चाैरी गोठले उक्सियो जीवन
फिदिम ः बस्तीविहीन घना जंगलको बीचमा एउटा चौंरी गोठ भेटिन्छ । गोठमा हात पाउ बस्न लागेका एक वृद्ध बस्छन् । कपाल सेतै फुलेको छ । गाला चाउरिएर मुजा परेको छ । झट्ट हेर्दा उनको अवस्था निकै दयनीय जस्तो लाग्छ । तर, ७५ वर्षीय लाखबहादुर केरुङको कथा निकै प्रेरणादायी छ । उनले चौंरी पालेर लोभलाग्दो आम्दानी गरिरहेका छन् ।
२५ वर्षअघि केरुङ चौंरी पाल्नकै लागि प्राङबुङदेखि लेक चढेका थिए । नेपाल–भारत सीमाक्षेत्र चाररातेमा उनको चौंरीगोठ छ । चौंरी पालेर उनले वार्षिक लाखौँ आम्दानी गरिरहेका छन् । ‘हातपाउ बस्न लागे, तर आम्दानी राम्रै गरिरहेको छु’, केरुङले भने, ‘पढेलेखेका युवाले जागिर खाएजतिको त अझै पनि कमाइ गरिरहेको छु ।’ गोठमा अहिले २५ ओटा चौंरीगाई छन् । २० ओटा दुहुना छन् । घ्यू र छुर्पी बेचेर यो साल पाँच लाख आम्दानी गरेको उनले बताए । ‘गोठमा चौंरी घटाएर पनि एक वर्षमा पाँच लाख आम्दानी गरिरहेको छु’, केरुङले भने, ‘मेरो उमेरका अरु साथीहरू बुढौलीले गाँजेर ओछ्यान परेका छन् । म राम्रो आम्दानी गरिहेको छु ।’ उनले तीन जना युवालाई रोजगारी समेत दिएका छन् । ‘मासिक आठ हजार दिएर तीन जना केटालाई राखेको छु’, उनी भन्छन्, ‘उनीहरूले पनि चौंरीको रेखदेख गर्छन् ।’ विगत वर्षमा चौंरीगोठबाट प्रतिवर्ष १० लाखसम्म आम्दानी गरेका थिए । चौंरी गोठबाट भएको आम्दानीबाट विभिन्न ठाउँमा सम्पत्ति जोडेको उनले सुनाए ।
चौंरी पालेर सहजै आम्दानी लिन सकिने केरुङको भनाइ छ । धेरै मेहनत नगरी चौंरी गोठबाट आम्दानी लिन सकिने उनको तर्क छ । ‘चौंरी पाल्नलाई कडा मेहनत गर्नु पर्दैन’, उनले भने, ‘बलको काम पनि गर्नु नपर्ने भएकाले म जस्तो वृद्धले पनि चौंरी पालेर राम्रो आम्दानी लिन सक्छन् ।’ केरुङले प्रतिकिलो ६ सय रुपैयाँले चौंरीको घ्यू बिक्री गर्छन् । प्रतिकिलो नौ सय रुपैयाँमा छुर्पी बेच्छन् । उज्याले भएपछि केरुङले गोठमा भएका दुहुना चौंरी दुहुन्छन् ।
दूध दोएपछि चौंरीलाई जंगल खेद्छन् । चौंरी चरेर गोठ फर्केपछि उसैगरी दुहुन्छन् र दूधबाट बन्ने परिकारहरू बनाउँछन् । ‘चौंरी पाल्नलाई गाह्रो छैन,’ उनी भन्छन्, ‘सहज रूपमा आम्दानी गर्न सकिन्छ ।’ पछिल्लो समयमा चौंरी गोठ घट्दै गएको प्रति केरुङको चिन्ता छ । आम्दानी राम्रो भएर पनि आकर्षण घट्दै गएकाले चौंरी गोठहरू घट्दै गएका हुन् ।
‘सुरु सुरुमा गोठमा चौंरी पनि धेरै थिए,’ उनले विगत सम्झैदै भने,‘वर्षमा आठ लाखसम्म आम्दानी गरेको हो ।’ आम्दानी राम्रै हुने भएपछि युवा पुस्तामा चौंरी गोठप्रतिको आकर्षण घट्दो छ । वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै लेकका जंगलमा चौंरी घट्न थालेका हुन् । भारतले सीमाक्षेत्रमा कडाइ गरेपछि चरण क्षेत्र साघुरिँदै गएको र चरन क्षेत्रमा घाँसको अभाव भएकाले पनि चौंरी घट्दै गएको चौंरीपालक किसान बताउँछन् ।