कोभिड–१९महामारीले मुलुकका सबै क्षेत्र, वर्ग र समुदायलाई असर पारेको छ। कुल जनसंख्याको ४० प्रतिशत रहेका युवाले महामारीकै कारणले दैनिक जीवनमा पनि थुप्रै समस्या, चुनौती र बाधा भोगिरहेका छन्। महामारीको सुरुवात्सँगै स्वदेश र विदेशमा रहेका लाखौं रोजगार युवा यतिबेला बेरोजगार भएका छन्। लाखांै विद्यार्थी विद्यालय वा क्याम्पस गई शिक्षा लिनबाट वञ्चित छन्। सामाजिक क्रियाकलापबाट पनि टाढा हुनु पर्दा युवाले गर्ने सामाजिक योगदानमा पनि कमी आएको छ। युवामा परेको कोभिडको प्रभाव घटाउँदै उनीहरूलाई उत्पादनशील र नेतृत्वदायी भूमिकामा स्थापित गराउनसके महामारीको दीर्घकालीन क्षति कम गर्दै लैजान सकिन्छ।
महामारीले तहस–नहस भएका विविध क्षेत्रसँगै युवाको पनि पुनस्र्थापनालाई संवेदनशील रूपमा लिइएन भने यसले समाजमा ठूलो संकटको सिर्जना गर्ने छ। नीति निर्माणमा युवा सहभागीता उत्साहजनक छैन। कागज र दस्ताबेजमा हामीले धेरैथोक गरेका छौं। तर व्यवहारमा युवामैत्री, समावेशी चरित्रको निर्माण गर्न नसकेको तितो यथार्थ हो। यही कारण युवा विकासको मूलप्रवाहमा जोडिन सकेका छैनन्। कुनै पनि मुलुक महामारीविरुद्धको प्रतिकारमा कसरी लागेको छ भन्ने युवा परिचालनको शैलीले निर्धारण गर्छ।
कोभिड–१९ प्रतिकार्यका सन्दर्भमा युवा सहभागीता अहं विषय हो। यस महामारीले सिर्जित समस्या समाधानका नीति युवाकेन्द्रित तथा युवामैत्री हुन सकेन भने अपेक्षित उपलब्धि हासिल गर्न सम्भव छैन। प्रतिकार्यमा कुनै न कुनै रूपमा युवा संलग्न छन्। तर उनीहरूको सहभागितालाई व्यवस्थित र थप संरचनागत तथा नीतिगत रूपमै प्रभावकारी बनाउन आवश्यक छ।
एकातिर प्रतिकार्यमा युवाको सहभागिता सुनिश्चित हुनुपर्छ भने अर्कातिर त्यस्ता प्रतिकार्य पहल युवाकेन्द्रित हुनुपर्छ। युवालक्षित प्रतिकार्यका सन्दर्भमा छलफल र बहस नै भएको देखिंँदैन । पहुँचयुक्त तथा युवाकेन्द्रित प्रतिकार्य हुन सकेन भने महामारी त नियन्त्रण होला तर महामारीको दीर्घकालीन प्रभाव भने न्यून हुने छैन। यी कुराको हेक्का राखेको पाइँदैन। प्रतिकार्यका क्रममा केही मूलभूत पक्षमा ध्यान दिइएन भने त्यो प्रभावकारी हुँदैन। तीन तहकै सरकार पनि यसतर्फ गम्भीर भएको पाइँदैन। तसर्थ युवाकेन्द्रित समावेशी र पहुँचयुक्त कोभिड–१९प्रतिकार्यका निम्न कुरामा ध्यान दिनुपर्ने हुन्छ।
मानसिक स्वास्थ्य
प्रतिकार्य योजना तथा कार्यान्वयनका क्रममा सबैभन्दा बढी ध्यान दिनुपर्ने क्षेत्र मानसिक स्वास्थ्य देखिएको छ। रोगको संक्रमण र त्यसले स्वास्थ्यमा पारेको प्रभावभन्दा मनोसामाजिक असरले धेरैलाई समस्यामा पारेको छ। रोगजारी गुमाएका, शिक्षाबाट वञ्चित भएका आदि कारणले युवामा निराशा छ। यसले उनीहरूको मानसिक स्वास्थ्यमा थप समस्या सिर्जना गरेको छ। बढ्दो आत्महत्या जस्तो गम्भीर घटना र बिभिन्न तथ्यांकहरूले यसलाई पुष्टि गरेका छन्। झन् सामाजिक रूपमा गरिएको हेययुक्त व्यवहारले संक्रमितलाई थप समस्यामा परेको छ।
