घरखेल बगाएको कोसीको दाउराले गुजारा
धरान : अविरल वर्षासँगै सप्तकोसीमा पानीको बहाव दिन-दिनै बढिरहेको छ। स्थानीय प्रशासनले सप्तकोसी आसपासका बासिन्दालाई सचेत रहन आग्रह गर्दै यस क्षेत्रमा उच्च सतर्कता अपनाएको छ। तर, सुनसरीको बराहक्षेत्र नगरपालिका-९ राजावास पारिपट्टि सप्तकोसी भेलमा दैनिक दुई सयभन्दा बढी युवा जीवन दाउमा राखेर दाउरा खोजिरहेका हुन्छन्।
सप्तकोसीमा ब्यारेज बनेपछि बाढीले घरखेत गुमाएका पीडित परिवारले वर्षायाममा जीविकोपार्जनका लागि भेलबाट दाउरा संकलन गर्दै आएका छन्। काठको डुंगा चढेर पाँच जनाको समूह बनाई कोसीपीडितले जीवनको पर्वाह नगरी बाढीले बगाएर ल्याएका सखुवा, सिसौ, साल, उत्तीस, करम, पात्ले, चिलाउने जातका काठ-दाउरा संकलन गरी बिक्री गर्दै आएका हुन्।
‘सप्तकोसीको बाढीले घरखेत बगाएर लग्यो, परिवारको लालनपालनका लागि बाढीले ल्याएको दाउरा संकलन गरी बिक्री गरेर परिवारको जीविका चलाउँदै आएको छु’, बराहक्षेत्र-९ का नहकुल चन्द्रवंशीले भने, ‘कोसीको भेलमा दाउरा खोज्नु हाम्रो बाध्यता हो।’ रोजगारीका लागि अन्यत्र जाँदा कोसीको डिलमा बसेका परिवारको बिचल्ली हुने भएकाले बाढीमा दाउरा खोजेर बिक्री गर्ने गरेको उनको भनाइ छ।
चन्द्रवंशी, कविरथ, माझी र चौधरी समुदायका युवा असारदेखि कात्तिक महिनासम्म बाढीले बगाएर ल्याएको दाउरा, काठ संकलन गरी बिक्री गर्छन्। यो वर्षदिनका लागि कमाइ गर्ने माध्यम बनेको उनीहरूको भनाइ छ। कोसीमा सखुवा र सिसौका ठूल्ठूला रूख भेटिए मासिक १ लाखसम्म कमाइ हुने गरेको स्थानीय विसु चन्द्रवंशीले बताए। ठूला रूख नभेटिए पनि दाउरा संकलनबाट ४० देखि ५० हजार कमाउने गरेको उनले सुनाए। ‘असारदेखि कात्तिकसम्म काठ र दाउरा संकलन गरेको रकमबाट छोराछोरीको शिक्षादीक्षा र घरखर्च धान्ने गरेको छु’, उनले भने। अर्का कोसीपीडित हरिनारायण चौधरीले कोसीमा बगेर आउने दाउरा नै जीवन चलाउने आधार भएको बताए।
कोसी ब्यारेज बनेपछि बाढीले घरखेत गुमाएका पीडित परिवारले वर्षायाममा जीविकोपार्जनका लागि भेलबाट दाउरा संकलन गर्दै आएका छन्।
हकुल, विसु र हरिनारायण कोसीको भेलमा दाउरा खोज्ने प्रतिनिधि पात्र मात्र हुन्। यहाँ दैनिक २ सयभन्दा बढीको संख्यामा दाउरा खोजेर बिक्री गरी परिवार पाल्नेको जमात नै रहेको स्थानीय दुर्योधन घिमिरेले बताए। सरकारले कोसीपीडितको पुनःस्थापनाका लागि पहल नगरेका कारण बाध्य भएर भेलमा दाउरा खोज्न जाने गरेको उनीहरूको भनाइ छ।
पानीमा पौडिन जान्ने भएका कारण भेलमा आफूहरूलाई दाउरा संकलन गर्न सहज भएको अर्का पीडित श्रवणकुमार चन्द्रवंशीले बताए। कोसीको बहाव उच्च भएको अवस्थाबाहेक अन्य समय सबै मिलेर दाउरा, काठ संकलन गर्ने गरेको उनको भनाइ छ। कोसी आसपास वन नभएको र सखुवा, सिसौलगायत काठ, दाउरा तत्काल बिक्री हुने गरेकाले कोसीमा व्यावसायिक रूपमा दाउरा खोजेर बिक्री गर्ने गरेको सुरेश चन्द्रवंशीले बताए। कोसीबाट घरखेत गुमाएका अंगद चन्द्रवंशीले सरकारले पीडितको पुनःस्थापनाका लागि जग्गा सट्टाभर्ना गरी अन्यत्र स्थानान्तरण गरे जीवनयापनमा सहज हुने बताए।
ब्यारेज बनाउनुअघि नै कोसीले विस्थापित गरेका पीडितलाई भारत सरकारले क्षतिपूर्ति दिने सम्झौता भएको थियो। तर, भारतले हालसम्म क्षतिपूर्ति नदिएको पीडितको गुनासो छ। बराहक्षेत्र नगरपालिकाका मेयर नीलम खनालले भारतको हेपाहा प्रवृत्तिका कारण कोसीपीडितले क्षतिपूर्ति नपाएको बताए। कोसी सम्झौताअनुसार पीडित परिवारलाई राहत दिलाउन सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ।