काम नगर्ने ठेकेदारलाई कारबाही भएन

काम नगर्ने ठेकेदारलाई  कारबाही भएन

सिन्धुली : लामो समयसम्म कामै नगरी बस्ने ठेकेदारलाई कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको एक महिना हुँदासम्म जिल्लामा न काम सुरु भएको छ न त कारबाही नै भएको छ ।

गृहमन्त्री रामबहादुर थापा (बादल)ले राज्यसँग काम गर्न भनी ठेक्का लिने निर्माण कम्पनीले वर्षौंदेखि कामै नगरी बसेपछि तत्काल कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई विवरण बुझाउन भनेका थिए ।

सिन्धुलीमा कामै नगर्ने १९ वटा आयोजनाका १६ वटा निर्माण कम्पनीका ठेकेदारको विवरण मन्त्रालयमा पठाएको एक महिना पूरा हुँदासम्म जिल्लामा काम सुरु नभएको र कारबाही पनि नभएको गुनासो आएको हो ।

निर्माण सम्झौता भएको ८ वर्ष बित्दा पनि सिन्धुलीको कमला नदीमा पुल बन्न सकेको छैन । पुल नहुँदा यस वर्ष एक हप्तामा मात्र दुई जनालाई कमला नदीले बगाएर ज्यान गइसकेको छ । ‘तर, कामै नगर्ने पप्पु कन्ट्रक्सनले काम नगरेको भन्दै कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रीलाई सिफारिस भए पनि हालसम्म न कारबाही भएको छ न त ठेकेदारलाई नै कारबाही गर्न सकेको छ,’ दुधौली नगरपालिका–३ का रेखराज दाहालले गुनासो गर्दै भने ।

०७३ सालभित्रै सिन्धुलीको कमला नदीमा पक्की पुल निर्माण सम्पन्न गर्ने गरी पप्पु कन्ट्रक्सन र नेपाल सरकार पुल आयोजनाबीच सम्झौता भएको थियो ।

‘विश्व बैंकको ३२ करोड अनुदानमा सिन्धुलीको कमला नदीमा पक्की पुल निर्माण सुरु गरेको ८ वर्ष हुन लाग्दासमेत ४० प्रतिशत पनि काम नगरी ४ वर्षदेखि कन्ट्रक्सनका मेनेजिङ डाइरेक्टर हरिनारायण रौनियारलाई सरकारले न कारबाही गरेको छ न त काम गर्न नै फिल्डमा पठाउन सकेको छ,’ दाहालले भने ।

कमला नदीमा हालसम्म एउटा पनि पुल नहुँदा बर्सेनि कमला नदीले बगाउँदा दर्जनौंको ज्यान जाने गरेको छ ।

नेता र ठेकेदार इमानदार भए देशको विकास हुन कत्ति सयम लाग्ने थिएन । तर, बेइमान हुँदा अर्बौंको योजना अलपत्र बनेका छन् । तर, तिनै निर्माण कम्पनीका ठेकेदार आज देश विकास गर्न भन्दै हिँडेका छन् । उनीहरूबाट जनताले के आशा गर्ने ? सिन्धुली रानीवासकै शिक्षक शम्भु परियारको गुनासो छ । आफूहरूले पुल निर्माण सुरु गर्न धेरै पटक भने पनि ठेकेदारले नमानेको उनको भनाइ छ ।

पप्पु कन्ट्रक्सनका मेनेजिङ डाइरेक्टर रौनियारले सिन्धुलीकै खाङसाङस्थित मध्यपडाही लोकमार्गका लागि सोखुखोलामा पुल निर्माणको जिम्मा लिएको ८ वर्ष भइसक्यो । त्यहाँको पुल निर्माणका लागि १० करोड ४३ लाख रुपैयाँ ठेक्का लिए पनि ५० प्रतिशत काम भएको छैन । आठ वर्षदेखि अलपत्र पुलको भुक्तानी भने ४७ प्रतिशत लिइसकेको सडक विभागले उल्लेख गरेको छ । कमलाखोंचका मात्र होइन, मध्यपहाडी क्षेत्रका नागरिकको पनि ठेकेदारप्रति उस्तै गुनासो छ ।