यस कारण मानसिक स्वास्थ्यको पक्ष धेरै नै महत्वपूर्ण छ। स्वास्थ्य पूर्बाधार र सेवाको विकास त आफैमा महत्वपूर्ण छँदैछ, तर त्यससँगै महामारीका कारण युवामा परेको मनोसामाजिक प्रभाव न्यूनीकरण गर्न परामर्श कार्यक्रम सञ्चालन गर्नुपर्छ। स्वास्थ्य संस्थाको स्तर अथवा पालिका–स्तरमा परामर्शकर्ता राखेर मानसिक स्वास्थ्यमा परेको वा पर्नसक्ने असर कम गर्न सकिन्छ। यस्तो कामका लागि तीन तहकै सरकार तथा संघ–संस्थाबीच समन्वय हुन आवश्यक छ।
अबको शिक्षा
महामारी सुरु भएदेखि नै बन्द रहेका शैक्षिक संस्था केही समययता खुल्न थाले पनि जोखिम कम भएको छैन। शैक्षिक संस्था फेरि बन्द गर्नुपर्ने अवस्था छ। चालु शैक्षिक सत्र सम्पूर्ण रूपमा प्रभावित भएको छ। शैक्षिक संस्थाहरूले इन्टरनेट जस्ता विकल्प प्रयोग गरेर कक्षा तथा परीक्षा लिइरहेका छन्। इन्टरनेटको सहज पहुँच सबै ठाउँमा नभएकाले अनलाइन प्रभावकारी देखिएको छैन। यसको अलावा निजी क्षेत्रलाई आफ्नो लगानी के हुने भन्ने चिन्ता छ भने तमाम विद्यार्थी भविष्यबारे चिन्तित छन्।
सहरका विद्यार्थीले अनलाइन कक्षामार्फत तुलनात्मक रूपमा बढी लाभ लिएका छन्। तर दुर्गमका विद्यार्थी, अल्पसंख्यक, अपांगता भएका व्यक्ति र सीमान्तकृत समूह आदिलाई समेट्ने गरी कार्ययोजना र कार्यान्वयन गर्न जरुरी छ। अपांगता भएका युवाको शिक्षामा पहुँचका लागि पहुँचयुक्त माध्यमबाट जस्तैः सांकेतिक भाषा, ब्रेललिपि, क्लोज क्याप्सनिङ्, सजिलै बुझ्न सकिने भाषामा कक्षा सञ्चालन गर्नुपर्ने छ। निश्चित तह पार गरेका युवा विद्यार्थीलाई लक्षित गरेर सीपमूलक शैक्षिक प्याकेज सञ्चालन गर्न सकिन्छ। शिक्षाको रणनीतिक योजना निर्माण गरेर शैक्षिक बेरोजगारलाई पनि आत्मनिर्भरताको बाटोमा अगाडि लैजानुपर्ने हुन्छ। शैक्षिक संस्था बाहिरको शिक्षालाई पनि व्यवस्थित गरी पाठक्रम निर्माण र मूल्यांकन विधिको निर्माण गरी अघि बढ्नुपर्ने आजको आवश्यकता छ।
आर्थिक अवसर
महामारीको कारण व्यक्ति र राज्य दुवैमा ठूलोे आर्थिक क्षति परेको छ। आर्थिक अवसरहरू यति संकुचित भएका छन् कि यसको क्षतिपूर्तिमा वर्षौं लाग्ने देखिन्छ। मुलुकको आर्थिक वृद्धिदरमा कमी आएको छ। महामारीको भयले भारत तथा विभिन्न मुलुकबाट स्वदेश फर्केका युवा जोखिम मोलेरै फेरि फर्किन थालेका छन्। यसको प्रमुख कारण स्वदेशमा जीविकाको अवसर नहुनु हो। तसर्थ विदेशबाट फर्किएका युवा तथा देशभित्रकै बेरोजगार युवाको तथ्यांक अध्यावधिक गरी उनीहरूको सीप पत्ता लगाउँदै आयआर्जन हुने खालका तालिम प्रदान गर्न आवश्यक छ। यसका लागि वित्तीय संस्थाले व्यवसाय सञ्चालन गर्न सस्तो दरमा बिना धितो ऋण दिन राज्यले प्रेरित गर्नुपर्छ। साथै तीनै तहको सरकार र निजी तथा वित्तीय संस्थाले सञ्चालन गरेका विविध योजना, ऋण, कोष तथा अनुदानसम्बन्धी योजना र कार्यक्रमलाई एकीकृत गरी समुदायमा लैजानुपर्छ। निजीक्षेत्रसँग समन्वय गरी युवालक्षित नवीनतम तथा समावेशी रोजगारीका अवसर सिर्जना गर्ने राज्यले प्रेरित गर्नुपर्छ।
