काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध साइबर क्राइम गरेको अभियोगसहित सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दर्ता भएको छ।
उनले गत सोमबार रेडियो नेपाललाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री केपी ओलीलाई ‘भष्मासुर’ भनेर सामाजिक प्रतिष्ठा र इज्जतमा धक्का पुर्याएको दाबीसहित जाहेरी दर्ता भएको हो।
महानगरीय प्रहरी परिसरले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि जिल्ला सरकारी वकिलकहाँ जाहेरी दर्ता भएको हो। भट्टराईले सरकारी सञ्चारमाध्यम रेडियो नेपाललाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओली लक्षित टिप्पणी ‘भष्मासुर प्रवृत्ति अन्त्य गरौं ‘भन्दै बेइज्जत गरेको दाबी जाहेरीमा छ।
यसैबीच, पूर्वमन्त्री महेश बस्नेत, नेकपा सांसद कृष्णकुमार श्रेष्ठ (किसान) र निवर्तमान आइजीपी सर्वेन्द्र खनालविरुद्ध सांसद डा. सुरेन्द्र यादवले अपहरण तथा शरीर बन्धकको जाहेरी परेको छ। उक्त जाहेरी पनि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा सोमबारै दर्ता भएको हो।
समाजवादी पार्टीका सांसद यादवले तीनै जनाको मिलेमतोमा आफुलाई महोत्तरीबाट बन्धक बनाएर काठमाडौं ल्याइएको जाहेरीमा दाबी गरेका थिए। अपहरण तथा शरीर बन्धकको विषयमा छानबिन गरी दोषीमाथि कारबाही गर्न यादवले माग गरेका छन्। गत वैशाख १० गते सत्ता र शक्तिको आडमा आफूलाई अपहरण गरिएको दाबीसहित यादवले उजुरीसँगै एउटा भिडियो पनि पेस गरेका छन्।
सोमबार नै पूर्वमन्त्री बस्नेत, सांसद श्रेष्ठ र निवर्तमान आइजीपी खनालले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन्। सांसद यादवले आफूविरुद्ध कपोलकल्पित र भ्रामक आरोप लगाएका कारण पदीय गरिमा र मर्यादामा खलल पुगेको भन्दै उनीहरूले आयोगमा उजुरी दिएका हुन्। यादवका कारण सामाजिक सञ्जाल र सञ्चारमाध्यममा झुटा आरोप प्रसारित हुँदा सम्मानपूर्व बाँच्न पाउने आफूहरूको अधिकारमा गम्भीर आघात पुगेको उनीहरूको दाबी छ।