‘जात खोसिनुु मृत्युुदण्ड भन्दा कठोर’
राजनीतिक अध्येता एवं लेखक शंकर तिवारीले नेपाली कांग्रेसका संस्थापक तथा नेपाली भाषाको पहिलो कथानक चलचित्र ‘राजा हरिश्चन्द्र’का निर्देशक डीबी परिहारको संस्मरण ‘फ्रम इन्डियाज फ्रिडम टु नेपाल्स डेमोक्रेसी, मोम्वायर अफ डीबी परिहार’ सम्पादनसहित प्रकाशन गरेका छन्। ‘डिगिङ डाउन द मेमोरी लेन’ शीर्षकमा डीबी परिहारले सात सालको क्रान्तिमा भाग लिएका समाजवादी कार्यकर्ता एवं विख्यात भारतीय पत्रकार भोला चटर्जीलाई लेखेको ६० पृष्ठ लामो पत्रमा यो संस्मरण आधारित छ। नेपाली लोकतान्त्रिक राजनीति र सिनेमाका आदि व्यक्तित्व परिहारको संस्मरण कृतिका आयाममाथि तिवारीसँग अर्का लेखक एवं टिप्पणीकार शेखर खरेलले गरेको संवाद यहाँ प्रस्तुत छ :
डीबी परिहारको संस्मरण प्रकाशन प्रतिको रुचिको कारण के थियो ?
दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयमा अध्ययन गर्दाको केही फुर्सदिलो समय मैले नेहरू मेमोरियल लाइब्रेरीको सदस्यका रूपमा पनि उपयोग गर्ने गरेँ। बीपी कोइरालासँग भोला चटर्जीको अन्तर्वार्ताको पुस्तक ‘बीपी कोइराला : पोट्रेट अफ रेभ्युलुसनरी’को भूमिकामा चटर्जीले ‘बीपीसँग जोडिएका स्रोत र सामग्रीहरू मैले नेहरू लाइब्रेरीलाई दिएको छु’ भन्ने उल्लेख गरेका छन्। संयोगले पुस्तकालयमा भोला चटर्जीको संग्रह खोतल्दै गर्दा यो कागज (परिहारको संस्मरण) फेला परेको हो। परिहारको त्यो हस्तलिखित कागज धेरैपल्ट पढ्दासम्म पनि के गर्ने भनेर म स्वयं नै प्रस्ट थिइनँ। तीनचार वर्ष यत्तिकै बित्यो। यसैबीच मेरो पनि उहाँप्रतिको बुझाइ बढ्दै गएपछि केही गर्नुपर्छ भन्ने लाग्यो। र, त्यसपछि पण्डुलिपिमा हात हालेको हुँ। तर, उहाँको व्यक्तित्व विभाजित भएकाले सुरुमा थुप्रै चुनौती महसुस गरेँ। किनकि, उहाँ भारतको स्वतन्त्रता र नेपालको प्रजातान्त्रिक आन्दोलनसँग जोडिनुभएको छ। त्यसैगरी उहाँले सिनेमा पनि निर्माण गर्नुभएको छ। तर, उहाँमाथि प्रकाशित समग्रीहरू त्यति धेरै नभएकाले परिहार एक प्रकारले ‘फर्गेटन हिरो’ जस्तो पनि हुनुहुन्थ्यो।
तपाईंद्वारा सम्पादित पुस्तक पढ्दाको मेरो पहिलो अप्ठेरो वा संशय भनौं, उहाँको नाम र जन्ममितिमै रह्यो। नाम कहिले दिवेन्द्रविक्रम त कहिले देवव्रत अनि अपत्यारिलो जन्ममिति पनि। जन्ममितिलाई लिएर मैले शंका प्रकट गर्नुको कारणचाहिँ परिहारको उमेर (मे १९३३ को जन्म) र कामबीच तादात्म्य पाइँदैन। दुधे दाँत पनि नझरिसकेको एउटा ६ वर्षे बालकले सुभाषचन्द्र बोसजस्तो विराट् व्यक्तित्वलाई नजरबन्दका बेला भेट्छ अनि भारतमा रहेका गोर्खा सैनिकलाई स्वतन्त्रतापछि भारतीय सेनामा समाहित गर्नुपर्छ भन्ने बौद्धिक राय दिन्छ। ऊ मात्र १४ वर्षको किशोरवयमा राणाविरोधी पम्प्लेट बोकेर काठमाडौं छिर्छ र शासकको आँखमा धुलो छर्दै अत्यन्त चातुर्यका साथ मिसन सम्पन्न गर्छ। यस्ता अपत्यारिला प्रसंग अनेक छन् पुस्तकमा। यो पुस्तक छिचोल्नुपूर्व त उहाँको नाम र जन्ममितिमै स्पष्ट हुनु जरुरी भएन र ?
