भारतीय आँपको आयात रोकियो

भारतीय आँपको आयात रोकियो

 बिर्तामोड : तराई-मधेसका जिल्लामा उत्पादन भएको आँपले नै बजार लिएपछि भारतबाट आँप आयात रोकिएको छ । झापासहित धेरै जिल्लामा अहिले स्वदेशमै उत्पादित आँप बिक्री भइरहेको छ ।

भारतबाट चैत अन्तिम सातादेखि वैशाखमा आँप भित्रिएको थियो । वैशाख मध्यदेखि स्वदेशकै उत्पादन बजारमा आएकाले भारतीय आँप आयात रोकिएको कृषिउपज थोक बजार बिर्तामोडका प्रमुख सुरेशकुमार कामतले बताए । ‘नेपालका अधिकांश बजारमा यसै कृषिउपज थोक बजारबाट आँप जाने गरेको छ’, उनले भने, ‘पूर्वका सबै बजारमा अहिले नेपाली उत्पादनले नै ओगटेको छ, काठमाडौंसम्म पनि पठाइरहेका छौं ।’

चैतमा तीन मेट्रिक टन र वैशाख मध्यसम्म ८५ मेट्रिक टन आँप भित्रिएको उनले सुनाए । वैशाख १५ पछि नेपालकै सय मेट्रिक टनसम्म आँप बजारमा आएपछि भारतीय उत्पादन आफैं विस्थापन भएको उनको भनाइ छ । ‘नेपालको उत्पादन नहुँदा उपभोक्ता भारतीय उत्पादन किन्न बाध्य भए’, उनले भने, ‘नेपाली आँप बजारमा आएपछि सस्तो र गुणस्तरीय पनि भएकाले महँगो भारतीय आँप आयात आफैं रोकिएको हो ।’

चैतमा भित्रिएको भारतीय आँप थोकमा प्रतिकिलो १ सय १५ रुपैयाँ र खुद्रामा १ सय ७५ देखि २ सयसम्म बिक्री भएको कृषिउपज थोक बजार बिर्तामोडको तथ्यांकले देखाएको छ । भारतीय आँप वैशाखमा होलसेलमा १ सय र खुद्रामा १ सय ६० देखि १ सय ८० रुपैयाँसम्म बिक्री भएको थियो । वैशाख मध्यपछि आँपको भाउ घटेर होलसेलमा ३० देखि ३५ रुपैयाँ र खुद्रामा ८० देखि १ सय २० मा बिक्री भइरहेको जनाइएको छ ।

नेपालमा उत्पादित आँप जेठमा १ सय ६१ मेट्रिक टन कृषिउपज थोक बजारमा भित्रिएको उनले सुनाए । ‘नेपालमा आँप उत्पादन हुने महिना नै जेठ र असार हो’, उनले भने, ‘त्यसैले अहिले सबै क्षेत्रमा तराईका जिल्लामा उत्पादन भएको आँप पुगेको छ ।’

फूल फुल्ने समयमा किरा नलागेको र असिना पनि नपरेको हुँदा यो वर्ष अघिल्ला वर्षभन्दा आँप उत्पादन बढी भएको किसानको भनाइ छ । ‘सिरहाको आँप नै देशभर जान्छ’, पूर्व-पश्चिम राजमार्गको लहानमा आँप बिक्री गर्ने गरेका किसान विष्णुदेव रामले भने ।

भारतीयभन्दा नेपालमा उत्पादित आँपको गुणस्तर राम्रो भएको विषादी मापन प्रयोगशाला केन्द्र प्रदेश १ ले जनाएको छ । आँप पकाउन प्रयोग हुने विषादीको मात्रा पनि भारतीय उत्पादनमा बढी हुने भएकाले खान नेपालकै आँप उपयुक्त रहेकोे विषादी मापन प्रयोगशाला केन्द्रका प्रमुख राजेन्द्र खरेलले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.