इन्टरनेट सेवा प्रदायक नियम विपरीत ग्राहकसँग शुल्क लिँदै
काठमाडौं : इन्टरनेट सेवा प्रदायक कम्पनीले ग्राहकसँग आवश्यकताभन्दा बढी शुल्क लिन गरेको पाइएको छ। नियमले नपाइने कतिपय विषयमा उनीहरूले बिलमै शीर्षक राखेर शुल्क असुल्ने गरेका छन्।
ग्राहकलाई उपलब्ध गराएको बिलमा इन्टरनेट सेवा प्रदायक कम्पनीले सर्भिस चार्ज, मनिटरिङ एन्ड टेक्निकल सर्पोट चार्ज, नेटवर्किङ एन्ड सपोर्ट चार्ज, सर्पोट सर्भिस चार्जको नाममा पैसा लिँदै आएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले यो शुल्क नियमावली विपरीत भएको जनाएको छ।
दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ज) मा ‘ग्राहकलाई उपलब्ध गराएको दूरसञ्चार सेवा कुनै कारणले बिग्रेमा प्राधिकरणले तोकिएको स्तरअनुरुप निःशुल्क मर्मत गर्नुपर्ने उल्लेख छ। सेवा प्रदायक कम्पनीले भने त्यसको विपरीत ग्राहकसँग सेवाका नाममा पैसा असुल्दै आएका छन्।
इन्टरनेट तथा इ–मेल सेवा सञ्चालनसम्बन्धी विषेश निर्देशिकामा उल्लेख भएअनुसार सेवा प्रदायक कम्पनीले वर्षमा एकपटक जडान शुल्क ग्राहकसँग लिन पाउँछन्। यसका अतिरिक्त ग्राहक एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण हुँदाको बखतमा कम्पनीले ठाउँसारीको पनि शुल्क लिन पाउने उल्लेख छ।
दूरसञ्चार प्राधिकरणले पनि यो विषयलाई लिएर विभिन्न सेवा प्रदायक कम्पनीलाई गत वर्ष फागुन १४ गते नै पहिलोपटक पत्र पठाइसेकको थियो। पत्रमा सर्भिस चार्ज, मनिटरिङ एन्ड टेक्निकल सर्पोट चार्ज, वार्षिक मर्मत दस्तुर, नेटवर्किङ एन्ड सपोर्ट चार्ज तथा सर्पोट सर्भिस चार्जका नाममा ग्राहकसँग थप शुल्क लिने कार्य तत्काल रोक्न निर्देशन दिइएको छ। कम्पनीले त्यसमा कुनै सुधार नगरेकाले प्राधिकरणबाट पटकपटक यससम्बन्धी जानकारी गराउने पत्र काटिएको छ।
नियमले नपाइने कतिपय विषयमा उनीहरूले बिलमै शीर्षक राखेर शुल्क असुल्ने गरेका छन्।
दूरसञ्चार प्राधिकरणको प्रवक्ता मीनप्रसाद अर्यालले सेवा प्रदायकले बढी शुल्क लिएको विषयमा अनुसन्धान भइरहेको बताए। उनले भने, ‘हामीले उनीहरूलाई बढी शुल्क नलिन पत्र पठाइसकेका छौं। हाम्रो पत्र पाएपछि पनि कसैले बढी शुल्क लिएको पाइए कारबाही हुन्छ।’
सेवा प्रदायक कम्पनी भने यो शुल्क प्राधिकरणले उल्लेख गरेभन्दा थप सेवा दिएकाले लिने गरेको बताएका छन्। इन्टरनेट सेवा प्रदायक कम्पनीको छाता संगठन नेपाल इन्टरनेट सेवा प्रदायक संस्था (आइसपान) का अध्यक्ष दिलीप अग्रवालले प्राधिकरणले यो विषमा पत्र पठाएको स्वीकार गर्दै सेवा प्रदायक कम्पनीले पनि नियमावलीमा तोकिएभन्दा थप सेवा दिइरहेकाले यो शुल्क लिने गरेको बताए।
‘२४ घण्टा फोन सेवा उपलब्ध गराउनु भन्ने कुनै पनि निर्देशिकामा छैन। सेवा प्रदायक कम्पनीले ग्राहकलाई २४ सै घण्टा सेवा फोनमार्फत सेवा दिइरहेका छन्। अर्कोतर्फ ग्राहकको घरमा इन्टरनेट स्लो भएमा, एउटा कोठाबाट अर्को कोठामा वाइफाइको सिग्नल नटिपेमा, नेटवर्किङमा समस्या आएमा, सेवा प्रयोग गर्न नआएमा पनि कम्पनीबाट पुग्नुपर्ने अवस्था छ’, उनले भने, ‘त्यसरी सेवा दिन जादाँ लाग्ने लागत उठाउनु स्वाभाविक हो।’
‘अर्कोतर्फ हामीले दिने गरेको सेवामा पनि पछिल्ला केही वर्ष यता ठूला परिवर्तन आएको छ’, अध्यक्ष अग्रवाल भन्छन्, ‘ग्राहकलाई छिटो र सहज सेवा पाएका छन्।’ यदि ग्राहकको घरमा इन्टरनेट जडान गरिदिएपछि हामीलाई फोन नगर्नु भन्ने हो भने त्यसको प्रभाव कस्तो पर्छ ? ग्राहक आफैले घरमा अर्को व्यक्ति बोलाएर मर्मत गर्ने हो भने अहिले हामीले लिइरहेभन्दा धेरै खर्च हुन्छ’, उनी भन्छन्, त्यसैले यो ठूलो समस्या होइन्। हाम्रो विषय भनेको ग्राहकको सन्तुष्टी हो।’