पर्यटक आगमन ११ प्रतिशत बढ्यो
काठमाडौं : नेपाल भ्रमणमा आउने पर्यटकको संख्या सन् २०१८ को प्रथम पाँच महिना (जनवरी–मे)मा अघिल्लो वर्षको यसै अवधिको तुलनामा ११.४० प्रतिशतले वृद्धि भएको छ। यो संख्या हवाई र स्थलमार्गबाट आउने पर्यटकको हो। अध्यागमन विभागले सन् २०१८ को जनवरीदेखि मेसम्म नेपाल भ्रमणमा आउने पर्यटकको संख्या चार लाख ५६ हजार तीन सय ९३ पुगेको जानकारी दिएको छ। यो संख्या सन् २०१७ भन्दा ५२ हजार ४५ जना बढी हो।
सन् २०१७ को पहिलो पाँच महिनामा चार लाख चार हजार तीन सय ४८ पर्यटक आएका थिए। अध्यागमन विभागका अनुसार गत मार्चमा सबैभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएका छन्। मार्चमा एक लाख २५ हजार एक सय १६ पर्यटक आएका छन्।
यो संख्या अघिल्लो वर्षको यसै अवधिको तुलनामा १८ हजा आठ सय २५ बढी हो। सन् २०१८ को जनवरीमा ७३ हजार पाँच सय १५, फेबु्रअरीमा ९० हजार दुई सय ८७, अप्रिलमा ९८ हजार ६ सय ५० र मेमा ६८ हजार ८ सय २५ पर्यटक नेपाल आएका छन्।
सन् २०१७ को जनवरीमा ६२ हजार ६ सय ३२, फेब्रुअरीमा ८४ हजार ६१, अप्रिलमा ८८ हजार पाँच सय ९१ र मेमा ६२ हजार सात सय ३३ नेपाल भ्रमणमा आएको थिए।
सन् २०१८ को जनवरीदेखि मेसम्म चार लाख ५६ हजार तीन सय ९३ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्।
अप्रिलमा पर्यटकको संख्या २.२ प्रतिशतले बढे पनि बंगलादेशीको संख्यामा भने ४९ प्रतिशतले कमी आएको नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट शरद प्रधानले बताए। तर, भारतीय पर्यटक भने सन् २०१७ को मे महिनाको तुलनामा ८.६ प्रतिशतले बढेका छन्।
यसैगरी सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ को मेमा चिनियाँ पर्यटक २५, जर्मन पर्यटक ४९ र अमेरिकी ७ प्रतिशले बढेका छन्। बेलायती पर्यटको संख्या भने ५१ प्रतिशतले घटेको छ। पर्यटक आगमन बढेसगै आन्तरिक हवाई यात्रुको संख्या भने बढ्दो छ। पर्यटक संख्या बढेपनि गुणस्तरीय पर्यटक आगमनमा भने खासै वृद्धि आउन नसकेको बोर्डको भनाइ छ। नेपाल आउने पर्यटकमध्ये बढी खर्चालु र लामो समय बिताउने युरोप र अमेरिकी मुलुकका हुन्।
मे महिनामा दक्षिण एसियाबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या सबैभन्दा बढी छ। सार्कबाट मात्रै मेमा २३ हजार ६ सय ५१ जना पर्यटक नेपाल आएका छन्। यो मेमा कुल नेपाल भ्रमणमा आएका पर्यटकको संख्यामध्ये ३४ प्रतिशत हो।
यसैगरी एसियाली मुलकबाट मेमा १५ हजार दुई सय नौ, युरोपीली मुलुकबाट १२ हजार ६१ र अमेरिकी मुलुकबाट आठ हजार एक सय ५८ जना पर्यटक आएका छन्।
बढी पर्यटक आउने चार देश
सन् २०१८ जनवरीदेखि मेसम्म नेपाल आएका पर्यटकमध्ये सबैभन्दा बढी भारतीय छन्। पाँच महिनाको अवधिमा नेपाल भ्रमणमा आउने भारतीय नागरिककोे संख्या ७२ हजार चार सय ७९ छ। यो कुल नेपाल भ्रमणमा आउने पर्यटकमध्ये झन्डै १६ प्रतिशत संख्या हो। पाँच महिनाकै अवधिमा सन् २०१७ को तुलनामा सन् २०१८ मा नेपाल भ्रमणमा आउने भारतीय पर्यटकको संख्या ३३ सय ९५ ले बढी हो। सन् २०१७ को यसै अवधिमा नेपाल आउने भारतीयको संख्या ६९ हजार ७८ जना थियो।
यसैगरी दोस्रो बढी पर्यटक चीनबाट आएका छन्। सन् २०१८ को जनवरीदेखि मार्चसम्म बढी पर्यटक आउने सूचीमा रहेको चीन मेपछि भने दोस्रोमा झरेको छ।
पाँच महिनाको अवधिमा नेपाल आउने चिनियाँ पर्यटकको संख्या ६५ हजार ६ सय ७० छ। सन् २०१७ को तुलनामा स्न २०१८ को पाँच महिनामा े चिनियाँ पर्यटकको संख्या २० हजार ८५ जनाले बढी छ।
यसैगरी पाँच महिनाकै अवधिमा नेपाल भ्रमणमा आउने अमेरिकन पर्यटकको संख्या तेस्रो स्थानमा परेको छ। पाँच महिनाको अवधिमा नेपाल भ्रमणमा आउने अमेरिकन पर्यटकको संख्या ३६ हजार पाँच सय ३२ रहेको छ।
यस्तैगरी, चौथो स्थानमा बेलायतबाट नेपाल आउनेको संख्या बढी छ। बेलायतबाट नेपाल आउने पर्यटकको संख्या २५ हजार एक सय ३६ रहेको बोर्डले जनाएको छ।