प्रकाश उपाध्याय/जुम्ला : सदरमुकाम खलंगामा विगत एक महिनादेखि विद्युत् तहुँदा अँध्यारोमा छ। पटक–पटक विद्युत् आपूर्तिको माग गर्दा पनि सम्बोधन नभएपछि जुम्ली युवाहरु आन्दोलनमा उत्रिएका छन्।
वर्षौंदेखि झरो (देवदेयारको काठबाट बनेको दियालो) को भरमा घर उज्यालो बनाउँदै आएका स्थानीयले विद्युत् उपभोग गर्न नपाएको भन्दै आन्दोलन गरेका हुन्।
शुक्ररबार स्थानीय युवाहरुले हातमा झरो सल्काई सदरमुकाममा राँके जुलुश नै निकाले, तीन वर्षदेखि दैनिक १८ घण्टासम्मको लोडसेडिङ हुँदै आएको खलंगामा एक महिनादेखि पूर्ण रुपमा विद्युत् बन्द छ। पावर हाउस निर्माणका लागि आएको भारतीय ठेकेदार भागेपछि खलंगा अँध्यारोमा छ। विद्युत आपूर्तिका लागि प्रशासन गम्भीर नभएको भन्दै युवाहरुले झरो बाल्दै जुलुश निकालेका हुन्।
‘लामो समयसम्म विद्युत् बन्द हुँदा पनि सरोकारवाला निकाय मौन छन्’ चन्दननाथ–५ का स्थानीय युवा गोविन्द सुनारले भने, ‘स्मार्ट सीटीको अवधारणा लिएकार नगरपालिका सँधै अँध्यारोमा छ, न जनप्रतिनिधि जिम्मेवार बने न प्रशासन नै।’ उनले विद्युत्को विषयबाट सुरु भएको आन्दोलन अन्य अनैतिक कार्यका विरुद्ध पनि गरिने बताए। ‘आर्थिक हैसियत हुनेले त जनेरेटरको प्रयोग गरेका छन्। तर गरिबका घर सँधै अँध्यारोमा हुँदा नेतृत्वमा बसेकाहरु जिम्मेवार हुनुपर्दैन ? ’ उनले प्रश्न गरे।
विद्युत् नभएकै कारण सरकारी कार्यालयमा आउने सेवाग्राही कार्यालयबाट सेवा नपाएरै फर्किने गरेका छन्। ‘एक दशकदेखि खलंगामा विद्युत् आपूर्ति सहज छैन। दैनिक २० घण्टासम्म पनि लोडसेडिङ झेल्नुपर्‍यो’ चन्दननाथ–१० का प्रकाशचन्द्र देवकोटाले भने, ‘नगरपालिका र विद्युत्बीचमा के कुराको विवादले विद्युत् आपूर्ति बन्द भएको हो जानकारी दिनुपर्छ। अति भएपछि दवावमुलक झरो बाल्दै जुलुशमा उत्रिएका हौं।’
हरिस रोकायाले ४० वर्षपहिले निर्माण भएको विद्युत् अहिलेसम्म स्रोन्नती नहुनुले स्मार्ट सीटिको खिल्ली उडाएको बताए। विद्युत् नहुँदा कम्प्यूटरबाट सेवा प्रवाह हुने कार्यालयमा आउने सेवाग्राहीले सास्ती भोग्नुपरेको उनको भनाइ छ। महिनौंसम्म अँध्यारोमुनि जनतालाई बस्न बाध्य बनाउने विद्युत् उपभोक्ता समितिलाई प्रशासनले कारबाही गर्नुपर्ने युवाले माग गरेका छन्।