पहिरोले किम्ताङका १७ घर विस्थापित
नुवाकोट : पहिरोले नुवाकोटको नुवाकोटको पश्चिमी भेगमा रहेको दुर्गम किम्ताङका १७ घरपरिवार विस्थापित भएका छन्। सदरमुकाम बिदुरदेखि २५ किलोमिर पश्चिममा रहेको म्यागङ गाउँपालिका ४ मा रहेको वल्जुङको पहिरोले स्थानीय १७ घरपरिवार विस्थापित भएका हुन्।
पीडितलाई आवश्यकता अनुसार स्थानीय चन्द्रदेवी निम्न मावि र ज्ञानज्योति प्राविमा स्थानान्तरण गर्ने कार्य सुरु गरिएको म्याागङ गाउँपालिका उपाध्यक्ष शान्ति तामाङले जानकारी दिइन्।
शुक्रबार रातिदेखि बस्ती नजिकैबाट सुरु भएको पहिरो खेत बगाएर सोमबार राति बस्तीसम्म पुगेको छ। पीडितलाई विद्यालयमा स्थानान्तरण गर्ने कार्य सुरु भएको छ।
पहिरोपीडित सूर्यमान तामाङ, बुद्धे तामाङ, हरिप्रसाद घले, दलबहादुर तामाङ, देसीमाया तामाङ, फुलबहादुर तामाङ, धनसिंह तामाङ, सिंकर तामाङलगायतका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने काम सुरु भएको छ।
पहिरोले घरमा क्षति पुर्याएपछि निमा लामातामाङ, मोइ घले, सोनम तामाङ, आइतराम तामाङ, कमानसिंह तामाङ, आइतमान तामाङ, गंगामाया घले, छन्त लामा तामाङ र धनमाया घलेको परिवारलाई पनि सार्नु पर्न भएको उपाध्यक्ष शान्ति तामाङले बताइन्।
पीडितलाई गाउँपालिकाबाट खाद्यान्नको व्यवस्था गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मच्छिन्द्रनरसिंह प्याकुरेलले बताए। पीडितलाई पहिरो र विद्यालयको विकल्प अन्य सुरक्षित स्थानको खोजी गरेर स्थानानतरण गरिने उनले बताए।
२०२८ सालदेखि बग्दै गएको पहिरोबाट किम्ताङका १७ घरधुरी विस्थापित भएका छन् भने चारसय ३० भन्दा बढी घरपरिवार जोखिममा छन्। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलका अनुुसार पहिरोबाट साविक किम्ताङ गाविसको वडा नम्बर ५ देखि ९ सम्मका दुई सय घरपरिवार उच्च जोखिममा रहेकाले जतिसक्दो चाँडो स्थानान्तरण गर्नुपर्ने भएको छ।