जनकपुर: मधेस र पहाडबीच सामाजिक तथा सांस्कृतिक सद्भाव कायम गर्न विश्वास निर्माण कार्यक्रम आरम्भ भएको छ ।
'परिवर्तनको अभियान कार्यक्रम' अन्तर्गत विश्वास निर्माण कार्यक्रम जनकपुरबाट घोषणा गरिएको हो । उक्त कार्यक्रम पहाड र मधेसी समुदायबीच पछिल्लो समय देखिएका शंसय हटाइ आपसी सद्भाव र विश्वास कायम गर्न केन्द्रित हुनेछ ।
पहाड र मधेसका युवाहरुले आपसी समस्याबारे खुलेर संवाद गर्ने उद्देश्यका साथ युवाहरुलाई अभियानको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा युवाहरुले आफुमा आएको व्यक्तिगत परिवर्तनको अनुभव समेत सुनाएका थिए ।
प्रदेश २ का कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा मन्त्री यादवले सबै प्रकारका विभेद अन्त्य गर्न प्रदेश सरकार लागि परेको र अभियान आवश्यक रहेकोले यसलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बहुसांस्कृतिक र बहुभाषी समुदायबीच रहेको दूरी समाप्त गर्ने र सुरक्षित र शान्त वातावरण सृजना गर्ने यस कार्यक्रमको लक्ष्य रहेको अभियानका सदस्य कमल कंडेलले जानकारी दिए ।
'यस कार्यक्रमको लक्ष्य दशकौंदेखि अस्तित्वमा रहेका बहुसांस्कृतिक र बहुभाषी समुदायबीच रहेको दूरी समाप्त गर्नु हो । साथै आपसमा आफ्नो अनुभव र सरोकार सुनाउन सुरक्षित र शान्त वातावरण सृजना गरी आफ्नो कुरा सत्यतापूर्वक भन्ने र आदरपूर्वक वातावरण बनाउने कार्यक्रमको उद्देश्य हो,' अभियानका सदस्य कमल कंडेलले भने ।
व्यक्तिगत स्तरबाट सबै युवाहरुलाई यस अभियानमा लाग्नु र विभिन्न समुदायबीच दूरी घटाएर समाजिक पुलको निर्माण गर्न अभियानका अध्यक्ष केशव दाहालले आह्वान गरेका थिए । यसका लागि विभिन्न समुदाय र पृष्ठभुमिका व्यक्तिसँग सहकार्य गरी अगाडी बढ्ने अध्यक्ष दाहालको भनाइ छ ।
लामो समय नेपालले भोगेको द्वन्द्वका असर र केन्द्रिकृत शासन प्रणालीले स्थापित गरेका मान्यता हटाएर सामाजिक सहअस्तित्वमुलक समाज निर्माण गर्नु आजको आवस्यकता रहेको अभियानका युवाहरुले औंल्याएका थिए ।