राजपा संसदीय दलको नेतामा ठाकुर सर्वसम्मत
काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत छानिएका छन्। शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले संयोजक ठाकुरलाई संसदीय दलको नेता चयन गरेको राजपाका महासचिव केशव झाले जानकारी दिए।
प्रतिनिधिसभाकोे पहिलो अधिवेशन बसेको ४ महिना बितिसक्दा पनि राजपाले संसदीय दलको नेता छान्न सकेको थिएन। अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र राजेन्द्र महतो दुवैले संसदीय दलको नेतामा दावी गरेपछि नेता छान्न सकस भएको पैदा भएको हो।
संसदीय दलको नेता चयनसम्बन्धी विधानको मस्यौदा पारित नभए पनि राजपाले संसदीय दलको नेता छनोट गरेको हो। राजपाका नेताले महतोले अन्तिम समयमा दलको नेतामा आफ्नो दावी छोडेका हुन्।
‘महतोजीले निर्वाचनबाट दलको नेता छान्दा बाहिर राम्रो सन्देश नजाने भन्दै सहमतिबाट छान्न प्रस्ताव गर्नु भएको हो’, नेता राजकिशोर यादवले अन्नपूर्णसँग भने।
संसदीय दलको नेताले पार्टीका सांसद्लाई संसद्मा कसरी प्रस्तुत हुने र के कस्तो भूमिका निर्वाह गर्ने विषयमा मुख्य निर्देशन दिन्छन्। सरकारले संसदीय दलको नेतालाई यस अगाडि गाडी सहित विशेष सुविधाको पनि व्यवस्था गरेको थियो।
राजपाका प्रतिनिधिसभातर्फ १७ जना र राष्ट्रिय सभामा २ जना सांसद् छन्।