राजविराज : जिल्ला न्यायाधीशसहित सप्तरी जिल्ला अदालतका चारजना र विद्युत प्राधिकरणका ३ जना कर्मचारीमा आइतबार कोरोनाको संक्रमण देखिएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा आइतबार गरिएको परीक्षणअनुसार जिल्ला अदालतका ५२, ३४, २५ वर्षीय र उमेर नखुलेका गरी चार जनामा कोरोना पोजिटिभ देखिएको हो ।
जिल्ला अदालतका पाँचजनाले पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा न्यायाधीश, न्यायाधीशका सुरक्षा गार्ड र दुईजना कर्मचारी संक्रमित भएको अदालतले जानकारी दिएको छ । अदालतमा कार्यरत अन्य कर्मचारीमा समेत ज्वरो र रुघाखोकी देखिएको छ ।
यसैगरी आइतबार नेपाल विद्युत प्राधिकरणमा कार्यरत तीनजना पुरुष कर्मचारी र ३३ वर्षीय प्रहरी समेत संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजविराज नगरपालिका–२ का २२ वर्षीय पुरुष र १४ वर्षीया महिला, राजविराज ४ का ७० वर्षीय पुरुष, राजविराज– ७ का २७ वर्षीय र राजविराजको वडा नखुलेका ३५ वर्षीया महिला संक्रमित भएका छन् ।
तिलाठी कोइलाडी–१ का १७ वर्षीय, वडा नम्बर–२ का २८ वर्षीय, वडा नम्बर ६ का ६४ वर्षीय, वडा नम्बर ७ का २९ वर्षीय पुरुष र वडा नम्बर–३ की २७ वर्षीया महिला समेत आइतबार संक्रमित भएका छन् । संक्रमितहरुको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार पुष्टि गर्ने तयारी गरेको छ ।
यसअघि शनिबार सप्तरीका १० महिलासहित २८ जना संक्रमित हुनेमा तिरहुत गाउँपालिका तथा राजविराज र बोदे बरसाईन नगरपालिकाका हुन् । उनीहरुमध्ये तिरहुत गाउँपालिका– २ मा सात महिला र आठ पुरुष तथा वडा नम्बर– १ मा एक जना पुरुष गरी १६ जना थपिएका हुन् ।
अन्यमा राजविराज नगरपालिका– ३ का एक जना पुरुष, वडा नम्बर–४ का दुई महिला र एक जना पुरुष, वडा नम्वर– ५ का एक पुरुष, वडा नम्वर– ८ का एक महिला र तीन जना पुरुषमा संक्रमण देखिएको हो ।
यसैगरी, बोदे बरसाईन नगरपालिकामा– ६ का दुई जना र वडा नम्वर– ८ का एक जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए । सप्तरीमा आइतबारसम्म संक्रमितको संख्या ९१६ पुगेको छ । जसमा १४४ महिला छन् । संक्रमितमध्ये हालसम्म ९५ महिला र ५६९ पुरुष गरी ६६४ जना निको भएर घर फर्किएका छन् । एक महिलासहित आठ संक्रमितको मृत्यु भएको छ । सप्तरीमा हाल २४४ जना सक्रिय संक्रमित रहेका छन् ।