विज्ञान पढ्नेले ११ र १२ कक्षामा गणित पढ्नु नपर्ने
काठमाडौं : कक्षा ११ र १२ मा भर्ना हुने विज्ञानका विद्यार्थीले गणित विषय नपढे पनि हुने भएको छ। पाठ्यक्रम विकास केन्द्रले तयार गरेको विद्यालय तहको पाठ्क्रमको प्रारूपअनुसार ११ र १२ कक्षामा गणित विषय पढ्नैपर्ने विगतको प्रावधान हटाएको हो।
शिक्षामन्त्री अध्यक्ष रहने पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले गत जेठ १८ गते यो पाठ्यक्रम पारित गरिसकेको छ। विज्ञहरूले भने गणित विषयको महत्व नै नबुझी हचुवाका भरमा पाठ्क्रम बनाइएको भन्दै सच्याउन सरकारलाई आग्रह गरेका छन्।
पाठ्क्रमको संरचना अनुसार कक्षा एघारमा जीव विज्ञान (बायोलोजी) र गणितलाई एकै समूहमा राखिएको छ। कुनै विद्यार्थीले जीव विज्ञान पढ्छु भन्यो भने उसले गणित पढ्न पाउँदैन। जीव विज्ञान पढेर गणित पढ्न नपाएको विद्यार्थीले उच्च शिक्षामा एमबीबीएस, बनस्पति शास्त्र (बोटानी) तथा भूगर्भ (जिओलोजी) विषयको मात्र अध्ययन गर्नुपर्छ।
यी विषयमा अनुत्तीर्ण भए वा पढ्न नपाए उसले इन्जिनियरिङ, वन विज्ञान, अर्थशास्त्र, गणित, व्यवस्थापनलगायत विषयमा भर्ना हुन पाउँदैन, जब कि यी विषयमा भर्ना हुने सबै विद्यार्थी जीव विज्ञान समूहबाट नै आउँछन्।
त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभागका प्रमुख प्राडा केदारनाथ उप्रेतीले भने, ‘हरेक विद्यार्थीको म्याथमेटिक्स राम्रो भयो भने मात्र उसमा रचनात्मक र तार्किक क्षमता बढ्छ। विकसित मुलुक मानिने सिंगापुर, दक्षिण कोरियालगायतका मुलुकले पनि गणितलाई उच्च प्राथमिकता दिएका छन्।’
पाठ्यक्रमको प्रारूप निर्माणका क्रममा कक्षा ११ र १२ मा अनिवार्य रूपमा एक सय पूर्णांकको प्रायोगिक गणित (एप्लाइड म्याथ) विषय राखिएको थियो। ‘तर प्रारूप पारित गर्ने समयमा रातारात हटाइएछ,’ उप्रेतीले भने।
के पर्छ असर ?
अहिले त्रिविसहित अन्य विश्वविद्यालयले स्नातक तहमा भर्ना हुन आउने विद्यार्थीलाई विषयअनुसार ११ र १२ मा १ सय वा ५० पूर्णांकको गणित विषय पढ्नैपर्ने नियम बनाएका छन्। नेपाल गणित समाजका केन्द्रीय सदस्य तथा गणित केन्द्रीय विभागका उपप्राध्यापक जीवन काफ्लेका अनुसार त्रिभुवन विश्वविद्यालयको कृषि तथा वन विज्ञान, कम्प्युटर विज्ञानजस्ता विषयमा प्रवेश पाउन कक्षा ११ र १२ मा कम्तीमा क्रमशः ५० र १ सय पूर्णांकको गणित विषय पढेको हुनुपर्छ।
यी सबै विषयमा भर्ना हुन आउने विद्यार्थी जीव विज्ञान समूहका हुन्छन्। पोखरा, काठमाडौं, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ तथा सूचना प्रविधि कार्यक्रममा प्रवेश पाउन कम्तीमा १ सय पूर्णांकको गणित उत्तीर्ण हुनुपर्छ। ‘यस्तो प्रस्ट व्यवस्था हुँदाहुँदै पनि यो व्यवस्थाले गर्दा जीव विज्ञान समूहका विद्यार्थीलाई उक्त विश्वविद्यालयमा माथि उल्लिखित कार्यक्रम अध्ययन गर्न नपाउने बनाइएको छ’, काफ्लेले भने।
व्यवस्थापन विषय समूहका विद्यार्थीलाई पनि अर्थशास्त्र र वाणिज्य गणितमध्ये एकमात्र रोज्नुपर्ने बनाइएको छ। काफ्लेले भने, ‘व्यवस्थापन पढ्न चाहने विद्यार्थीका लागि वाणिज्य गणित र अर्थशास्त्र दुवै विषय अति महत्वपूर्ण छ। यो व्यवस्था कार्यान्वयनमा आयो भने विद्यार्थीलाई ठूलो समस्या पर्छ।’
नेपाल भौतिक समाजका सहसचिव इन्द्र भण्डारी विगतमा विज्ञानका सबै विद्यार्थीले एक सय पूर्णांकको गणित अनिवार्य पढ्ने व्यवस्था रहेकोमा सो हटाउँदा आधारभूत विज्ञानको जग नै खल्बलिने तर्क गर्छन्।
यता पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्री भने गणित विषय सबै विद्यार्थीले पढ्न पाउने गरी पाठ्क्रम निर्माण भइरहेको बताउँछन्। ‘यस विषयमा सरोकारवालाबीच छलफल पनि भएको छ। पाठ्यक्रम निर्माण भइसकेपछि यसबारेमा सबै स्पष्ट हुन्छ’, काप्रीले भने।