एक गाग्री खानेपानीको ५० रुपयाँ
सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ ग्वाल्टारका पूर्णबहादुर विक (ठकुरी) उमेरले ७० वर्ष पुगिसकेका छन् । दैनिक उनको चिन्ता छ आज घरमा पानी कसले ल्याइदिन्छ । त्यो पनि सित्तैमा होइन, एक गाग्री पानीको ५० रुपैयाँ तिरेर । उनले यो समस्या भोग्नुको मुख्य कारण हो खानेपानी मुहान विवाद ।
आफ्नो घरभन्दा १ घण्टा तल कोसीको छेउबाट पानी लान आफू सक्दैनन् त्यसैले उनले दैनिक ५० रुपैयाँ तिरेर अरू कसैलाई पानी ओसार्न लगाउँछन् । गाउँमा पानीको धारा आउने हल्ला सुनेको लामै समय भए पनि अहिलेसम्म धाराबाट पानी खाने उनको आशा पूरा हुन सकेको छैन । यी ७० बर्से वृद्धलाई ५० रुपैयाँ तिरेर भए पनि पानीको जोहो गर्नुपर्ने बाध्यता छ ।
गाउँमा पानी मगाउँदा एक गाग्रीकै ५० रुपैयाँ तिर्ने भएपछि कतिपयले दिनभर पानी बोकेरै पैसा कमाउने गरेका छन् । गाउँमा ५० रुपैयाँ तिरेर सजिलै पानी खरिद गर्नेहरू धेरै भएपछि दिनभरमा २० देखि ३० गाग्रीसम्म पानी बोकेर पैसा लिनेहरू रहेको स्थानीय गौरव कार्कीले बताए । ‘प्रायः बालबालिका र वृद्धवृद्धा भएका घरमा पानी किन्नुको विकल्पै छैन’, उनले भने ।
केही समयअघि गाउँपालिकास्थित साविक तीनकन्या गाविस–८ बाट भुवनेश्वरी–४, ५, ६ र ७ का लागि खानेपानी ल्याउने प्रयास गरिएको भए पनि तीनकन्याका स्थानीयले मुहानमा विवाद सिर्जना गरेपछि चारवटा वडाका झन्डै ३ सय घरधुरीले एक घण्टा तलबाट पानी ओर्सानुपर्ने बाध्यता छ ।
खानेपानीकै समस्या भएपछि भूकम्पपीडित त्यस क्षेत्रका स्थानीयले आवास पुनर्निर्माणको पहिलो किस्ता रकम सम्झौता गरे पनि अधिकांशले आफ्नो घर पुनर्निर्माण सुरु गर्न सकेका छैनन् । मुहान विवादका कारण खानेपानी व्यवस्था गर्न नसकिएको कार्कीले बताए ।