प्रदूषण नियन्त्रण गर
प्रदूषणका कारण काठमाडौंको जनजीवन कष्टकर छ। यहाँ प्रदूषणका सबै सूचकांक अत्यन्त नकारात्मक छन्। सहरको वायु, जल र जमिन प्रदूषित छ। खानेपानीमा हानिकारक मिसावट हुनुका साथै नदीनालामा ढल खन्याइएको छ। फोहोर व्यवस्थापन ठीक तरिकाले नहुँदा हप्तौंसम्म काठमाडौंका सडक र चोक दुर्गन्धित हुने गरेका छन्। सहरमा भीडभाड, हल्ला, फोहोरजस्ता सहरी प्रदूषणको मात्रा उच्च छ। यस्तो अवस्थामा यातायात व्यवस्था विभागले वायु प्रदूषणको मुख्य कारण रहेको अत्यधिक धुवाँ फाल्ने सवारीमा लगाएको रोक स्वागतयोग्य छ।
प्रदूषण वर्तमान विश्वको सबैभन्दा ठूलो वातावरणीय चुनौती हो। यसले जैविक प्रणालीमै खतरा उत्पन्न गरेको छ। काठमाडौं पनि विश्वकै प्रदूषित सहरमध्ये एक हो। वेबसाइट भिजिटरको मतका आधारमा तयार गरिने पोलुसन इन्डेक्स २०१८ का अनुसार काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरमध्ये दोस्रो स्थानमा देखिएको छ। वायु प्रदूषणबाट मात्रै विश्वभर वार्षिक करिब ७० लाख मानिसको चाँडो मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। संसारका अन्य सहरमा प्रदूषणको मुख्य कारण उद्योगधन्धा र इन्धनको स्रोत हुने गर्छन्। खासगरी डिजेलले चल्ने सवारी साधन सहरी प्रदूषणको मुख्य कारण ठानिन्छ। काठमाडौंमा भने बाह्रै महिना चल्ने सडक खन्ने–भत्काउने र निर्माण गर्ने कार्यबाट प्रदूषण बढ्दा जनजीवन झनै कष्टकर भएको छ। सरकारी तथ्यांकअनुसार काठमाडौंको वायुमा दस माइक्रोमिटरभन्दा साना धुलोको कण (पीएम टेन) प्रतिघनमिटर एक सय २० पुगेको छ। त्यो उच्च प्रदूषण हो। त्यसमाथि उपत्यकाको भूबनोटका कारण पनि यहाँको वायुमा धेरै समय धुलोधुवाँ रहिरहने विज्ञहरू बताउँछन्।
यसै वर्ष जारी गरिएको विश्व वातावरणीय कार्यसम्पादन सूचीमा पनि नेपालको स्थान पुछारमा छ। सूचीकृत एक सय ८० देशमध्ये नेपाल एक सय ७६ औं स्थानमा परेको छ। प्रदूषण नियन्त्रण गर्ने व्यवस्थित प्रयास गरिएको छैन। प्रदूषणका कारणलाई बेवास्ता गर्ने प्रवृत्तिका कारण समस्या अझ गम्भीर बनेको छ। प्रदूषण नियन्त्रणका लागि सही तरिका अवलम्बन गरिएको छैन। बागमती सफाइमा अपनाइएजस्तै तरिकाले दीर्घकालका लागि काम गर्दैन। प्रदूषण नियन्त्रणका लागि गरिने उपाय योजनाबद्ध, व्यवस्थित र समन्वयात्मक हुनुपर्छ। अघिअघि सडक पिच गर्दै जाने र पछिपछि ढल राख्न खन्दै जाने परिपाटी रहुञ्जेल प्रदूषण नियन्त्रण हुनेछैन।
काठमाडौंको प्रदूषणको सीधा असर जनस्वास्थ्यमा पर्छ। प्रदूषणले अर्थतन्त्रमा पनि नकारात्मक प्रभाव पार्छ। केही वर्षभित्रै वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको नेपालमा प्रदूषणको यही अवस्था कायम रहने हो भने त्यो लक्ष्य पूरा गर्न मुस्किल हुनेछ। आएका पर्यटक पनि सन्तुष्ट हुन सक्ने छैनन्। त्यस्तै फोहोर व्यवस्थापनमा पनि सरकारले खास ध्यान दिन जरुरी छ। फोहोरलाई कुनै एक स्थानमा लगेर थुपार्ने गर्दा मात्रै समस्या समाधान हुँदैन, बरु त्यसले थप नयाँ समस्या उत्पन्न गर्छ। त्यसैले अजैविक फोहोरलाई नवीकरण गर्ने, जैविक फोहोरबाट मल, इन्धन तयार गर्न थालिएको छ, त्यसलाई व्यापक बनाउनुपर्छ।
यद्यपि प्लास्टिक प्रयोगलाई निरुत्साहित गर्नुपर्छ किनभने सबै प्लास्टिक पुनः प्रयोग गर्न सकिँदैन र त्यसलाई पुनः प्रयोगयोग्य बनाउँदा पनि थप प्रदूषण हुन्छ। पुराना गाडी चलाउन रोक लगाउने निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्छ। नदीनालालाई दीर्घकालीन रूपमा प्रदूषणमुक्त बनाउने हो भने ढल मिसाउन रोक्नुपर्छ। त्यस्तै सवारी साधनको प्रदूषण स्तर मापन गर्ने र तिनलाई नियन्त्रण गर्ने, सहरको मुख्य भागमा सवारी साधन निषेध गर्ने, विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने, साइकल संस्कृति विकास गर्ने, सहरलाई हरियो बनाउन वृक्षरोपण गर्नेजस्ता उपाय अपनाउन सकिन्छ।
विश्वका थुप्रै सहरमा प्रदूषण न्यूनीकरणका प्रयास सफल भएका उदाहरण छन्। कतिपय देशले नवीकरणीय ऊर्जामा ठूलो लगानी गरेका छन्। जीवाश्व इन्धनबाट चल्ने यातायातमा रोक लगाउने मिति घोषणा गरेका छन्। अझ नेपालको समस्या त उचित व्यवस्थापनसँग बढी सम्बन्धित छ। त्यसैले सरकारसँग प्रदूषण घटाउन स्पष्ट नीति, दृढ इच्छाशक्ति र व्यवस्थित योजना हुन आवश्यक छ।