वर्षातका कारण ग्रामीण सडक अबरुद्ध
ओखलढुंगाः लगातारको वर्षाका कारण ओखलढुंगाका ग्रामीण सडक अबरुद्ध भएका छन् । सदरमुकामबाट गाउँपालिका केन्द्र जोड्ने अधिकांश सडक अबरुद्ध भएका हुन् । सडक अबरुद्ध भएपछि खाद्यन्न ढुवानी तथा यात्रु आवतजावत रोकिएको छ । ओखलढुंगाबाट खिजीदेम्वा, चम्पादेवी, लिखु र चिसंखुगढी जोड्न सडक पूर्णरुपमा अबरुद्ध भएका छन् । दुई दिनदेखि भएको वर्षापछि कतै पहिरो खसेर त हिलोका कारण यातायात सञ्चालन नहुने अवस्थामा पुगेका हुन् ।
सदरमुकामबाट सुनकोसी, मोलुङ र मानेभञ्ज्यांग जाने सडक भने सुचारु छन् । यातायात अबरुद्ध भएपछि स्थानीयलाई सास्ती भएको छ । गाउँमा बैंक नहुँदा स्थानीय तहका सबै कारोबार सदरमुकामबाट हुने दुर्गमका नागरिक योजनाको फरफराक, भूकम्पको अनुदान लिन दुई दिन लागाएर सदरमुकाम धाउन बाध्य भएको खिजीदेम्वाका देवीध्वज सुनुवारले बताए । खिजीदेम्वामा बैंकको शाखा छैन ।
त्यस्तै सडक अबरुद्ध भएपछि चम्पादेवी र लिखुका स्थानीयलाई पनि सदरमुकाम आएर कारोबार गर्न समस्या भएको छ । सिन्धुली र रामेछाप घुमेर आउनु पर्ने बाध्यता रहेको लिखुका पुष्प भट्टराईले गुनासो गरे । बर्षा लागेपछि ओखलढुंगाका अधिकांश सडकहरु अबरुद्ध हुने गर्छन् । ग्रामीण सडक अबरुद्ध भएपछि ढुवानी रोकिँदा उपभोग्य वस्तु र निर्माण सामग्रीको मूल्य आकासिएको छ ।