एक सय ५५ रुपैयाँ, उपविजेता टोलीले ६५ हजार पाँच सय रुपैयाँ र तेस्रो हुनेले २५ हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।