बाख्रापालनले फेरियो जीवन

कालिकोट : नाम धनबहादुर भए पनि चार वर्षअघिसम्म कालिकोट, जुविथाका धनबहादुर शाही ‘गरिब’ थिए। सानोतिनो समस्या पर्दा साहुसँग ऋण काढ्नुको विकल्प थिएन। तर, लगनशील भएर काम गरेपछि छोटै समयमा उनको परिचय नामजस्तै कहलिएको छ।
तिलागुफा नगरपािलका–६, जुविथाका उनले साहुबाट मासिक तीन प्रतिशत ब्याजमा एक लाख रुपैयाँ ऋण लिएर १९ वटा बाख्रा किने। चार वर्षमै उनले त्यसबाट पाँच लाख रुपैयाँ आम्दानी गरे। अहिले उनको खोरमा ५५ वटा बाख्रा छन्। उनी गाउँको नमुना बाख्रापालक किसानको रूपमा स्थापित भएका छन्। ‘बाख्रापालन थालेको पहिलो वर्षमै साहुको ऋण तिरिसकेँ’, उनी भन्छन्, ‘अब त मज्जासँग आम्दानी पनि बढेको छ।’
पहिले उनलाई खेतबारीको उब्जनीले वर्षभरि खान पुग्दैनथ्यो। बाली सप्रियो भने पनि मुस्किलले ६ महिनालाई पुग्थ्यो। बेसाहा गर्ने पैसा पनि हुन्थेन। अहिले उनको जीवनचर्या फेरिएको छ। ‘बाख्रा नपालेको भए बेसाहा गर्ने पैसा ल्याउन कालापहाड जानुपथ्र्यो’, उनी भन्छन्, ‘अहिले घरमै बसिबसी टन्न खान पुग्नेगरी पैसा कमाइ भइरहेको छ।’
व्यवसायमा सफल भएपछि समाजले उनलाई हेर्ने दृष्टिकोण पनि बदलिएको छ। पहिला ऋण खोज्दै हिँड्ने उनीकहाँ अहिले सानोतिनो आर्थिक समस्या परे हात जोड्दै ऋण माग्न आउँछन्। उनलाई उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले आधुनिक खोर निर्माणदेखि घाँस खेती, बाख्रापालनसम्बन्धी तालिम, डिपिङ टंकी निर्माणमा सहयोग गरेको छ। आयोजनाकै कारण व्यावसायिक बाख्रापालनमा लाग्न प्रेरणा मिलेको उनी बताउँछन्। आयोजनाले उनलाई आधुनिक खोर निर्माणका लागि २५ हजार रुपैयाँ सहयोग गरेको थियो। बाँकी एक लाख २५ हजार रुपैयाँ उनी आफैंले खर्च गरे।
यही व्यवसायबाट उनले छोराछोरीको पढाई र घरखर्च धानेका छन्। आवश्यक परेका बेला बाख्रा, खसी बेचेर खर्च चलाउने गरेको उनले बताए। उनी गाउँमा पनि सबैको प्रेरणा बनेका छन्। उनी आफूले सिकेको सीप र ज्ञान अरुलाई सिकाउन चाहन्छन्। ‘काम खोज्दै विदेश किन जाने ? ’ उनी प्रश्न गर्छन्, ‘मेहनत गर्यो भने सबथोक आफ्नै गाउँमा छ।’
प्रतिक्रिया दिनुहोस !