पहिला त नामबाटै सुरु गरौं ! दिवेन्द्रविक्रम, देवव्रत अनि डीबी परिहार, यी सबै डीबी (छोटकरी) सँग मिल्छ। सिनेमाको पोस्टरमा लेखिएको ‘संघरथि’ नाम ‘उनले आफ्नो टिम राम्रोसँग हाँक्न सक्ने भनेर सत्य हरिश्चन्द्र युनिटका सुरेश दासले दिएको उपनाम हो। पछि ‘सत्य हरिश्चन्द्र’ सुटिङका क्रममा नै संयोगले कलकत्ता पुग्नुभएका बालकृष्ण समले त्यस नाममा सम्मति जनाउनुभएको कुरा सिनेमा निर्देशक लक्ष्मीनाथ शर्माले आफ्नो पुस्तक ‘नेपाली सिनेमाको इतिहास’मा उल्लेख गर्नुभएको छ। ‘राजा हरिश्चन्द्र’को निर्देशन सँगसँगै उहाँले अभिनय पनि गर्नुभएकाले कलाकारमा परिहार भनेर उहाँको नाम उल्लेख छ। त्यसैले नामको बारेमा विवाद गर्नुपर्छ भन्ने लाग्दैन। जन्ममितिलाई लिएर चाहिँ उहाँ स्वयंमा पनि केही द्विविधा भएको हुनसक्छ। यसलाई मैले निरूपण गर्ने कोसिस नगरेको होइन। एउटा अनुसन्धानकर्ताको रूपमा मैले वस्तुनिष्ठ भएर यस (जन्ममिति) लाई हेर्नु पर्यो। यसबारे परिवारका सदस्यसँग सोध्दा पनि उहाँहरूले यकिनसाथ बताउन सक्नुभएन। उहाँसँग रहेका अन्य सामग्री कसैले अनुसन्धान गर्ने भन्दै गायब पारेको रहेछ। यी सब कारणले पनि मैले उहाँ स्वयंले उल्लेख गरेको जन्ममिति नै लिएको हुँ। तथापि यसबारे थप अनुसन्धान जरुरी छ।
तपार्इंले त्यस्ता द्विविधाका प्रसंगहरू प्रमाणीकरणका लागि के–कस्ता प्रयास गर्नुभयो ?
