गोपालनाथ योगी संघीय संसद्को कार्यवाहक महासचिव

काठमाडौं : मनोहरप्रसाद भट्टराईको पाँच वर्षे कार्यकाल समाप्तिसँगै संघीय संसद्मा गोपालनाथ योगी कार्यवाहक महासचिव नियुक्त भएका छन्।
आइतबार प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिनाको छलफलपछि योगी कार्यवाहक महासचिव नियुक्त भएका हुन्। योगी प्रतिनिधि सभाका सचिव हुन्। संसद् सचिवालयका चार सचिवमध्ये वरिष्ठताका आधारमा योगीलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो।
महासचिव पदमा संसद सचिवालय भित्र वा बाहिरबाट पनि राजनीतिक नियुक्ति गर्न सकिने कानुनी व्यवस्था छ। कानुन, प्रशासन, व्यवस्थापन, राजनीतिशास्त्र, अर्थशास्त्र वा समाजशास्त्रमा स्नातकोत्तर गरेको र ४५ वर्ष उमेर पुगेको नेपाली नागरिक महासचिव बन्न सक्ने संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्वन्धी ऐनमा व्यवस्था छ।
विगतमा सुवास नेम्वाङ्ग संविधानसभा अध्यक्ष एवं प्रतिनिधिसभा सभामुख भएको बेला नेम्वाङ्गको एकल सिफारिसमा भट्टराई दुई कार्यकाल महासचिव बनेका थिए। तर हाल सभामुख र राष्ट्रियसभा अध्यक्ष दुवैको सिफारिस चाहिने कानुनी व्यवस्था छ।
हाल नयाँ महासचिवको टुंगो नलागेका कारण ‘सिनियर’ सचिवलाई कार्यवहाकको जिम्मा दिइएको हो। भट्टराईले साढे दुई वर्ष कार्यवहाक र दुई कार्यकाल महासचिवको भूमिका निर्वाह गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
