६ महिनामा अप्टिकल फाइवर बिस्तार गर्न टेलिकमलाई निर्देशन
काठमाडौं : नेपाल टेलिकमलाई मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबरका लागि बोलपत्र आह्वान गर्न ६ महिनाको समय दिइएको छ । मन्त्रिपरिषद्ले समयमै काम गर्न समेत टेलिकमलाई निर्देशन दिएको छ । टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई रोकिएका सबै काम तोकिएको समयमा सक्नुपर्ने निर्देशन दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
यसअघि वैशाख तेस्रो साता मन्त्रालयले प्रबन्ध निर्देशक राजभण्डारीलाई सात दिने स्पष्टीकरण सोधेको थियो । टेलिकमको काम कारबाही प्रभावकारीरूपमा नभएको र कार्यदक्षता कमजोर भएको भन्दै तत्कालै काम रोक्न निर्देशन दिएको थियो । उक्त निर्देशनलाई पुनःविचार गर्दै मन्त्रिपरिषद्ले उनलाई निर्देशनसहितको पत्र काटेको हो ।
मन्त्री बास्कोटाका अनुसार उक्त पत्रमा टेलिकमका प्रबन्ध निर्देशक राजभण्डारीलाई अबको ६ महिनाभित्र ग्रामीण दूरसञ्चार विकास कोषका लगानीमा हुन लागेको अप्टिकल फाइबर बिस्तारको कामलाई अधि बढाइसक्नुपर्ने निर्देशन दिएको बताए । फाइबर टु दी होमको कामलाई पनि अबको ६ महिनाभित्र आवश्यक रूपमा विस्तार गरिसक्नुपर्ने निर्देशनमा उल्लेख छ । यसका साथै टेलिकमको पछिल्लो सबैभन्दा ठूलो परियोजनाका रूपमा रहेको फोरजी सेवा विस्तार पनि जतिसक्दो चाँडो सक्न भनिएको छ ।
मन्त्रिपरिषद्ले उनलाई दूरसञ्चार सेवा प्रदायक कम्पनीले नेपाल टेलिकमलाई बुझाउनुपर्ने अन्तरआवद्धताबापतको शुल्क तीन महिनाभित्र उठाइ सक्नुपर्ने समय दिएको छ । अहिले टेलिकमलाई युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) ले नेपाल टेलिकम (एनटीसी) लाई अन्तरआबद्धता कलको शुल्कमार्फत झन्डै २५ करोड रकम बुझाउनुपर्नेछ । यूटीएल र एनटीसीका ग्राहकबीच हुने कुराकानी बापत यूटीएलले टेलिकमलाई बुझाउनुपर्ने शुल्क धेरै वर्षदेखि बुझाइएको छैन । राजभण्डारीलाई उक्त रकम असुल गर्न निर्देशन आएको हो । यस्तै सीजी टेलिकमको पनि झन्डै ११ करोड बक्यौता छ ।
टेलिकमका प्रबन्ध निर्देशक राजभण्डारीले पनि आफूले बिहीबार पत्र प्राप्त गरेको बताइन् । उनले पत्रमा उल्लेख भएका विषय समयमै पूरा गर्ने जानकारी दिइन् । अप्टिकल फाइबरको टेन्डरको कामका लागि आवश्यक कागजात तयार भइसकेको र बोर्डले पास गर्ने बित्तिकै काम अघि बढ्ने उनको भनाइ छ । ‘अप्टिकल फाइबरका लागि कागजपत्र तयार छ’, उनले भनिन्, ‘उक्त प्रस्ताव बोर्डबाट पास हुने वित्तिकै काम सुरु हुने भएकाले अबको तीन महिनामै यो काम अघि बढी सक्नेछ ।’