न्वारनको भोज खाँदा ५० जना बेहोस

धादिङ: गजुरी गाउँपालिका-४, गैरीगाउँमा न्वारनको भोज खाँदा भोज खाने कम्तीमा ५० जना मानिस बेहोस भएका छन् । गैरीगाँउ निवासी अनिल चेपाङको छोरीको न्वारनमा भोज खाएकाहरु बेहोस भएका हुन् ।
भोज खाएपछि सबैजसोलाई रिगंटा, वाकवाक लाग्ने र केही समयपछि नबोल्ने समस्या देखिएको स्थानीयले बताएका छन् । खाना खाएको केही समयमा मानिसहरु टोलाउन थालेपछि बाँकी रहेकाहरुले भोज खान छाडेका छन् ।
बेहोस हुनेमा बच्चा र ठुला मानिस रहेका छन् । भोज खाएपछि सामान्य किसिमको रिगंटा लागेको महशुस भएको स्थानीय विजय चेपाङले बताए ।
घटना भएपछि इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल हिडेको प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले जानकारी दिए । पानी परेर हिलो बाटो भएका कारण घटनास्थलसम्म पुग्न समस्या भएको तिमिल्सिनाले बताए । न्वारनको भोज खान करिब एक सय जनाको हाराहारीमा जम्मा भएको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !
