किसानको गोलभेँडामा व्यापारीको रजाइँ, ६ रुपैयाँ मा किनेर ४० मा बेच्छन्
बनियानी, झापा: गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । व्यापारीले किसानबाट खरिद गरेको गोलभेँडाको मनपरी मूल्य लिइरहेका छन् । किसानको खेतबाट प्रतिकिलो ६ रुपैयाँमा खरिद गरेको गोलभेँडा व्यापारीले ४० रुपैयाँ मा बिक्री गरिरहेका छन् ।
बिर्तामोडस्थित कृषि उपज थोक बजार केन्द्रमा भेटिएका पाँचथरको अमरपुरका नवराज उप्रेतीले खेतबाट प्रतिकिलो ६ देखि ८ रुपैयाँसम्ममा गोलभेँडा बिक्री गरेको बताए । 'यसपाली गोलभेँडा पर्याप्त उत्पादन भएको छ, उचित मूल्य पाइएको छैन', उनले गुनासो गरे । उप्रेतीका अुनसार व्यापारीले विभिन्न बहाना बनाएर किसानलाई उचित मूल्य दिन मान्दैनन् ।
तरकारी व्यापारी रामभुषण शाह प्रतिकिलो गोलभेँडा ४० मा बिक्री गरिरहेको बताउँछन् । उनले खुद्रा व्यापारीलाई १५ देखि १८ सम्ममा प्रतिकिलो गोलभेँडा बिक्री गरिरहेको बताए ।
तरकारी खरिद गर्न आभएकी विर्तामो-३ की चन्द्रकला आचार्य व्यापारीले भनेकै मूल्यमा किन्नुपर्ने बाध्यता भएको बताउँछिन् । 'मूल्य सूची छैन, एउटा पसमा गयो, एउटा मूल्य हुन्छ अर्कोमा गयो अर्कै', उनले भनिन्, 'एउटै तरकारीको पसलैपिच्छे फकर फरक मूल्य छ ।'
जिल्लाका अधिकांश बजारमा यस्तै समस्या छ । व्यापारीले आफूखुशी मूल्य निर्धारण गरेर उपभोक्ताको ढाड सेक्ने काम गरिरहेका छन् । किसानले लगानीको प्रतिफल पाउन सकेका छैनन् । कृषिथोक केन्द्रमा तरकारीको मूल्य निर्धारण गर्ने दरिलो निकाय नहुँदा व्यवसायीले आफै मनलाग्दी मूल्य निर्धारण गरिरहेका छन् ।