‘भद्र र रुप्सी’ को चीनयात्रा
सौराहा : नेपाल सरकारले उपहारस्वरूप मित्रराष्ट्र चीन पठाउने भनिएको चार गैंडामध्ये एक ‘भद्र ’ । डेढ वर्षको उमेरमा माउबाट छुट्ट्याएर ल्याउँदा निकै आक्रामक थियो । डेढ महिनाअघि जंगलबाट ल्याउँदा शरीरमा घाउ चोट लागेको दुब्लो देखिने गैंडा अहिले फेरिएको छ । दिनहुँको स्याहारले शरीर मोटो र मानिससँग घुलमिल हुन थालेको छ । चितवन राष्ट्रिय निकुञ्जको खोरिया मुहान नजिकको देवीतालबाट वैशाख १५ गते ल्याइएको उक्त गैंडाको भाले बच्चा ‘भद्र’ पहिलो चरणमा पठाउन लागिएको छ । चीन पठाउने कुराले ‘भद्र’ को स्याहारमा खटिएका राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक तीर्थ लामाले दुःख व्यक्त गरे । बिहानदेखि बेलुकासम्म २४ सै घण्टा स्याहारमा खटिएका लामाले साथीजस्तै गरी बसेका उनलाई सन्तानझैं माया लाग्ने बताए । चीन पठाउने भएपछि नामकरण गरिएको छ । भाले भएकाले ‘भद्र’ नाम राखिएको हो । ‘स्याहार गर्दागर्दै आफ्नै दाजुभाइजस्तो माया लागेको छ’, लामाले भने, ‘दिनहुँ सँगै हुने आफ्नै परिवारकोजस्तो गरी स्याहार गरेको वन्यजन्तु लाँदा साह्रै नरमाइलो लागेको छ ।’ लामासँगै उनका सहयोगी वन्यजन्तु प्राविधिक विनोद दराई पनि भद्रको स्याहारमा खटिएका छन् ।
असार २८ गतेभित्र दुई पहिरो चरणमा दुई वटा गैंडाको बच्चा चीनलाई हस्तान्तरण गरिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । पहिलो चरणमा चीन जानेमा भद्र र रुपसीलाई हस्तान्तरण गर्न लागिएको हो । दुई वर्षको पोथी बच्चालाई वैशाख १७ गते समातेर ल्याइएको हो । रुपसीको स्याहारमा वन्यजन्तु प्राविधिक दीपप्रसाद चौधरी र उनका सहयोगी सुनील कँडेलले स्याहार गर्दै आएका छन् । सुकिभार क्षेत्रबाट ल्याइएको रुपसी लाने छनोट गरिएको छ । चीन लाने गैंडाको बच्चाको नियमित स्वास्थ्योपचारसमेत गरिएको छ । चीन लैजान गैंडा पूर्णरूपमा स्वस्थ रहेको कोषका वन्यजन्तु चिकित्सक डा. अमित सडौलाले बताए ।
प्रत्येकलाई दैनिक दुई दर्जन केरा, पाँच किलो बन्दा, एक किलो स्याउ र एक किलो गाजर खुवाउने गरिएको छ । बिहान बेलुका गरी ४० लिटर दूध खुवाइन्छ । राष्ट्रिय प्रकृति संरक्षण कोषमा निर्माण गरिएको पिट बुमामा राखेर छुट्टाछुट्टै राखेर स्याहार गरिएको छ । चीन लैजान तय गरिएको चार वटा गैंडाको बच्चालाई बाहिरी वातावरणमा घुलमिल हुन सिकाइएको छ । प्रत्येक गैंडालाई वन्यजन्तु प्राविधिकसहित दुई जनालाई जिम्मेवारी दिइएको छ । अन्य दुई गैंडालाई दोस्रो चरणमा लगिने बताइएको छ ।
चीनको सांघाई र गोन्जाओमा रहेको मानवनिर्मित पार्क राख्न असार २८ गते लाने तयारी गरिएको छ । जंगलबाट नियन्त्रण गरी ल्याइएको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा ल्याइएको गैंडाको बच्चा विस्तारै मानिससँग घुलमिल हुन थालेको छ । ‘चीनमा लैजाँदा खोरमा राख्नुपर्ने भएकाले मानिससँग घुलमिल गराएपछि अहिले खोरमा बस्न तालिम दिएका छौं’, राष्ट्रिय प्रकृति संरक्षण कोषका निमित्त प्रमुख रामकुमार आर्यालले भने, ‘लैजानु केही दिनअघि चीन लाने खोरमा पनि अभ्यास गराउँछौं ।’ खोरमा राखेर घाँस खुवाउन थालिएको छ । चीन लैजाने क्रममा खोरमा बानी पार्न लागिएको हो ।
०७३ असार २६ गते सरकारले चीनलाई गैंडा उपहार दिने निर्णय गरेको थियो । दुई देशबीचको मित्रता कसिलो बनाउन गैंडा उपहार दिन लागिएको हो । यसअघि २५ वटा मुलुकमा वन्यजन्तु उपहार दिइएको छ । ‘सुरुमा ०३४ सालको आसपासमा थाइल्यान्डमा गैंडा उपहार पठाइएको थियो । सन् २०१४ को गणनाअनुसार नेपालमा ६ सय ४५ वटा गंैडा छन् । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ५ गैंडा छन् ।