लुका मोड्रिचले भने: हामीले हार मानेनौँ, उत्सव त मनाउँछौँ
मस्को: क्रोएसियाका कप्तान लुका मोड्रिच विश्व कप फाइनलमा फ्रान्ससँग २-४ को हारपछि रोए । पदक ग्रहण जाने क्रममा रोइरहेका उनलाई राष्ट्रपति किटारोविचले अंकमाल गर्दै उनलाई धेरै बेर सम्झाइन् । यो विश्वकपमा सर्वश्रेष्ठ खेलाडीका रुपमा गोल्डेन बल जितेका संघर्षका पर्याय उनै मोड्रिचले उपविजेता भएपनि उत्सव मनाउने बताएका छन् ।
रियल मड्रिडका मिडफिल्डर मोड्रिचले भने, ‘पक्कै पनि यो सम्मान मेरा लागि प्रिय छ । मलाई चुनेकोमा फिफालाई धन्यवाद दिन्छु । तर... यो प्रष्ट छ, म म विश्व कप जित्न चहान्थेँ ।'
उनले विश्वकप जित्न नसकेपछि अब केही समय आराम गरेर उत्सव मनाउने बताए । 'तर मैले सोचे जस्तो हुन सकेन र अब हामी आराम गरेर आगामी दिनमा यसको उत्सव मनाउँछौँ । विश्वकप नजितेको अवस्थामा अब यो पनि क्रोएसियाका लागि धेरै ठुलो कुरा हो । तर पनि मलाई अहिले 'तितिमिठो' महसुस भइरहेको छ।'
मोड्रिचले आफूहरुले प्राप्त गरेको उपलब्धीमा गौरव लागेको पनि बताए । 'हामीले जे गर्यौँ, त्यसमा हामीलाई गर्ब छ । तर फाइनलमा हारेपछि थोरै दु:ख लागेको छ।'फाइनलमा भन्दा पहिले क्रोएसियाले तीन नकआउट म्याच अतिरिक्त समयमा जितेको थियो । तर उपाधि भिडन्तको पहिलो हाफमा दबदबा बनाउनुका बावजुत क्रोएसिया दुर्भाग्यशाली रह्यो ।
मध्यान्तरसम्म क्रोएसिया १-२ ले पछि थियो । यसमा मारियो मान्जुकिचले आत्मघाती गोल र विवादास्पद पेनल्टीमा एन्टोनी ग्रिजम्यानको गोलको भूमिका रह्यो ।
विश्वकपको पछिल्लो ६८ सालमा फाइनल खेल्ने क्रोएसिया सबैभन्दा सानो देश हो । जसको जनसंख्या ४० लाख भन्दा केही बढी छ । मोड्रिचले भने, 'तर पनि मलाई लाग्छ हामी विश्वकपका अधिक हकदार थियौँ । तर हामी अब केही परिवर्तन गर्न सक्दैनौँ ।'
उनले अगाडि भने, ‘हामी केबल त्यसमा मात्रै गर्ब गर्न सक्छौँ, जुन उपलब्धी हामीसँग छ । हामीले कहिल्यै हार मानेनौँ, अन्तिमसम्म चुनौती दिइरह्यौँ ।'