उमेरका लागि प्रयास गरेको हुँ। तर, बिनाप्रमाण चलाउनु पनि त भएन नि ! जस्तो उमेरलाई सन् १९२२ वा २५ गरिदिए सबै मिल्छ, पत्यारिलो बन्छ। तर, अन्य प्रसंगमा शंका रहेन। किनकि, उहाँ काठमाडौं आउनुभएकै हो र उहाँलाई भेट्नुभएका नूतन थपलिया जीवित हुनुहुन्छ। सुभाषचन्द्र बोसलाई भेट्दा स्कुले उमेरमा थिएँ भन्नुभएको छ। कवि शिरोमणि लेखनाथ पौड्यालले उहाँको प्रशंसामा लेख्नुभएको भनिएको कविता पनि फेला परेको छ। उहाँ नेपाली कांग्रेसको संस्थापक भएको कुरा कांग्रेसको स्थापनाकालीन दस्तावेजमा उल्लेख छ। त्यसैले उमेरमा विवाद हुन सक्छ तर उहाँले गर्नुभएको कामका बारे कुनै विवाद छैन। तर, जुन विक्षिप्त खाले मनस्थितिमा उहाँले यो स्मरण लेख्नुभएको छ, उहाँ आफ्ना ‘फ्ल्यासब्याक’मा कमजोरचाहिँ देखिनुभएको छ। किनकि, उहाँले बोसलाई त्यहाँ (दार्जिलिङ)बाहेक अन्त पनि भेटेजस्तो लाग्छ र पछिल्लो भेटको कुरा बाल्यकालको प्रसंगसँग मिसिएको हुन पनि सक्छ।
यो संस्मरण उहाँले कुन तिथिमितिमा लेख्नुभएको हो ?
यो सन् १९८६ मा लेखिएको हो। यो फेब्रुअरीमा सुरु भएर अप्रिल सम्मको तीन महिनाको अवधि लगाएर लेखिएको चिठी हो। पुस्तक पढ्दै जाँदा उहाँमा पहिचानको सकस देखिन्छ। दलित भएकाले आफूमाथि भेदभाव भएको भन्ने उहाँमा पीडाबोध एकातिर छ भने अर्कातिर आफ्नो वंश राजपुत कुलको रहेको र राणाको कोपभाजनमा परेर दलितमा झारिएको भन्ने दाबी छ। त्यसैले पुष्ट्याइँ गर्न उहाँले ‘विक्रम शाह’जस्तो राजपुत अनि ठकुरी कुलघराना जनाउने थर पनि राख्नुभएको देखिन्छ, होइन र ?
सबैभन्दा सकस पनि यही हो उहाँको। उदाहरणका लागि, २०१७ सालपछि कांग्रेस भूमिगत भएर पत्रिका (नेपाल टुडे) निकाल्नका लागि अंग्रेजी जान्ने मान्छेको खोजी भएको देखिन्छ। अंग्रेजी जान्ने मान्छे छ डीबी परिहार, तर नाम राखिएको छ डीके शाहीको। शाहीलाई अंग्रेजी आउन्नथ्यो भन्ने कुरा प्राध्यापक राजेश गौतम र पुरुषोत्तम बस्नेतदेखि सागरशमशेर सम्मले उल्लेख गरेका छन्। अर्कोतिर, राणाको कोपभाजनमा परेर उहाँ (परिवार)को जात घटुवा भयो। जात खोसिनु भनेको मृत्युदण्डभन्दा पनि कठोर सजाय हो। मृत्युदण्डमा व्यक्ति मारिइन्छ तर परिवारका बाँकी सदस्यले गरिखान पाउँछन्। तर, जात घटुवा भएपछि ठाउँ बदलेर जानुस्, तपाईं जात फेर्न सक्नुहुन्न। यो पीडा उहाँको सिंगो लेखनीमा देखिन्छ र जीवनभर यही पीडा भएको छ। त्यसैले उहाँले ‘परियार’ नभएर ‘परिहार’ लेख्नुभएको हो। तर, पनि समाजले चाहिँ उहाँलाई ‘परियार’कै रूपमा हेरिदियो। त्यस खाले घर्षण र द्वन्द्व पुस्तकभर देखिन्छ।
डीबी परिहारको व्यक्तित्व स्वतन्त्रता र लोकतन्त्रको आन्दोलनका एक अग्रणीको रूपमा रहँदारहँदै पनि हामी सबैले समान्यज्ञानमार्फत रट्दै आएको एउटा तथ्यचाहिँ उहाँ नेपाली भाषामा निर्मित पहिलो कथानक चलचित्र ‘राजा हरिश्चन्द्र’को निर्देशक भन्ने हो। तर, यो पुस्तकमा यस चलचित्रबारे विस्तृतमा उल्लेख छैन। बरु तपाईं यस पुस्तकको भूमिका र अन्य खुद्रा लेखहरूमार्फत डीबी नै नेपाली भाषाको पहिलो चलचित्रका निर्देशक भन्ने दावा गर्दै आउनुभएको छ। यो दाबी प्रमाणित गर्ने तपाईंका आधार के हुन् ?
