बाढी र डुबानबाट बच्न उच्च सतर्कता
दुनै : देशभर भारी वर्षाले क्षति पुर्याइरहेका बेला जिल्ला प्रशासन कार्यालयले बाढी र वर्षाबाट बच्न उच्च सतर्कता अपनाउन जिल्लाका सबै नागरिकलाई आग्रह गरेको छ।
सदरमुकाम दुनैलगायत नदी किनार क्षेत्र र पहिरोको जोखिम रहेका बस्तीहरूमा बसोबास गर्ने जिल्लाका नागरिकलाई समयमै सुरक्षित क्षेत्रमा बसोबास गर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए। उनले वर्षा र नदीको वहाब बढ्दो अवस्थामा रहेकोले हरेक नागरिकले आफ्ना बालबच्चालाई हिलो तथा नदी किनारमा जान नदिन साथै ठूला मान्छेहरू पनि दाउराका लागि भेरीमा नपस्न अनुरोध गरे।
जिल्लाका नागरिकले विपद् पूर्वसूचना तथा अवस्था वा सम्भावना बुझ्न जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको फोन नं ०८७–५५०१५४ र जिल्लामा घटना घटेको भए तत्काल जानकारी गराउन प्रमुख जिल्ला अधिकारीको सम्पर्क नं ९८५८०७७७७ मा फोन गरी जानकारी गराउन जिल्ला प्रशासनले सबैमा अनुरोध गरेको छ। सुक्खा र भिरालो जमिन भएको कारण सानो पानीले पनि ठूलो बाढी र पहिरो ल्याउन सक्ने भएकाले जिल्लाका सबै क्षेत्र वर्षाको समयमा जोखिमपूर्ण मानिन्छन्।
साना खहरे खोलाहरूमा पनि वर्षाको समयमा अत्यधिक बढ्ने र बाढी आई लाखौंको क्षति पुर्याउने गरेकाले खोला तथा नदी किनाराका बस्ती र पहिरोका जोखिमका बस्तीलाई सचेत रही सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न स्थानीय सरकारलाई अनुरोध गरेको प्रजिअ थापाले जानकारी दिए।
जिल्लाको सदरमुकाम दुनै भेरि नदिको किनारमा रहेकोले डुवानको जोखिममा रहेको छ भने अन्य गाउका बस्तिहरू पहिरो र बाढीको खतरामा रहेका छन। डोल्पाका पाहाडा र जुफालको डागीवाडाका बस्तिहरू पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रशासनले जानकारी दिएको छ। जहा पूरै बस्तिहरू पहिरोको जोखिममा रहेका छन जिल्ला प्रशासनले बेलाबेलामा बस्ति स्थानान्तरण गर्ने प्रयास गरे पनि सफल हुन सकेको छैन।
जिल्लामा बाढी तथा पहिरो र अन्य प्राकृतिक बिपत्ती परेको खण्डमा तत्काल उद्धारका लागि बिपत उद्धार टिमको ब्यवस्थापन गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरीका अनुसार प्रहरीले मात्रै सबै क्षेत्रमा उद्धार गर्न नसक्ने भएकोले सबै स्थानीयतहमा टोलटोलमा आपतकालिन उद्धार टोली तयार गर्नु पर्ने सुझाब दिएको छ। त्यसो भएमा मानवीय तथा आर्थिक क्षेति कम हुने प्रहरीको दावी छ।