बाहिरी चक्रपथ : जग्गा टुक्रिएपछि स्थान परिवर्तन
काठमाडौं : बाहिरी चक्रपथ निर्माणको हल्लासँगै जग्गाको मूल्य मात्र बढ्ने गरेको छैन जग्गा टुक्रा पारेर बिक्री हुँदै आएको छ। पछिल्लो समय चोभार सतुंगल खण्डमा दुई हजार पाँच सय ६२ कित्ता जग्गा यसरी नै टुक्रा पारेर बेचिएको छ।
काठमाडौंं उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले बाहिरी चक्रपथ बन्ने हल्ला गर्दै दलालहरूले जग्गा टुक्र्याएर बेचेको बताए। उनले भने, ‘धेरै जग्गा टुक्रा पारेर किनबेच भइसकेको छ। यसको फाइदा पनि स्थानीयले नभएर जग्गा दलालले लिएको देखिन्छ।’
चोभार सतुंगल खण्डको ६ दशमलव ६ किलोमिटर सडकखण्डमा अधिग्रहणको हल्लासँगै जग्गा टुक्रा पारेर बेच्नेको संख्या बढेको हो। बाहिरी चक्रपथ निर्माणपछि बाटोमा परेका घरको क्षतिपूर्ति पाइने व्यवस्था छ। यसका अलावा जग्गा विकासको माध्यमबाट बन्ने यो आयोजना सकिएपछि व्यवस्थित घडेरी पाइने आशामा जग्गा कारोबारीको चखलेख बढेको हो।
बनिसकेका घरलाई दिनुपर्ने क्षतिपूर्ति कम गर्न बाहिरी चक्रपथको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले बताए। उनले बिहीबार एक साताभित्र चोभार–सतुंगल क्षेत्रमा पर्ने घरको विवरण र जग्गाको कित्ताकाट तयार पार्न पनि आयोजनालाई निर्देशन दिएका छन्।
चोभार–सतुंगल खण्डमा १४ हजार कित्ता जग्गा थियो। बाहिरी चक्रपथ निर्माण हुने क्षेत्र वरिपरी मात्रै ६० प्रतिशत कित्ताकाट भइसकेको छ। आयोजना सम्पन्न भएपछि व्यवस्थित वस्तिका लागि कम्तीमा साढे तीन आना जग्गा दिनुपर्छ। कसैलाई पनि विस्थापन नगर्ने आयोजनाको उद्देश्य छ।
आयोजनाले बाटो र वरपर दुई सय ५० मिटरसम्मका सबै जग्गा अधिग्रहण गरिने छ। मूल बाटोले ओगटेको बाहेकका जग्गा प्लटिङपछि फिर्ता हुन्छ। प्लटिङमा बाटो बनाउन सबै स्थानीयले समान योगदान गर्नुपर्छ। यसका लागि बाटो बनाउन न्यूनतम सात दशमलव आठ प्रतिशत र खाली स्थान राखेर हरियाली कायम गर्न पाँच प्रतिशतसहित जम्मा १२ दशमलव ८ प्रतिशत जग्गा योगदान गर्नु नपर्ने हुन्छ। यसपछि प्रत्येक घडेरीमा जाने बाटो ६ देखि, ८, ११ मिटर वा ५० मिटरको बाटो हुन्छ।
मन्त्री राईले भने, ‘आवश्यक परे आयोजनाकै विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) नै परिवर्तन गर्नुपर्छ। धेरै बस्ती पर्ने अवस्थामा अलाइनमेन्ट परिवर्तन र सहजताका लागि अर्को खण्डलाई पहिले अगाडि बढाउने विकल्प पनि खोजिन सक्छ।’ यो बाटो बनाउँदा भविष्यमा मोनोरेल चल्नेगरी बनाइने जानकारी पनि मन्त्री राईले दिए। अहिले मोनोरेल बनाउन आवश्यक स्पेस नराखेको खण्डमा डीपीआर परिवर्तन गरेर नयाँ बनाउन सकिने बुझाइ पनि मन्त्री राईको छ।
बाहिरी चक्रपथको पहिलो खण्ड चोभार सतुंगलमा अढाई आनाभन्दा कम जग्गामा रहेका घरटहरा करिब दुई हजार पाँच सय छन्। ५० किमिको मूल सडकमा पर्ने र क्षतिपूर्ति दिनुपर्ने घर भने ७६ वटा रहेको छ। ७२ किमि सडकको पूरै खण्डमा भने करिब चार हजार घर पर्ने अनुमान आयोजनाको छ। आयोजनाका अनुसार ६ किमिको पहिलो खण्डमा दिनुपर्ने क्षतिपूर्ति करिब एक अर्ब रुपैयाँ लाग्ने अनुमान छ।
निर्धारित ठाउँमा जग्गा टुक्रा पारेर बेचिएपछि बाहिरी चक्रपथको स्थान परिवर्तन गर्न खोजिएको छ।
बाहिरी चक्रपथको पूरै खण्ड बनाउँदा भने करिब सात हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ। ५० मिटरको मूल बाटो र दुवैतर्फ २५० मिटरको जग्गा एकीकरण गरेर व्यवस्थित बस्ती बसाउने योजना छ। यो आयोजना करिब १४ वर्षदेखि अगाडि बढाउने योजना भएर पनि राजनीतिक स्वार्थका कारण अगाडि बढ्न सकेको छैन। यो आयोजना बनाउने नेपाल सरकारले ट्र्याक खोलेमात्रै पुग्ने छ। बाँकी सडक बनाउने र व्यवस्थित संरचना तयार गर्न चिनियाँ कम्पनी तयार छ।
काठमाडौं, ललितपुर र भक्तपुरलाई जोडेर बन्ने ७२ किलोमिटरको यो बाहिरी चक्रपथको १० वर्ष अगाडिको लागत २४ अर्ब भए पनि हालको लागत करिब ७२ अर्ब रुपैयाँ अनुमान गरिएको छ। महँगी, जग्गाको भाउ, प्रविधि र विदेशी मुद्रा विनिमयसहितको सम्पूर्ण पक्षबाट भएको मूल्यांकनले यो आयोजना लागत एक दशकमै झण्डै तेब्बर भएको हो।