हो, तपाईंले भनेजस्तै सिनेमा निर्माणका बारेमा यस संस्मरणमा केही उल्लेख छैन। फेरि यो उनले लेखेको व्यवस्थित संस्मरण पनि होइन। तर, हरिश्चन्द्र निर्माण पक्षको बारेमा उल्लेख नभए पनि राजा त्रिभुवनको निमन्त्रणामा ५ सेप्टेम्बरमा राजदरबारमा उक्त सिनेमा प्रदर्शन गरिएको कुरा उल्लेख भने छ। जहाँसम्म डीबी पहिलो नेपाली भाषाको चलचित्रका निर्देशक हुन् भन्ने कुरा छ, यो चर्चित नेपाली सिने पत्रिका ‘कामना’ले २०४८–४९ तिरै निरूपण गरिसकेको कुरा रहेछ। लक्ष्मीनाथ शर्माको ‘चलचित्रका कला’मा नेपालीमा पटकथा लेखिएको, नेपाली कलाकार र नेपाली परिवारसँग जोडिएका मानिसले अभिनय गरेको चलचित्र ‘राजा हरिश्चन्द्र’ भन्ने उल्लेख छ। नेपालमा चलचित्र बनाएपछि कांग्रेससँग जोडिएका डीबीलाई केहीले खेदेको जस्तो देखिन्छ। विशेषगरी चेतन कार्कीले यसको प्रतिनिधित्व गर्नुभयो र सोही लाइनबाट अविनाश श्रेष्ठले लेखेको देखिन्छ। तर, यही ‘फुर्सद’मा एक वर्षअघि प्रकाशित मेरो लेखमा खण्डन गर्ने गरी कुनै मत सार्वजनिक भएका छैनन्। यसबारे चलचित्र निर्देशक यादव खरेलले पनि प्रस्ट गर्नुभएको छ कि भाषा मान्ने हो भने पहिलो नेपाली चलचित्र ‘राजा हरिश्चन्द्र’ नै हो र देशभित्रै बनेकालाई लिने हो भनेचाहिँ ‘आमा’।
किताबभन्दा बाहिरको प्रश्न तपाईंलाई। नेपाली भाषाको पहिलो कथानक चलचित्र बनाएको अनि बेलायत र अमेरिकाको प्रतिष्ठित फिल्म स्कुलमा हजारौं पृष्ठको शोधपत्र बुझाउँदै फिल्मसम्बन्धी औपचारिक तालिम लिएको डीबी परिहारले किन फिल्ममै करिअर बनाउन नसकेको होला ?
तपार्इंले उठाउनुभएको जिज्ञासा एकदमै सान्दर्भिक तथा महत्वपूर्ण छ। मैले यो कुरा पुस्तकमा प्रमाणीकरण गर्न सकेको छैन। तर, यो छुट्टै अनुसन्धानको विषय भने पक्कै हो। मैले ती शोधपत्र उहाँका घरमा भेट्न त सकिनँ। तर पनि ती सामग्री सम्बन्धित फिल्म स्कुलका लाइब्रेरीमा पक्कै भेटिन सकिन्छ। ती भेटिएमा नयाँ कुराहरू उजागर हुनेछन्।
उहाँमा नेपालप्रतिको माया अगाध देखिन्छ। नेपाल फर्किएर केही गर्ने तीव्र मनोकांक्षा उहाँमा देखिए पनि उहाँले शेष जीवन नेपालमा बिताउन सक्नुभएन। उहाँ आफैंले स्थापना गरेको पार्टी नेपाली कांग्रेसले उहाँलाई कसरी सम्झिएको पाउनुहुन्छ ?
