आहा आइसक्रिम !, यसरी भयो सुरुवात
त्रिचन्द्र प्रतीक्षा
भाइबहिनीहरू, तिमीहरूले पनि कहिलेकाहीँ आइसक्रिम खाएको हुनुपर्छ । त्यो पनि विभिन्न थरी र स्वादको हुन्छ है ! गर्मीको मौसममा आइसक्रिम खान कसलाई पो मन पर्दैन होला र ? तर हामीले खाने आइसक्रिमको सुरुवात कसरी भयो भन्ने कुरा तिमीहरूलाई थाहा नहुन सक्छ । त्यसैले पहिले पहिले आइसक्रिम क–कसले खाने गर्थे र यसलाई कसरी बनाइन्छ भन्ने बारेमा केही जानकारी लिआंै है ! आइसक्रिम धेरै खाँदा दाँतको लागि हानिकारक हुन्छ नि । अतः यो कुरालाई पनि नभुलौं है !
भनिन्छ ४०० इसाईपूर्वमा चीनका मानिसले बरफ र नुनको सहायताबाट खाना जमाउन सिकेका थिए । त्यतिबेला फ्रिजको आविष्कार भएकै थिएन । त्यतिबेला मानिस गर्मीबाट बच्नका लागि पहाडमा जमेको बरफलाई आइसक्रिमको रूपमा प्रयोग गर्ने गर्थे । चीनको तांग राजवंशमा दूध, भात र कपुर मिसाएर एक प्रकारको खाना बनाउने गरिन्थ्यो । एकताकाको कुरा हो, मानिस खानेकुरा लिएर लामो यात्रामा निस्के । बाटोमा खानेकुरा बिग्रन र गन्हाउन थालेकाले यसबाट बचाउने उपाय उनीहरूले खोजे । त्यसका लागि बरफमा प्याक गरी उनीहरूले त्यसलाई लिएर हिँडे । बाटोमा खाना खान खोज्दा त्यो जमेर एक ढिक्का भयो । अरू, उपाय केही थिएन । अतः जमेको खानालाई टुक्राटुक्रा गरेर खाए । सबैले त्यो निकै मीठो मानीमानी खाए ।
यस्तै ५०० इसाईपूर्व ताका एथेन्सको पहाडमा जमेको हिउँका ढिक्का, मह र फलफूलबाट बनेको आइसक्रिम प्रचलित थियो । महान् सिकन्दरलाई आइसक्रिम खाने भन्ने निकै मन पथ्र्यो । त्यसैले सयौं कामदारहरूलाई पहाडमा हिउँ जम्मा गर्न उनले लगाउँथे । सम्भवतः यहीँबाट आइसक्रिमको आविष्कार भएको हुनुपर्छ ।
मार्को पोलो इटालीका एक ठूलो व्यापारी र यात्री हुन् । उनी व्यापारको सिलसिलामा चीन गएर सन् १२९५ मा इटाली फर्के । उनले चीनमा खाएको आइसक्रिमको बारेमा विभिन्न कथाहरू सुनाए । आइसक्रिमको कथाहरू सुनेर इटालीबासी पनि आइसक्रिम खान लालयित भएछन् । तर, त्यो कसरी बनाउने भन्ने कसैलाई थाहा थिएन ।
सन् १६८५ मा फ्रान्सका राजा हेनरी चौथोको छोरीको विवाह इङ्ल्यान्डका राजा चाल्र्स प्रथमका साथ भयो । रानीले आफ्नो साथमा आइसक्रिम बनाउन जान्ने व्यक्तिलाई पनि साथै ल्याएका थिए । ती व्यक्तिले राजा चाल्र्सलाई दिनहुँ आइसक्रिम बनाएर खुवाउन थाले । त्यो खाएपछि राजालाई आइसक्रिम निकै मन पर्न थाल्यो । यस्तो मीठो आइसक्रिम बनाउने कलालाई उनले राजदरबारमा नै सीमित राख्न खोजे । त्यो बाहिर नजाओस् भनेर गोप्यताको लागि कालिगडलाई गोप्य रूपमै पैसा दिइएर राखियो । त्यतिबेला राजामहाराजालाई पनि आइसक्रिम आम मानिसले खान्छन् कि भन्ने निकै डर थियो ।
तर, यस्तो कुरा दरबारमा मात्र सीमित हुन सकेन । एककान दुई कान हुँदै मैदान हुन पुगे । सन् १८४६ मा अमेरिकी महिला नान्सी जोन्सनले हातबाट चलाएर आइसक्रिम जमाउने यन्त्र बनाइन् । यस यन्त्रको चारैतिर बरफ भरेर राख्थे र बीचभागको भाँडामा दूध र फलफूलको रस राख्थे । यसै यन्त्रको सहायताबाट सन् १८५१ मा अमेरिकाको बाल्टिमोरका एक दूध व्यापारीले आइसक्रिम बनाएर बेच्न सुरु गरे । यही संसारको पहिलो व्यापारिक आइसक्रिम उत्पादन मानिन्छ । त्यसलगत्तै अमेरिकन शैली सेडले सानो हल्का खालको फ्रिजको आविष्कारबाट उनले पनि दूध, क्रिम, चिनी, बदाम, किसमिस आदि स्वाद भएको आइसक्रिम बनाउन सुरु गरे ।
१९औं शताब्दीको सुरुवातसम्म आइसक्रिम संसारभर लोकप्रिय भइसकेको थियो । तर आइसक्रिम प्लेट वा अन्य भाँडामा राखेर खाने गरिन्थ्यो । किनभने त्यतिबेलासम्म कोनको आविष्कार भएकै थिएन । आजभोलिको खान हुने आइसक्रिम कोनको चलन सन् १९०४ मा मात्र सुरु भएको थियो । अमेरिकाको सेन्ट लुइस भन्ने सहरमा मेला लागेको थियो । सो मेलामा आइसक्रिमको स्टलमा आइसक्रिम खानेहरूको निकै भीड थियो । आइसक्रिम खुवाउँदा खुवाउँदै प्लेट नै सकिएछ । नजिकैको पसलबाट वेफर (एक प्रकारको पातलो कुरकुरे बिस्कुट जस्तै) ल्याएर त्यसैलाई ‘कोन’ को आकार दिई आइसक्रिम राखेर दिइएछ । यही तरिकाबाटै आइसक्रिम राखेर दिने र खाने दिनप्रतिदिन प्रचलन लोकप्रिय हुँदै गयो । पहिलोपल्ट इङ्ल्यान्डका एन्टोनिया वाल्बोनाले बिस्कुटको कप (कोन) मा आइसक्रिम भरेर बेच्न सुरु गरेका इतिहास पाइन्छ ।