फ्रान्सविरुद्ध अर्जेन्टिनाको परीक्षा
मस्को : जारी विश्वकपको नकआउट चरणको पहिलो खेलमा शनिबार दुई पूर्वविजेता टोली फ्रान्स र अर्जेन्टिना भिड्दै छन् । दुईपटकको उपाधि विजेता अर्जेन्टिना र एकपटकको विजेता फ्रान्स रुसमा पनि उपाधिका मुख्य दाबेदार मानिएका टोली हुन् । त्यसैले शनिबार ७:४५ बजेपछि सुरु हुने फ्रान्स र अर्जेन्टिनाबीचको प्रतिस्पर्धा प्रतियोगिताकै रोचकमध्येको खेल हुने पक्का छ ।
अर्जेन्टिना र फ्रान्सबीचको प्रतिस्पर्धाको अर्थ रोचक खेल मात्रै हैन, दक्षिण अमेरिका र युरोपेली फुटबलबीचको प्रतिस्पर्धा पनि हो । अनि त्योभन्दा बढी फ्रान्ससँगको खेल अर्जेन्टिनाका लागि असली परीक्षा पनि हो । पछिल्लो पुस्ताका महान् फुटबलरको सूचीमा दर्ज भएका लियोनल मेसीसहित युरोपेली क्लब फुटबलमा स्थापित खेलाडीको साथ पाएको अर्जेन्टिना निकै मुस्किलले प्रिक्वार्टरफाइनलसम्म आइपुगेको हो ।
गत संस्करणको उपविजेता अर्जेन्टिनालाई अन्तिम १६ मा स्थान बनाउन आफ्नो भन्दा बढी अन्य टोलीको खेलमा निर्भर रहनु परेको थियो । पहिलोपटक विश्वकपमा सहभागी भएको आइसल्यान्डसँग बराबरीमा रोकिँदा अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग पराजित नै हुन पुग्यो । त्यसैले समूहगत चरणको कुनै पनि खेलमा पराजय नबेहोरी प्रिक्वार्टरफाइनल चरणमा पुगेको फ्रान्सविरुद्धको यो खेल अर्जेन्टिनाका लागि वास्तविक परीक्षा हुनेछ ।
सशक्त युवा खेलाडीले भरिएको फ्रान्सले समूह ‘सी’मा दुई जित र एक बराबरीको नतिजा निकालेको थियो । समूहगत चरणको खेलमा कुनै पनि टोलीले गतिलो चुनौती दिन नसकेको फ्रान्सले पनि अर्जेन्टिनासँग राम्रा खेलाडी भएको तथ्यलाई मनन गर्न आवश्यक छ । आफ्नो स्तरअनुसारको खेल खेल्ने हो भने अर्जेन्टिनी खेलाडीसँग फ्रान्सलाई मुस्किल बनाउन सक्ने क्षमता छ ।
अर्जेन्टिनालाई आफ्नो खेलाडीको क्षमता सही तरिकाले सदुपयोग गर्नका लागि भने मैदानबाहिर देखिएको आफ्नो समस्यालाई सुल्झ्याउनु पनि आवश्यक छ । अन्य स्ट्राइकर नियमित रूपमा असफल भइरहँदा इटालियन टोली युभेन्टसका मुख्य स्ट्राइकर पाउलो डिबालालाई अवसर नदिँदा प्रशिक्षक जर्ज साम्पाओलीको निकै आलोचना हुँदै आएको छ ।
अर्जेन्टिना र फ्रान्सबीचको यही प्रतिस्पर्धाले अन्तर्राष्ट्रिय फुटबलका स्टार खेलाडीहरूलाई एकैपटक मैदानमा उत्रने संयोग पनि जुराइदिएको छ । फ्रान्सको टोली गोलरक्षक ह्युगो लोरिससहित एन्टोइन ग्रिजम्यान, केलियन एमबाप्पे, ओलिभर गिरोड, पल पोग्बा, सामुएल एम्टिटीलगायत नाम चलेका खेलाडीले सुसज्जित छ । यसैगरी अर्जेन्टिनाले पनि मेसीसहित सर्जियो एग्वेरो, गोन्जालो हिग्वेन, डिबाला, एन्जेल डी मारिया लगायतका खेलाडीको साथ पाएको छ ।
शनिबारको खेलमा यिनै खेलाडीको प्रदर्शनले टोलीको भाग्य निर्धारण गर्ने निश्चित छ । यी दुई टोलीबीच विश्वकप फुटबलमै यसअघि भएका प्रतिस्पर्धाको नतिजाले भने अर्जेन्टिनालाई बलियो देखाएको छ । यसअघि भएका दुईमध्ये दुवै प्रतिस्पर्धामा अर्जेन्टिनी टोली विजयी बनेको छ । ती खेलमा अर्जेन्टिनाले तीन गोल गर्दा फ्रान्सले एक गोल मात्रै फर्काएको छ ।
विगतमा दुई टोली
कुल खेल : २
अर्जेन्टिना विजयी : २
फ्रान्स विजयी : ०
समूहगत चरणमा फ्रान्स
अस्टे«लियाविरुद्ध : १-२ गोलले विजयी
पेरुविरुद्ध : ०-१ गोलले विजयी
डेनमार्कविरुद्ध : ०-० गोलको बराबरी
समूहगत चरणमा अर्जेन्टिना
आइसल्यान्डविरुद्ध : १-१ गोलको बराबरी
क्रोएसियाविरुद्ध : ३-० गोलले पराजित
नाइजेरियाविरुद्ध : १-२ गोलले विजयी