महानगरको बजेट ४ अर्ब ४७ करोड
विराटनगर : मोरङको विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि ४ अर्ब ४७ करोड ८ लाख ४९ हजार रुपैयाँबराबरको बजेट ल्याएको छ ।
यो बजेटले भौतिक पूर्वाधार विकासलाई बढी प्राथमिकता दिएको जनाइएको छ । बजेटको ७२.७१ प्रतिशत भौतिक पूर्वाधारका लागि छुट्याइएको छ । सामाजिक विकास, महिला तथा बालबालिका, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपंक्षी कार्यक्रमका लागि १३.९६ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
मेयर भीम पराजुलीले दोस्रो नगरसभामा आइतबार आगामी आर्थिक वर्षका लागि महानगरपालिकातर्फ २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार र मझौला सहर एकीकृत बाहिरी वातावरणीय सुधार परियोजनातर्फ १ अर्ब ९४ करोड २५ लाख गरी ४ अर्ब ४७ करोड ८ लाख ४९ हजार रुपैयाँबराबरको बजेट प्रस्तुत गरेका हुन् । अनुमानित बजेटमध्ये महानगरपालिकाको आन्तरिक स्रोतबाट ५४ करोड ३ लाख, राजस्व बाँडफाँटबाट ३७ करोड ५ लाख ४ हजार, संघीय र प्रदेश सरकार वित्तीय समानीकरण अनुदान ५३ करोड ८७ लाख ९५ हजार रुपैयाँ छ ।
संघीय सरकार ससर्त अनुदान विषयगत कार्यालयतर्फ ४४ करोड ९६ लाख, संघीय सरकार समपूरक र विशेष अनुदान १० करोड, संघीय सरकार ससर्त अनुदान ३६ करोड १५ लाख, वैदेशिक र अन्य संघसंस्था अनुदान ४ करोड ४६ लाख ५० हजार, जनसहभागिताबाट ३ करोड ५० लाख नगर विकास कोष ऋण सहयोग १ करोड ८० लाख र नगरपालिका मौज्दात ७ करोडसमेत गरी २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार आय हुने अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०७५÷७६ मा चालु खर्चका लागि ३३ करोड ६८ लाख ५२ हजार विनियोजन गरिएको छ, जुन रकम ७.५३ प्रतिशत हुन आउँछ । संघीय सरकार सामाजिक सुरक्षा भत्ता २० करोड, भौतिक पूर्वाधार निर्माणका लागि ३ अर्ब २५ करोड ३ लाख विनियोजन गरिएको छ । महानगरपालिकाको नीति तथा कार्यक्रमले सुशासन, लैंगिकमैत्री एवं सामाजिक समावेशिता, शिक्षा, स्वास्थ्य, कृिष, वातावरणमैत्री, विपद् व्यवस्थापन र गरिबी निवारणलाई मुख्य आधार बनाएको पराजुलीले बताए । पहिलो नगरसभाले पहिलो सन्तान छोरी जन्माउनेलाई प्रोत्साहन भत्ता दिने व्यवस्था गरेकामा यसपटक दोस्रो सन्तान पनि छोरी भए भत्ता दिइने उल्लेख गरिएको छ ।
भद्रपुरको बजेट ७२ करोड
झापाको भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि ७२ करोड ३८ लाख रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाको दोस्रो नगरसभाले आइतबार बजेटसँगै वार्षिक नीति तथा कार्यक्रम पारित गरेको हो । चालू खर्च ६३.५५ र पुँजीगत खर्च ३६.४५ प्रतिशत हुने गरी बजेट विनियोजन गरिएको उपमेयर चन्द्रमाया श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार आर्थिक विकासमा २.७२, सामाजिक विकासमा ४५.३३, पूर्वाधारमा ३६.६३, वातावरण तथा विपद् व्यवस्थापनमा १.७७, संस्थागत तथा सेवा प्रवाह र कार्यक्रम सञ्चालनमा १३.५५ प्रतिशत रकम बाँडफाँट गरिएको छ ।