समता, समानता र अहिंसा
लकडाउन तथा अधिकांश समयघरमै बस्नुपर्दा घरेलु तथा लैंगिक हिंसाका घटना बढेको छ। हिंसाबाट प्रभावित भएका व्यक्ति र पीडक सँगै बस्नुपर्दा थप समस्या सिर्जना भएको छ। त्यसकारण यो विषयलाई पनि प्रतिकार्यको योजनामा समावेश गर्नुपर्छ।
स्वास्थ्य, शिक्षा, आर्थिक आदि जस्ता क्षेत्रमा नीति–निर्माण तथा व्यावहारिक अभ्यासका सिलसिलामा सबै वर्ग, लिंग, क्षेत्र तथा भूगोलप्रतिको समानतालाई ख्याल गर्नुपर्ने हुन्छ। सेवा, सहुलियतमा सबै वर्गको पहुँच नपुर्याइनु पनि एक प्रकारको हिंसा नै हो। साथै सामाजिक सञ्जालसहित उपयुक्त थप्रै माध्यमबाट घरेलु तथा लैंगिंक हिंसाका घटनाको उजुरी गर्ने निकाय, हेल्पलाइन नम्बर, अल्पकालीन तथा दीर्घकालीन आश्रयस्थल, मनोसामाजिक परामर्श, कानुनी प्रावधान आदिको बारेमा सचेत गर्न व्यापक प्रचारप्रसार गर्नुपर्छ। साइबर वा इन्टरनेटको माध्यमबाट हुने हिंसा, घृणास्पद अभिव्यक्ति जस्ता घटना न्यूनीकरण गर्न नागरिक समाज साथै राज्यका निकायहरूले कार्यक्रम सञ्चालन गर्नुपर्छ। लैंगिक हिंसा अन्त्यका लागि बनेका नीतिनियमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, घटना बदमासी तथा लुकाउने, घटनाहरूलाई अतिरन्जित गर्ने, मिथ्या सूचना, दुष्प्रचार र गोपनीयताको भंग गर्ने निकाय तथा व्यक्तिहरूलाई कडाइका साथ कारवाही गर्नुपर्छ।
मिथ्या सूचना तथा दुष्प्रचार
कोभिड–१९महामारीसँगै यति बेला मिथ्या सूचना र दुष्प्रचारको छुट्टै महामारी नै छ। मिथ्या सूचनाको संक्रमणले समाजमा नकारात्मक प्रभाव परेको छ। विशेष गरी सामाजिक सञ्जालमा भइरहेका गलत प्रचारलाई चिर्न आवश्यक छ। महामारी जारी रहेकै बेला र त्यसपछिको अवस्थामा पनि गलत सूचनाले नागरिकमा अन्योल सिर्जना छ। यसबाट जोगिने गरी सूचनामा नागरिकको सहज पहुँचलाई केन्द्रविन्दुमा राखेर योजना बनाइनु आवश्यक छ।
अन्त्यमा
युवाले पनि विपद्को बेला संयमताका साथ अरूलाई धैर्य हुन प्रेरित गर्नुपर्छ। स्थानीय, प्रदेश तथा संघीय सरकारसँग सहकार्य गरी, रोजगार, स्वास्थ्य, शिक्षा तथा समुदायमा शान्ति कायम राख्न रचनात्मक भूमिका खेल्न सक्छन्। राजनीतिक अस्थिरतालाई नजरअन्दाज गर्दै सिंगो युवा जनशक्तिले आफूलाई सम्बन्धित क्षेत्रमा अब्बल प्रमाणित गराउन सक्रियतापूर्वक लाग्न जरुरी छ। अन्यथा देशमा उही पुरानै शैलीको आरोप–प्रत्यारोप सिर्जित पछौटैपनको साक्षी स्वयं युवा हुनुपर्छ।