पप्पु कन्ट्रक्सनका रौनियार मंसिर १० र २१ गते भएकोे प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जित हात पारेका ठेकेदार नेता हुन् ।

करोडौंको ठेक्का अलपत्र पारेर जनतासँग विकासको काम गर्छु भन्ने पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी बनेका पप्पु कन्ट्रक्सनका मेनेजिङ डाइरेक्टर रौनियारले कमला नदीले पुल निर्माण सुरु गरेदेखि हालसम्मको तथ्यांक हेर्ने हो भने मात्र २३ जनाको ज्यान गइसकेको छ ।

रौनियारजस्तै ठेक्का लिएर काम नगर्ने जिल्लामा थुप्रै निर्माण कम्पनीका ठेकेदार छन् । जिल्ला सदरमुकाममाढीमै मधुटार–रानीखोला, दुई नम्बर र स्टलबजारबाट बीपी राजमार्ग जोड्ने शाखा बाटो कालोपत्रे गर्न दशकदेखि ठेक्क लगाइएको भए पनि ठेकेदारका कारण कामै हुन नसकेपछि पुनः नयाँ ठेक्का लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्लाका नौ वटा स्थानीय तहबाट प्राप्त विवरणअनुसार काम नगर्ने ठेकेदार कम्पनी र ठेकेदारको नाम सिफारिस गरी पठाएको थियो । कार्यालयले कारबाहीको सिफारिस गरिएका निर्माण कम्पनीमा केएस देवीरमण जेभी, विजी निर्माण सेवा, आत्रेय निर्माण सेवा प्रालि, सुभम निर्माण सेवा, धुलिखेल शिवशम्भु÷कुँवर जेभी, शिखर निर्माण सेवा, सिद्धबाबा आत्रेय नवयुग जेभी, स्वच्छ निर्माण सेवा काठमाडौं, पप्पु लुम्बिनी जेभी, गौरी पार्वती÷नीलगिरी नेसनल जेभी, पप्पु नेपाल प्रगति जेभी, सव उद्धार सगरमाथा जेभी, सुनौलो खिम्ती कन्ट्रक्सन, बिरुवा कन्ट्रक्सन प्रालि, सूर्य÷केएम जेभी र कन्काई÷थापा जेभी छन् ।

यी आयोजनाले जिल्लाभित्र डाँडी खहरे मझिनी दमार सडक, मधुटार रातामाटा सडक निर्माण भएका छैनन् । यस्तै, साविक गाविस भवन डुँडभञ्ज्याङ, स्वास्थ्यचौकी भवन स्वल्पाठाना, गाविस भवन झाँगाझोली रातमाटा, गाविस भवन बस्तीपुर, कोलेनिका भवन, जिल्ला प्रशासन कार्यालयको भवन, भवानी उमावि तीनपाटनको भवनको समयमा काम हुन सकेको छैन ।

यसैगरी, जिल्लामा पाँच वटा पुल निर्माण पनि अलपत्र छ । ठेकेदार कम्पनीको लापर्वाहीका कारण कमला नदीको पुल, बाग्मती नदीको पुल, ककुरठाकुरको पुल, खाङसाङ सोखु पुल, बादुरे पुल समयमा निर्माण सम्पन्न हुन सकेको छैन । त्यस्तै, खुर्कोट घुर्मी सडकको प्रोटेक्सनको काम पाएका सुनौलो खिम्ती कन्ट्रक्सन, बिरुवा कन्ट्रक्सन प्रालि, आत्रेय जेभी कन्काई थापा जेभीले पनि काम सम्पन्न गरेका छैनन् भने ट्राफिक सुरक्षा कार्यको जिम्मा लिएको सूर्य÷केएम जेभीले पनि काम गरेको छैन ।

यी सबै आयोजनाको काम नगर्ने ठेकेदारलाई कारबाही नभएको र काम पनि सुरु नभएको भन्दै जिल्लावासीले गृहमन्त्रीकै आलोचना गर्न थालेका छन् ।

००

पप्पु कन्ट्रक्सनका कारण आठ वर्षदेखि निर्माण अलपत्र कमला नदीको पक्की पुल । तस्बिर ः राजन गाउँले


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.