काठमाडौं : मनोहरप्रसाद भट्टराईको पाँचवर्षे कार्यकाल समाप्तिसँगै आइतबार संघीय संसद्मा महासचिव पद रिक्त हुँदै छ। भट्टराईले साढे दुई वर्ष कार्यवाहक, दुई कार्यकाल महासचिव भएर काम गरेका हुन्।
नयाँ महासचिवको टुंगो नलागेका कारण वरिष्ठ सचिवलाई कार्यवाहकको जिम्मा दिएर कामकारबाही अघि बढाउने तयारी रहेको संसद् सचिवालय स्रोतले बताएको छ। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवास नेम्बाङसमेतको छलफलबाट महासचिवको टुंगो लाग्ने नेताहरू बताउँछन्।
नेम्बाङ संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभा सभामुख भएका बेला उनको एकल सिफारिसमा भट्टराई दुई कार्यकाल महासचिव बनेका हुन्। हाल सभामुख र राष्ट्रियसभाका अध्यक्ष दुवै जनाको सिफारिस चाहिने कानुनी व्यवस्था छ। सत्तासीन नेकपाको नेतृत्वमै भावी महासचिवबारे सहमति जुट्नुपर्ने अवस्था रहेको सचिवालयका अधिकारी बताउँछन्। सभामुख अग्नि सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाबीच छलफल भए पनि टुंगो नलागेको स्रोतले बतायो।
संसद्मा रहेका चार जना सचिवबाट महासचिव बनाउन सकिन्छ। यद्यपि, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी र राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलको उमेर नपुग्ने भएकाले भरतराज गौतम र ध्रुव घिमिरे महासचिवका दाबेदार देखिएका छन्। यीबाहेक बाहिरबाट पनि ल्याउन सकिने कानुनी व्यवस्था छ। विगतमा मुख्य सचिवबाट अवकाशपछि पनि संसद्को महासचिव बनाउने चलन थियो। कानुन संशोधन गरेर महासचिवको उमेर हद ५८ वर्ष कायम गरिएका कारण पूर्वसचिव वा मुख्य सचिवलाई बनाउने अवस्था देखिँदैन।
महासचिव पदमा सचिवालयभित्र वा बाहिरबाट राजनीतिक नियुक्ति गर्न सकिने कानुनी व्यवस्था छ। कानुन, प्रशासन, व्यवस्थापन, राजनीतिशास्त्र, अर्थशास्त्र वा समाजशास्त्रमा स्नातकोत्तर गरेको, ४५ वर्ष उमेर पुगेको नेपाली नागरिक महासचिव बन्न सक्छन्। संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रियसभाका सचिवको पारि श्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी व्यवस्था ऐनमा छ।