काठमाडौँ : नेपाल-भारत मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल बराबरीमा सकिएको छ। दशरथ रंगशालामा बिहीबार साँझ भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो।
खेलको ३६ औँ मिनेटमा नेपालका लागि अञ्जन विष्टले १ गोल गरेका थिए । यस्तै दोस्रो हाफमा भारतका लागि अनिरुध थापाले ६० औं मिनेटमा १ गोल गरेको थिए।
नेपालले पहिलो हाफमा अग्रता लिएको थियो। सो अग्रतालाई दोस्रो हाफमा कायमै राख्न नसक्दा बराबरी खेल्नु परेको हो। नेपाल पहिलो हाफमा १–० गोलले अगाडि रहेको थियो। नेपालका लागि खेलको ३६औं मिनेटमा अञ्जन विष्टले गोल गरेका हुन्। पहिलो हाफमा भारतीय टोलीले पनि गोलको प्रयास गरे पनि सफल भने हुन सकेन।
नेपालले दोस्रो हाफमा पनि गोलको प्रयास गरेको थियो। भारतीय गोलकिपर गुरप्रितसिंह सान्धुले नेपाली टोलीको प्रयास विफल पारिदिए। मध्यान्तरपछिको खेलमा भारतले नेपालविरुद्ध गोल गर्न सफल भयो। खेलको ६०औँ मिनेटमा भारतका लागि अनिरुद्ध थापाले गोल गरेका थिए।
गोलकिपर किरणकुमार चेम्जोङले उनको प्रहार रोक्न सकेनन्। आजको खेलसँगै नेपाली गोलकिपर चेम्जोङले नेपालको तर्फबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका विराज महर्जनसित बराबरी गरेका छन्। महर्जनले नेपाली टोलीबाट सन्यास लिइसकेका छन्। महर्जन र चेम्जोङ नेपाली टोलीबाट समान ७३ खेल खेलेका छन्। नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार दशरथ रङ्गशालामा हुनेछ।
नेपाल र भारबीच आजसहित फुटबलमा २० पटक भिडन्त भएको छ। भारत १३ पटक विजयी भएको छ भने नेपालले दुई चोटी मात्र जित निकाल्न सकेको छ। पाँच खेलमा दुवै टोलीले बराबरी खेलेका छन्। विश्व फुटबल महासङ्घको (फिफा) वरियतानुसार भारत १०५ औँ स्थानमा छ भने नेपाल १६८ स्थानमा रहेको छ ।