छुवाछुत पीडित महिलाले गरिन् आत्महत्याको प्रयास
बर्दिबास : छुवाछुत र जातिय विभेदमा यातना भोगेकी दलित समुदायकी बुद्धिमाया विश्वकर्मा र उनी छोरीले न्याय पाइन् । असारर २४ गते जिल्ला अदालत महोत्तरीले उनीहरुको पक्षमा फैसला गर्याे। पीडकलाई जेल सजाय सुनाइयो ।
साथै १० हजार जरिवानासहित पीडितलाई ५० हजार क्षतिपुर्ति दिनु पर्ने फैसला अदालतले गर्याे ।तर, छुवाछुत र जातिय विभेदविरुद्धमा अदालतले दिलाएको न्याय समाजले पीडितलाई ‘निल्नु न ओक्लनु’ को वातावरण बनाइदिएको पीडित बताउँछन् ।
अदालतले पीडकलाई जेल हाल्नेसम्मको कठोर सजाय सुनाएपछि ‘ तैले मुद्दा हालेर जेल पठाइस्’ भन्दै पीडितलाई समाजले दवाव बढायो । छुवाछुतपछिको यातनाले प्रताडित बुद्धिमायाले मानसिक तनाबले विष सेवन गरेर आत्महत्याकी प्रयास गरेकी छन् ।
‘अदालतले हामीलाई न्याय दियो,’पानी छोएको निहुँमा यातना भेगेकी बुद्धिमायाकी छोरी मनिषाले भनिन्,‘तर, अदालतको फैसला समाजले स्वीकार गर्न मानेको छैन । हाम्रो पक्षमा फैसला भयो । कुट्नेहरु जेल जाने भए । त्यसैले हामीमाथि छिमेकीहरु लगाएर पीडकले झन् झ्न दवाव दिइरहेको छ ।’
समाजमा कसैले कसैलाई छुवाछुत गर्नु हुदैंन स्कूलमा पढेको सम्झिदैं कक्षा ९ मा अध्ययनरत मनिषाले थपिन्,‘दुई घर हामी दलित विश्वकर्मा छौं । धेरै अन्य जातिको घर छ । उनीहरु भन्छ, दलितसँग नबोल हैं । मुद्दा लगाइदिन्छ ।’ यसले हामीमाथि जंगली व्यवहार थपिएको उनले भनिन् ।
विष सेवनपछि अस्पताल भर्ना भएकी आमाको कुरुवामा भेटिएकी मनिषालाई स्कुलमा सरले पढाएको र समाज गरेको व्यवहार उल्टो भएपछि उनलाई दुःख लागेको छ । उनी भन्छिन्,‘अदालतले हाम्रो परिवारलाई न्याय गर्याे तर छरछिमेकीले जंगली व्यवहार गरे । छरछिमेकीहरुले हामीलाई दुुस्मन जस्तै ठानेका छन् । बोली बन्द गरिसके ।’
वैशाख १५ गते साँझ पानी छोएको निहुँमा कमला गिरी र उनका भन्जा रामबाबु दाहालले बुद्धमाया र उनी छोरी मनिषालाई गाली गर्दै कुटपीट गरेका थिए । जातिय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ को दफा ३ बमोजिमको र दफा ४(३) बमोजिमको कसुर गरेको ठहर गर्दै पीडक कमला गिरी र रामबाबु दाहाललाई असार २४ गते न्यायाधीश दण्डमणि शर्माको इजलासले जरिवाना र क्षतिपूर्तिसहित जेल सजायको फैसला सुनाएको थियो ।
कुटपिटका मुख्य अभियुक्त गिरीलाई ६ महिना सजाय तोकिएको छ भने दाहाललाई २ महिनाको कैद सजाय छ । विश्वकर्मा समाज प्रदेश २ का अध्यक्ष तथा दलित अधिकारकर्मी मिन रहपालले पीडितको न्यायको लागी चन्दा संकलन गरेर मुद्दा लडेका थिए । पीडितको पक्षबाट अधिवक्ता दिपककुमार मिश्रले वकालत गरेका थिए ।
न्याप पाएपछि पीडित खुशी भए । तर पीडित परिवारको खुशी तीन दिनपछि झन् पीडामा फर्कियो । छिमेकीको दवावले बुधबार बुद्धमायाले विष सेवन गरेर आत्महत्या सम्मको प्रयास गर्न बाध्य भइन् ।
उनको बर्दिबास स्थित शुभ स्वस्तिक हस्पिटलमा उपचार भइहरेको छ । स्वास्थ्य अवस्था सुधार उन्मुख छ । तर, उनलाई उपचारमा आर्थिक समस्या छ ।
बुद्धमायाकी श्रीमान रामबहादुर विश्वकर्मा पोखरामा घर निर्माण ज्यामी गर्छन् ।
आर्थिक अभावले बुद्धमायालाई अस्पतालबाट परिवारजनले ‘डिस्चार्ज’ गराउन सकेका छैनन् । ‘अस्पताल खर्च उपलब्ध गराइदिन सबैमा अनुरोध गर्दछु,’ दलित अधिकारकर्मी मिन रहपालले भने, ‘पीडितको स्वास्थ्य अवस्था ठीक भएपछि समाजमा पुर्नस्थापनाको लागि वातावरण बनाउँछौं ।’