नेपाली कांग्रेसका नेताहरू भाषण गर्छन्, दलित नेतालाई सात सालमै महामन्त्री बनायौं भन्दै। तर, विडम्बना ती व्यक्तिको तस्बिरसम्म पनि पार्टीसँग छैन। कांग्रेस आफैंले आफ्नो पार्टीको व्यवस्थित इतिहाससम्म लेखाएको छैन। तर, भारतमा राष्ट्रिय कांग्रेसले सुवाषचन्द्र बोससँग सभापति पदमा पराजित भएका बी. पटभाइ सितारामैयाको नेतृत्वमा सन् १९३५ मा आफ्नो पार्टीको आधिकारिक इतिहास लेखाएर प्रकाशित पनि गरेको थियो। आधिकारिक इतिहास नलेखाएपछि धेरै कुरा हराएर जान्छन्। त्यसको मारमा डीबी पनि पर्नुभएको छ। यसैगरी उहाँसँग अपनत्व प्रकट गर्ने मानिसहरू स्वयं पनि हराएका देखिन्छन्।
तर, उहाँमा राजनीतिप्रति रुचि कम भएको पनि हुन सक्ला नि ?
उहाँले राजनीति र कला क्षेत्र सबैतिर काम गर्नुभएको छ। सिनेमामा काम गर्न जात बाधक भएको देखिँदैन। तर, राजनीतिक कामका लागि थर बाधक बनिदियो। त्यसैले उहाँलाई बढी पिरोलेर सिनेमा–नाटकमा बढी र राजनीतिक काममा थोरै जोड दिएको हुनसक्छ।
यो पुस्तकको योगदान के हुन्छ भन्ने लाग्छ तपार्इंलार्इं ?
यस पुस्तकको सम्पादक भएकाले यसको उत्तर दिने प्रयुक्त पात्र म नहुँला। तर, इतिहासलाई नयाँ सिराबाट हेर्न सकियो भने मात्र यो पुस्तकलाई न्याय हुन्छ। त्यसैगरी सात सालको क्रान्तिको हाम्रो आधुनिक चेतनाको विकासमा अहम् भूमिका छ। त्यस क्रान्तिमा कस्ता मान्छे संलग्न थिए र तिनीहरूको योगदान के थियो भन्ने कुराको यस अभिलेखीकरणले हामीलाई स्मृतिको लोकतिर लैजान सक्छ। यसैगरी भारतमा भएको स्वतन्त्रताको संग्रामले हाम्रो मुलुकमा चेतनाको लहर फैलाएका थियो र स्वाभाविक रूपमा कलकत्ता त्यो बेला केन्द्रमा रह्यो। डीबी हामीले नचिनेका, बिर्सेका यस्तापात्र हुन् जो आफूलाई दलित होइन भन्छन् तर समाज उनलाई दलितकै रूपमा चिन्छ। राजनीतिबाहेक चलचित्रमा उनको योगदानलाई लिएरै चलचित्र निर्देशक समाजले आफ्नो कार्यालयमा डीबी परिहारको तस्बिर ससम्मान राखिएको छ। यस्तो अद्भुत मान्छे कुन मनोदशाबाट हुर्किएको थियो र कस्तो पृष्ठभूमिबाट आएको थियो अनि ऊ राजनीति र सिनेमामा कसरी ठोक्किन पुग्यो भन्ने बुझ्न र थप अनुसन्धानका निम्ति यस पुस्तकले ढोका खोलिदिनेछ भन्ने मेरो विश्वास छ।