बाढीले बगाएर दुईको मृत्यु
विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिका–९ मा बाढीले बगाएर बिहीबार दुई जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार बाढीले बगाएर उर्लाबारी नगरपालिका–१ का १९ वर्षीय दिलकुमार लिम्बू र मिक्लाजुङ–९ महेश चोकका ७२ वर्षीय भीमबहादुर माझीको मृत्यु भएको हो ।
लिम्बूलाई सुनसरी खोलामा आएको बाढीले दुईजनालाई बगाएको तिमिल्सिनाले बताए । साथीसँग पौडी खेलिरहेको अवस्थामा एक्कासि खोलामा आएको बाढीले उनलाई बगाएको हो । लिम्बूको शव घटनास्थलभन्दा केही तल फेला परेको प्रहरीले जनाएको छ ।
राम्री खोलामा आएको बाढीले बगाउँदा माझीको मृत्यु भएको तिमल्सिनाको भनाई छ । बिहान ८ बजे घरबाट निस्किएका उनको शव खोलाले बगाएर मृत्यु भएको अवस्थामा खोला किनारमा फेला परेको प्रहरी निरीक्षक तिमल्सिनाले जानकारी दिए ।
केही दिनदेखि पहाडी क्षेत्रमा भइरहेको वर्षाका कारण तराईका नदीखोलामा पानीको बहाव उच्च भएको छ ।