सांसद निलम्बन नहुने कानुन बन्नु दुर्भाग्य : कमल थापा
हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन नहुने नियमावली पारित गरेर राजनीतिलाई अपराधिकरणतर्फ उन्मुख गराएको बताएका छन्।
फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने कानुन बन्नु अत्यन्तै आपत्तिजनक र दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ। ‘अपराध गर्नेलाई पनि कारबाही नहुने कानुन बन्नु दुर्भाग्यपूर्ण हो’, थापाले भने, ‘यसले राजनीतिलाई अपराधिकरणतर्फ धकेल्छ।’
अध्यक्ष थापाले उक्त कानुन बन्नुले अपराधीकरणलाई प्रोत्साहन गर्ने र अपराधी राजनीतिमा सक्रिय हुँदा देश अराजकतातर्फ जाने बताए।
थापाले नेपालका कम्युनिस्ट धर्म र संस्कृति नष्ट गर्ने कित्तामा भएकाले अब कम्युनिस्टसँग संघर्ष हुने बताए। थापाले कांग्रेसलाई पनि राप्रपाको कित्तामा आउन आह्वान गर्दै कांग्रेसले बेलैमा आफ्नो वैचारिक कित्ता स्पष्ट नगरे प्रजा परिषदको हैसियतमा पुग्ने बताए।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको आयोजनामा हेटौंडामा आयोजित प्रदेश ३ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपाको अबको बाटो संगठन निर्माण, जनपरिचालन र जनसंघर्ष रहेकाले सक्रियतापूर्वक संगठन सुदृढीकरणमा केन्द्रित हुन युवालाई आग्रह गरे।