छोराले अर्कैलाई आमा बनाएर जग्गा बेचिदिएपछि...

हेटौंडा : पूर्वीमकवानपुरको बकैया गाउँपालिका–३ जलजलेकी जानुका खड्का शुक्रबार दिउँसो मालपोत कार्यालय मकवानपुरमा बेहोस भइन् । भूकम्पपीडित उनी नयाँ घर बनाउन सरकारले दिने अनुदान रकमका लागि नयाँ लालपुर्जा लिन मालपोत कार्यालय पुग्दा आफ्नो नाममा रहेको जग्गा बिक्री भइसकेको थाहा पाइन् ।
नातिको सहारामा बस्दै आएकी उनले आफ्नो नाममा रहेको नौ कट्ठा नौ धुर जग्गा असार ६ गते नै हेटौंडा–४ स्थित सानुमाया मानन्धरको नाममा बिक्री भइसकेको लिखत देखिन् । गाउँकै एक महिलालाई कान्छा छोरा नारायण खड्काले नक्कली आमा बनाएर मानन्धरलाई जग्गा बिक्री गरेको मालपोत कार्यालयको लिखत हेरेपछि उनले आफूलाई सम्हाल्न सकिनन् ।
आफ्नो भागको अंश लिएर छुट्टै बस्दै आएका कान्छा छोरा नारायणले २९ लाख रुपैयाँ थैली कायम गरी जम्मा १० लाख रुपैयाँमा मानन्धरलाई जग्गा बिक्री गरेको मालपोत कार्यालयको तथ्यांक छ । ‘बैंकमा काम छ भन्दै छोराले मेरो नागरिकता र लालपुर्जा लिएर गएको थियो तर मैले जग्गा नै बेचिदेला भन्ने सोचिनँ’, जमुनाले भनिन्, ‘आफ्नै छोराले टुहुरा नाति र मलाई सडकमा पु¥यायो ।’ जेठा छोराको मृत्युपछि ठेजी बुहारी रोजगारीका लागि दुबई गएकी छन् । उनी नातिसँग बस्दै आएकी छन् ।
बकैया गाउँपालिका ३ नम्बर वडा सदस्य लालबहादुर खड्काले जग्गा बिक्री भएको थाहा पाएपछि जमुनालाई खबर गरेका थिए । ‘तीन दिनअघि मानन्धर चौहदी सिफारिसका लागि वडा कार्यालयमा आएपछि मैलै जग्गा बिक्री भइसकेको थाहा पाएँ’, उनले भने, ‘उनलाई सिफारिस नदिएर मालपोतमा बुझ्दा जग्गा बिक्री भइसकेको रहेछ ।’
सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा मात्र जग्गा खरिद बिक्री हुने गरेको छ । ३ नम्बर वडाध्यक्ष दिलबहादुर बोम्जन लामाले भने, ‘आमा बिरामी छन्, सिफारिस दिनू भन्दै छोरा आएपछि हामीले नदिने कुरा भएन । तर, छोराले बेइमानी गरेछ ।’
प्रमुख मालपोत अधिकृत मुक्तिनारायण भण्डारीले ४० वर्षअघि बनेको नागरिकताको फोटो र हालको फोटो छुट्याउन समस्या भएकाले व्यक्ति पहिचानमा समस्या भएको बताए । ‘हामीले शंका लागेर छोरा साक्षी राखेर जग्गा नामसारी गरिदिएका थियौं तर अर्कै व्यक्तिले आफ्नो जग्गा दाबी गरेपछि हामी पनि छानबिन गरिरहेका छौं’, उनले भने ।
शुक्रबारै जिल्ला मालपोत कार्यालयमा बोलाइएका जमुनाका छोरा नारायण र जग्गा खरिदकर्ता मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ । ‘हामीले शान्ति सुरक्षामा खलल पुग्नेगरी विवाद गरेपछि उनीहरूलाई पक्राउ गरेका हौं’, वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले भने, ‘अन्य विषय सम्बन्धित निकायले हेर्ला ।’
किर्ते गरी आफ्नै छोराले जग्गा बिक्री गरेपछि जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गर्न प्रक्रिया अघि बढाएको जमुनाले बताइन् ।
प्रतिक्रिया दिनुहोस !
