ध्यान केन्द्रका लागि महापुराण

काठमाडौं : ध्यान केन्द्र स्थापना तथा भागवतधाम आश्रम निर्माणका लागि तीनकुनेस्थित आलोकनगरमा शिवमहापुराण सुरु गरिएको छ। आइतबारदेखि सुरु भएको उक्त आध्यात्मिक जागरणद्धारा भौतिक समुन्नतीका लागि भक्तिसंगीतमय महापुराण साउन २४ गतेसम्म सञ्चालन हुनेछ।
विश्व शान्ति अभियान नेपालका अध्यक्ष आचार्य भागवतकिंकर मुरलीधर पोखरेलको संकल्पमा सिद्धिविनायक, शोभा भगवती तथा लोकेश्वर महादेव मन्दिर व्यवस्थापन समिति, आलोकनगर महिला विकास संघ, आलोकनगर मार्ग टोलसुधार समिति, गंगाजमुना समूह, आलोकनगर महिला विकास केन्द्र, विनायक समाज र नेपाल आमा सेवाको संयुक्त आयोजनामा महायज्ञ सुरु गरिएको हो।
महायज्ञका संयोजक बोजराज श्रेष्ठले महापुराण कथाबाट संकलन गरिएको रकम ध्यान केन्द्र र आश्रम निर्माणमा खर्च गरिने जानकारी दिए। शनिबार भएको कलश यात्रापछि सांसद प्रकाशमान श्रेष्ठले ध्यान केन्द्र निर्माण गर्नु सराहनीय भएको बताए भने प्रदेश सांसद गणेशप्रसाद दुलालले भागवतधाम आश्रम नेपालमा पहिलो हुने बताए।
लोकेश्वर मन्दिर परिसरमा रुद्राक्षहरुका वृक्ष भएकाले पुण्य भूमिमा महापुराण लगाउन पाएको भागवतकिंकर पोखरेलले जानकारी दिए। उनले भने, ‘गतेले दुई साता पुगे पछि तिथि (पक्ष) ले शनिबारमात्र साउन महिना सुरु भएकाले पहिलो दिनदेखि महापुराण लगाउन पाएका छौं।’
प्रतिक्रिया दिनुहोस !
