काठमाडौं : विद्युत् प्राधिकरण र मेवा डेभलपर्स प्रालिबीच ४९ मेगावाटको मध्य मेवा जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ। मध्य मेवाले प्राधिकरणको प्रणालीमा विद्युत्को उच्चतम माग भएका बेला (पिक) दैनिक ६ घण्टा विद्युत् ऊर्जा उत्पादन गर्नेछ।
पीपीएमा प्राधिकरणका तर्पmबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र मेवा डेभलपर्सका तर्पmबाट प्रवद्र्धक तथा ऊर्जाविद् भानु पोखरेलले हस्ताक्षर गरेका छन्। विद्युत् विकास विभागले सर्वेक्षण अनुमतिपत्र जारी गरेको २० महिनाभित्र यो आयोजनाको पीपीए भएको हो। ताप्लेजुङमा पर्ने यो आयोजनाबाट उत्पादित बिजुली त्यहाँको ढुंगेसाँघु सवस्टेसनमार्पmत कोसी कोरिडरमा जोडिनेछ। प्राधिकरणको कोसी कोरिडर प्रसारण लाइन (२२० केभी) को निर्माण कार्य तीव्र पारेको छ।
सम्झौताअनुसार मेवाको बिजुली ६ घण्टासम्मको सुक्खायामको पिकका लागि प्रतियुनिट १० रुपैयाँ ५५ पैसा, सुक्खायामकै सामान्य समय (अफ पिक) का लागि प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा खरिद गर्नेछ। मध्य मेवाले सुक्खायाममा नौ करोड ३० लाख युनिट र वर्षायाममा १९ करोड ७८ लाख युनिट बिजुली उत्पादन गर्नेछ। मध्य मेवाको पीपीए टेक अर पे (उत्पादित बिजुलीको भुक्तानी निश्चित गरिएको) मा भएको हो।
मेवा डेभलपर्स ऊर्जा डेभलपर्सको ग्रुप कम्पनी हो। ऊर्जा डेभलपर्स प्रतिष्ठित व्यापारिक समूह सीई ग्रुपका अध्यक्ष विजयबहादुर राजभण्डारी, प्रवद्र्धक तथा ऊर्जाविद् भानु पोखरेल र ऊर्जा नीति विज्ञ मोहनदास मानन्धरको रणनीतिक साझेदारीमा स्थापित कम्पनी भएको यसका अध्यक्ष राजभण्डारीले बताए। मेवा डेभलपर्स ऊर्जा डेभलपर्सको सहायक कम्पनी हो। सीईका संस्थापक अध्यक्ष तथा प्रबन्ध निर्देशक राजभण्डारी ऊर्जा डेभलपर्सका पनि अध्यक्ष हुन्।
एक वर्षभित्र मुख्य संरचना निर्माण सुरु गरी साढे चार वर्षभित्र आयोजना सम्पन्न हुनेछ। हाल यो आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन भइरहेको छ। विजयबहादुर राजभण्डारी, अध्यक्ष, सीई ग्रुप।
अध्यक्ष राजभण्डारीका अनुसार एक वर्षभित्र मुख्य संरचना निर्माण सुरु गरी साढे चार वर्षभित्र आयोजना सम्पन्न हुनेछ। हाल यो आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन भइरहेको छ।
जलस्रोतको दिगो विकास गरी उल्लेखनीय योगदान गर्ने उद्देश्यले स्थापित ऊर्जा डेभलपर्स समूहको ग्रुप कम्पनी मेवा डेभलपर्स हो। ऊर्जा समूह अन्तर्गत दुई सय २० मेगावाटभन्दा बढीका ६ वटा जलविद्युत् आयोजना निर्माणको विभिन्न चरणमा रहेको जानकारी राजभण्डारीले दिए। ऊर्जा डेभपलपर्सले अघि बढाएका आयोजनामा एक सय ११ मेगावाटका दूधकोसी-९, निर्माण कार्य सुरु भइसकेको इलामस्थित साढे नौ मेगावाटको माइबेनीलगायत छन्। ‘दूधकोसी-९ को विस्तृत अध्ययन भइरहेको छ’, राजभण्डारीले अन्नपूर्णसित भने, ‘अहिले पीपीए भएको मध्य मेवा निजी क्षेत्रबाट निर्माण भएको दोस्रो ठूलो पिकिङ इनर्जी भएको सबैभन्दा ठूलो आयोजना हो।’
राजभण्डारीका अनुसार ऊर्जा डेभलपर्समा सीई ग्रूपले अढाइ दशकदेखि हासिल गरेको दक्षतालाई उपयोग गरी जलविद्युत् क्षेत्रमा न्यूनतम समय, प्रतिस्पर्धी लागत र उच्च गुणस्तरयुक्त तवरले जलविद्युत् आयोजना निर्माण गरी उदाहरणीय कार्य गर्ने लक्ष्य छ। सीई कन्स्ट्रक्सन सिभिल, हाइड्रो-मेकानिकल, निर्माण व्यवस्थापन र वित्तीय व्यवस्थापन गर्न सक्ने दक्षता र आर्थिक क्षमतायुक्त प्रतिष्ठित निजी व्यावसायिक प्रतिष्ठान हो। ‘सीई कन्स्ट्रक्सनको रणनीतिक उद्यमका रूपमा जलविद्युत् आयोजना निर्माण गर्दै जानेछौं’, राजभण्डारीले भने। यो समूहमा जापानको प्रतिष्ठित कम्पनी तोसिबासमेत प्रविधि साझेदार छ। इलेक्ट्रो-मेकानिकल का उपकरणको पछिल्लो प्रविधि उपयोग गर्न जापानको तोसिबा टीपीएससीसँग प्राविधिक साझेदारी गरिएको राजभण्डारीले बताए।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार मध्य मेवासहित प्राधिकरणले हालसम्म सात सय २१ मेगावाटको पिकिङ (अर्धजलाशययुक्त) पीपीए गरेको छ। यसमध्ये चिलिमे (२२.१ मेगावाट) सञ्चालनमा छ। माथिल्लो साञ्जेन (१४.८ मेगावाट), सान्जेन (४२.५ मेगावाट), माथिल्लो तामाकोसी (४५६ मेगावाट), काबेली ए (३७.६ मेगावाट), लाप्चे खोला (९९.४ मेगावाट) निर्माणाधीन छन्। प्राधिकरणले दुई हजार मेगावाटसम्म पिकिङ पीपीए कोटा तय गरेको छ।