राजमार्गका होटलमा मनपरी मूल्य

राजमार्गका होटलमा मनपरी मूल्य

 फिदिम : राजमार्ग आसपासमा सञ्चालन गरिएका होटलले यात्रुलाई खाना र खाजा खुवाएबापत मनपरी मूल्य लिने गरेको पाइएको छ। मेची राजमार्ग र मध्यपहाडी लोकमार्गबाट यात्रा गर्ने यात्रुलाई खाना खुवाउने उद्देश्यले सञ्चालन गरिएका होटलले मनपरी मूल्य लिने गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय पाँचथरले राजमार्गका होटलको अनुगमन गर्दा खाना खुवाएबापत होटलले यात्रु ठग्ने गरेको पाइएको छ। ‘न्यूनतम मापदण्ड पनि पूरा नगरी राजमार्गमा होटल सञ्चालन गरिएको पाइयो,’ पाँचथरका सहायक प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भने, ‘त्यस्ता होटलमा मूल्यसूची नै राखिएको छैन।’ मूल्यसूची नराखेपछि होटलमा खाना खाने यात्रुबाट होटल सञ्चालकले मनपरी पैसा लिने गरेको पाइएको कट्टेलले बताए।

फिदिम बजारदेखि हिलिहाङ गाउँपालिकाको काबेली बजारसम्म सञ्चालन गरिएका राजमार्गका होटल अनुगमन क्रममा होटलले मनपरी मूल्य लिने गरेको पाइएको हो। त्यहाँ सञ्चालन गरिएका कुनै पनि होटलमा मूल्यसूचीसमेत राखिएको छैन। होटलले भात खुवाएबापत लिने मूल्य पनि होटलैपिच्छे फरक हुने गर्छ। होटलले सादा खानाको सयदेखि तीन सय रुपैयाँसम्म लिने गरेका छन्। मासुभातको दुई सयदेखि पाँच सय रुपैयाँसम्म लिने गर्छन्। ‘सादा भातको मूल्यमै एकरूपता नभएको पाइयो,’ कट्टेलले भने, ‘होटलवालाले यात्रुलाई हेरेर मूल्य लिने गरेको पाइयो।’ अनुगमन क्रममा होटलमा पकाइने भातको गुणस्तर र भान्छाकोठासमेत फोहोर भेटिएको थियो।

यात्रुलाई उच्च गुणस्तरको चामलको भात खुवाउने गरेकाले महँगो लिने गरेको होटल सञ्चालकको दाबी छ। ‘राम्रो चामलको भात खुवाउँदा राम्रै मूल्य लिने गरेका छौँ,’ थर्पूमा सञ्चालित श्रेष्ठ होटलका सञ्चालक भवानीप्रसाद श्रेष्ठले भने, ‘होटलमा खुवाउने भातको मूल्यमा एकरूपता गर्न सकिन्न। आफ्नो होटलमा यात्रु ल्याउने भएकाले गाडीका स्टाफलाई निःशुल्क भात खुवाउने गरेका छौँ।’ गाडी चालक र होटल सञ्चालकको मिलेपतोमा यात्रु ठगिने गरेका हुन्। गाडी चालकसँग मिलेर अन्य होटल नभएको ठाउँमा एउटा होटल सञ्चालन गर्न र त्यही होटलमा लगेर गाडी चालकले भात खुवाउन गाडी रोक्ने गरेको पाइएको हो। राजमार्गमा सञ्चालन गरिएका कतिपय होटल सञ्चालन अनुमति नलिई सञ्चालन गरिएका छन्। कतिपय होटलले खाद्य सामग्रीको प्रमाण लिएर होटल सञ्चालन गरेको र होटलबाट मदिराको समेत कारोबार हुने गरेको छ।

मेची राजमार्गको पाँचथर खण्डमा करिब दुई दर्जन होटल यात्रुलाई लक्ष्य गरी सञ्चालन गरिएको छ। मापदण्ड पूरा नगरी सञ्चालन गरिएका होटललाई १५ दिनभित्र मापदण्ड पूरा गर्न र होटलमा मूल्यसूची राख्न सुझाव दिइएको अनुगमन समितिले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.